एमालेले केपी ओलीको हार स्वीकार्यो, महासचिव पोखरेलको बालेनलाई बधाई

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नराम्रो पराजय स्वीकार गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा धारणा राख्दै उनले नयाँबाट केही हुन्छ कि भन्ने विश्वासका साथ मत दिएको बताउँदै राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई तथा शुभकामना दिएको बताएका हुन् ।  उनले भनेका छन्, ‘आम निर्वाचन २०८२ को जनादेश राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा आएको छ । जनताले ‘नयाँबाट केही हुन्छ कि’ भन्ने विश्वासका साथ अभिमत दिएका छन् । जनविश्वास अनुरूप अघि बढ्न पार्टीका प्रस्तावित प्रधानमन्त्री उम्मेदवार बालेन शाहसहित विजयी हुनुहुने सम्पूर्ण प्रतिनिधिहरूलाई कार्य सफलताको शुभकामना ।’ अहिले झापा–५ मा मतगणना जारी छ । जहाँ एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह प्रतिस्पर्धामा छन् । बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि छन् ।  एमालेले अहिले नै हार स्वीकार गर्दै बोलनलाई बधाई दिएको हो । महासचिव पोखरेलले भनेका छन्, ‘यस पटकको निर्वाचनमा म उम्मेदवार भएको निर्वाचन क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ताहरूले निकै मेहनत गर्नुभयो । शुभेच्छुक र आफन्तजनहरूले पनि उत्तिकै साथ र सहयोग दिनुभयो । तर ‘परिवर्तन’ को लहरका सामु हाम्रो प्रयास सफल हुन सकेन  ।’  उनले ‘जिन्दगी हो-हार जित भइरहन्छ, बाधा पन्छाउँदै नदी बगिरहन्छ’ गीत सम्झिएको उल्लेख गर्दै लोकतान्त्रिक प्रक्रियामा हार–जित स्वाभाविक भएको बताएका छन् ।   

झापा- ५ मा बालेनले ४२ हजार कटाउँदा ओलीले ११ हजार ४२७ मत पाए

काठमाडौं । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले भारी मतले अग्रता कायम गरेका छन् । उनले ४२ हजार ५४३ मत प्राप्त गरेका छन् । नेकपा एमालेका केपी शर्माले ११ हजार ४२७ मत प्राप्त गरेका छन् । त्यसैगरी, श्रम संस्कृतिका समीर तामाङले ७ हजार १०७ मत पाएका छन् । त्यस्तै, नेपाली कांग्रेसकी मन्थरा चिमरियाले १ हजार २०२, नेकपाका रन्जित तामाङले ९९६ र राप्रपाका लक्ष्मीप्रसाद संग्रौला ९११ मत ल्याएका छन् ।

डोटीबाट कांग्रेसका भरतबहादुर खड्का विजयी

काठमाडौं । सुदूरपश्चिमको डोटी निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी, नेकपा एमालेका दीपकबहादुर धामी, लाई ७८७ मतको झिनो मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार खड्काले कुल १४,८९७ मत प्राप्त गरेका छन् भने धामीले १४,११० मत पाएका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्रबहादुर खड्काले १३,२६० मत प्राप्त गरेका छन् ।