रास्वपाको खुला केन्द्रीय सदस्यमा स्वर्णिम सर्वाधिक मतसहित निर्वाचित, सोविता दोस्रो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित भएका छन् । सार्वजनिक मतपरिणामअनुसार डा. वाग्लेले २ हजार ६ सय ७ मत प्राप्त गर्दै खुलातर्फ पहिलो स्थान हासिल गरेका हुन् । उनलाई सोविता गौतम ले पछ्याएकी छन् । गौतमले २ हजार ५ सय ९४ मत प्राप्त गरी दोस्रो स्थान सुरक्षित गरिन् । यस्तै, सागर ढकाल ले २ हजार ३ सय ३३ मत प्राप्त गरेका छन् भने शिशिर खनाल ले १ हजार ४ सय ९५ मत ल्याएका छन्। महाधिवेशनअन्तर्गत खुला समूहबाट ३५ जना केन्द्रीय सदस्य चयनका लागि मतदान भएको थियो । मतपरिणामले पार्टीभित्र स्थापित तथा चर्चित नेताहरूको प्रभाव कायम रहेको संकेत गरेको छ । डा. वाग्ले, गौतम, ढकाल र खनालले प्राप्त गरेको मतले प्रतिनिधिमाझ उनीहरूको लोकप्रियता अझै बलियो रहेको देखाएको छ । रास्वपाको केन्द्रीय नेतृत्व चयन प्रक्रिया अन्तर्गत अन्य समूहको मतगणना तथा परिणाम सार्वजनिक गर्ने कार्य पनि जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
रास्वपाको महाधिवेशनमा एक तिहाई प्रतिनिधिले गरेनन् मतदान
काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य निर्वाचनमा अपेक्षाकृत कम सहभागिता देखिएको छ । महाधिवेशनका लागि तोकिएका ४ हजार ३११ प्रतिनिधिमध्ये २ हजार ९५९ जनाले मात्र मतदानमा सहभागिता जनाएका छन् । यस आधारमा करिब १ हजार ३५२ प्रतिनिधि अर्थात् ३१.३६ प्रतिशत प्रतिनिधिले मतदान प्रक्रियामा भाग लिएनन्। रास्वपाले पहिलोपटक ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिनमार्फत निर्वाचन गराएको थियो । पार्टीले देश तथा विदेशमा रहेका प्रतिनिधिलाई समेत मतदानको सुविधा दिएको भए पनि कुल प्रतिनिधिको झण्डै एक तिहाइ हिस्सा मतदानबाट बाहिर रहनुले प्रतिनिधिहरूको सक्रियता, व्यवस्थापन तथा आन्तरिक समन्वयबारे प्रश्न उठाएको छ । महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य चयन गर्न मतदान गरिएको हो । निर्वाचनमा ४ सयभन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए ।
केन्द्रीय सदस्यको मतदान सकियो, पदाधिकारीका लागि ४ बजेदेखि मतदान हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम ऐतिहासिक महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि प्रक्रिया तीव्र रूपमा अघि बढेको छ । महाधिवेशन अन्तर्गत ९९ सदस्यीय केन्द्रीय सदस्य चयनका लागि भएको मतदान कार्य सम्पन्न भएको छ । केन्द्रीय सदस्यको मतदान सकिएसँगै अब आजै पार्टीका प्रमुख पदाधिकारीहरू चयनका लागि मतदानको तयारी गरिएको छ । रास्वपा नेता मनिष झाका अनुसार पदाधिकारी चयनका लागि आज अपराह्न ४ बजेबाट मतदान सुरु हुने कार्यतालिका तय गरिएको छ । रास्वपाको पदाधिकारी तहमा निर्वाचित हुने ६ वटा पदका लागि पार्टीभित्र तीव्र प्रतिस्पर्धा देखिएको छ । ६ पदका लागि ५० जनाभन्दा बढी नेताहरूले आकांक्षा देखाएका छन् । यसअघि पार्टीको सभापतिमा रवि लामिछाने गत मंगलबार नै निर्विरोध निर्वाचित भइसकेका छन् । त्यस्तै, प्रधानमन्त्री बालेन्द्र शाह फेरि पनि रास्वपाको वरिष्ठ नेता बन्ने पक्का भएको छ । त्यस्तै, प्रधानमन्त्री बालेन्द्र शाहकै समूहबाट केन्द्रीय सदस्य तथा पदाधिकारीका लागि दाबेदार देखिएका नेताहरूलाई सभापति रवि लामिछानेले केन्द्रीय समितिमा मनोनयन गर्ने सहमति भएको छ । यसरी मनोनीत हुने नेताहरूमा भूपदेव शाह, सुनिल लम्साल र गृहमन्त्री सुदन गुरुङलगायत रहेका छन् ।