रास्वपाको ९९ केन्द्रीय सदस्यका लागि ४ सय बढीको उम्मेदवारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ९९ जना केन्द्रीय सदस्यका लागि ४ सयभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार राति अबेरसम्म मनोनयन भइरहेकाले प्रथम चरणको नामावली निकाल्ने तयारी भइरहेको छ । उनले भने, ‘एकिन सङ्ख्या निकाल्दै छौँ, ४ सयभन्दा बढीको उम्मेदवारी परेको छ । आज बिहान ९ बजे नामावली प्रकाशन गरिनेछ ।’ निर्वाचित ९९ जना मध्येबाट पदाधिकारी चयन गरिने छ । पदाधिकारी चयन भने दोस्रो चरणमा हुनेछ । मतदानका निम्ति विद्युतीय उपकरण प्रयोग गरिने छ । विदेशमा रहेकाहरूले एपमा मतदान गर्नेछन् । मतदान गर्ने ४ हजार हाराहारी प्रतिनिधि छन् ।
रास्वपाको केन्द्रीय सदस्यमा प्रधानमन्त्रीका ३ जना सल्लाहकारको उम्मेदवारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको सदस्य पदका लागि प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको सचिवालयमा कार्यरत तीन जनाले उम्मेदवारी दर्ता गरेका छन् । प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार प्रमुख राजनीतिक सल्लाहकार अशिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल तथा स्वकीय उपसचिव प्रकृति ढकालले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् । अशिम शाहले खुला समावेशीतर्फबाट उम्मेदवारी दिएका छन् भने सुदीप ढकालले खुलातर्फको केन्द्रीय सदस्य पदका लागि प्रतिस्पर्धा गर्दैछन् । त्यसैगरी, प्रकृति ढकालले खुला महिलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी छन् ।
रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने निर्वाचित भएका छन् । सभापतिमा अरू कसैको उम्मेदवारी नपरेपछि केन्द्रीय निर्वाचन आयोगले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । अब ९९ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ । रविको प्रस्तावकमा वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) बसेका थिए । रास्वपाको विधानअनुसार सभापति र वरिष्ठ नेताको लागि केन्द्रीय सदस्य निर्वाचित हुन पर्दैन । पहिलो चरणको मतदान बुधबार बिहानदेखि सुरु हुने भएको छ। पहिलो चरणमा पार्टी सभापति र केन्द्रीय सदस्यहरूका लागि निर्वाचन हुनेछ ।