काठमाडौं । नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले मिडिया संस्था तथा राजनीतिक नेतृत्वका कार्यालय र निवास अगाडि सवारी साधन तेर्साएर मानसिक त्रास सिर्जना गर्ने गतिविधिमा संलग्नमाथि कानुनबमोजिम कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
मंगलबार (आज) प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो गतिविधि सामान्य देखिए पनि त्यसले विगतको राज्य आतंकको स्मरण गराउने खालको सन्देश दिएको बताए ।
‘हिजो मिडिया क्षेत्र र राजनीतिक नेतृत्वको कार्यालय तथा घर अगाडि सवारी साधन तेर्साएर मानसिक त्रास फैलाउने काम भयो। हेर्दा यो सानो र सांकेतिक घटना जस्तो देखिए पनि यसले पञ्चायतकालीन मण्डलेतन्त्रले फैलाएको राज्य आतंकको सुरुवाती झझल्को सम्झाइदिन्छ,’ उनले भने, ‘त्यसैले यस घटनामा संलग्न व्यक्तिलाई कानुनबमोजिम कडा कारबाही गरिनुपर्छ ।’
ठगुन्नाले पछिल्लो समय राज्य संयन्त्र पूर्वाग्रह र प्रतिशोधको भावनाले परिचालित भएको आरोप पनि लगाए ।
पर्याप्त अनुसन्धान गरी तथ्य र प्रमाणका आधारमा अभियोजन चलाउनुपर्नेमा राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा दर्ता गरेर पहिले पक्राउ गर्ने र त्यसपछि अनुसन्धान गर्ने प्रवृत्ति बढेको उनको टिप्पणी थियो ।
उनले श्रमजीवी वर्ग र बेरोजगार युवाप्रति सरकारको व्यवहार उचित नभएको उल्लेख गर्दै निष्पक्ष र कानुनसम्मत ढंगले राज्य संयन्त्र परिचालन गर्न सरकारको ध्यानाकर्षण गराए।
सांसद ठगुन्नाले सुकुम्बासीमाथि सरकारले अपनाएको व्यवहारप्रति समेत असन्तुष्टि जनाउँदै उनीहरूको समस्या समाधानमा संवेदनशील र मानवीय दृष्टिकोण अपनाउन आग्रह गरे।