संघर्षबाटै रास्वपाको यात्रा सुरु भएको हो, अब परिपक्व भएर अघि बढ्छौं: रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हरेक राजनीतिक दलको आफ्नै संघर्षको इतिहास हुने भन्दै रास्वपा पनि फरक पृष्ठभूमिबाट संघर्ष गर्दै यहाँसम्म आइपुगेको बताएका छन् । चितवनमा सम्पन्न प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै लामिछानेले रास्वपाको राजनीतिक यात्रा परम्परागत दलभन्दा फरक रहेको उल्लेख गरे । ‘हरेक राजनीतिक दलका आ-आफ्नै संघर्षका कथा हुन्छन् । पछिल्लो समयको हाम्रो राजनीतिक संघर्ष अलिक फरक ढंगले अघि बढिरहेको छ । हामी फरक पृष्ठभूमिबाट राजनीतिमा आएका हौं,’ उनले भने । लामिछानेले नेपालको वर्तमान राजनीतिक उपलब्धि अघिल्ला पुस्ताका नेताहरूको संघर्षकै परिणाम भएको उल्लेख गर्दै उनीहरूको योगदानको सम्मान गर्नुपर्ने बताए । ‘देशमा भएका अनेक राजनीतिक द्वन्द्व र उतारचढाव पार गर्दै आजको अवस्था आएको हो । अग्रज राजनीतिज्ञहरू व्यवस्था परिवर्तनको अग्निकुण्डमा नहोमिएको भए हामी आजका उपलब्धिसम्म पुग्न सक्ने थिएनौं,’ उनले भने । रास्वपाले अब नयाँ जिम्मेवारीसहित परिपक्व र उत्तरदायी राजनीतिक शक्तिका रूपमा अघि बढ्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । ‘प्रथम ऐतिहासिक महाधिवेशनबाट राजनीतिक रूपमा वैधानिकता प्राप्त गरेको रास्वपा अब परिपक्व भएर अघि बढ्नेछ । हामी प्रतिबद्धताका साथ जनताको अपेक्षा पूरा गर्न अगाडि बढ्छौं,’ उनले भने । महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै रास्वपाले आफ्नो संगठनात्मक संरचनालाई थप सुदृढ बनाउँदै आगामी राजनीतिक यात्रालाई नयाँ ढंगले अघि बढाउने संकेत दिएको छ ।
लगातार तेस्रोपटक प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ । शुक्रबार (आज)का लागि तय गरिएको बैठक शनिबारका लागि बोलाइएको थियो । उक्त बैठक पनि संसद् सचिवालयले सूचना टाँस गर्दै स्थगित गरेको छ । संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठक अब आइतवार बिहान ११ बजे बस्ने गरी नयाँ समय निर्धारण गरिएको छ। बैठक स्थगित हुनुको कारणबारे विस्तृत जानकारी नदिइए पनि संसद् सचिवालयले विशेष कारण उल्लेख गर्दै बैठक सारिएको जनाएको छ। यसअघि पनि दुईपटक प्रतिनिधिसभा बैठक स्थगित भइसकेको थियो । पछिल्लोपटकको स्थगनसँगै प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक प्रभावित भएको हो ।
भदौ २३–२४ पछि एउटै मञ्चमा सहभागी हुँदै चार पूर्वप्रधानमन्त्रीहरू
काठमाडौं । गत वर्षको भदौ २३ र २४ गतेका राजनीतिक घटनाक्रमपछि चार पूर्वप्रधानमन्त्रीहरु पहिलोपटक एउटै सार्वजनिक मञ्चमा उभिने भएका छन् । जननेता मदन भण्डारीको जन्मदिन पारेर मदन भण्डारी फाउण्डेशनले आइतबार (असार १४ गते) आयोजना गर्न लागेको कार्यक्रममा चारै प्रधानमन्त्रीहरु एउटै मन्चमा आउन लागेका हुन् । नेपालको कम्युनिष्ट आन्दोलन र मदन भण्डारी विषयक विचार गोष्ठीमा पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल सहभागी हुने कार्यक्रम तय भएको हो । उनीहरूले कार्यक्रममा अतिथि वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको फाउण्डेसनले जनाएको छ । कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुने तय भएको फाउण्डेसनले जनाएको छ । त्यस्तै, पूर्वउपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि वक्ताका रूपमा सहभागी हुने फाउण्डेशनले जनाएको छ । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजना गरिएको कार्यक्रममा कम्युनिष्ट आन्दोलन, भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद र समसामयिक राजनीतिक विषयमा विचार विमर्श हुने जनाइएको छ । भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो । भदौ २३ र २४ गतेका राजनीतिक घटनाक्रमपछि प्रमुख कम्युनिष्ट धारका शीर्ष नेताहरू पहिलोपटक एउटै सार्वजनिक मञ्चमा उपस्थित हुन लागेकाले उक्त कार्यक्रमलाई राजनीतिक वृत्तमा अर्थपूर्ण भेटका रूपमा हेरिएको छ ।