झापा–५ मा बालेन ३९ हजार मतसहित अगाडि, ओलीलाई ठूलो अन्तरले पछि पार्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीका रूपमा अघि सारेका बालेन्द्र शाह (बालेन) ले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको मतान्तर झन् बढाएका छन् । मतगणनाको पछिल्लो परिणामअनुसार बालेन २९ हजारभन्दा बढी मतले अग्रस्थानमा रहेका छन् । उनले ३९ हजार २८४ मत प्राप्त गर्दा ओली १० हजार २९३ मतसहित दोस्रो स्थानमा छन् । यस क्षेत्रमा श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ ६ हजार ३२४ मतसहित तेस्रो स्थानमा छन् भने नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले १ हजार ९६ मत प्राप्त गरेकी छन् । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रञ्जित तामाङले ९४१ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लक्ष्मीप्रसाद संग्रौलाले ८६१ मत पाएका छन् । अन्य उम्मेदवारले चार अंकको मत जोड्न सकेका छैनन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार झापा–५ मा हालसम्म ६२ हजार १ सय मत गणना भइसकेको छ । जसमध्ये ५९ हजार ५५१ मत सदर भएका छन् भने २ हजार ५४९ मत बदर भएको जनाइएको छ ।
भक्तपुर-२ मा रास्वपाका उम्मेदवार राजीव खत्री निर्वाचित
काठमाडौं । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्री निर्वाचित भएका छन् । रास्वपाका उम्मेदवार खत्री ३४ हजार ७ सय २ मत प्राप्त गर्दै निर्वाचित भएका हुन । उनका प्रतिस्पर्धि रहेका नेकपा एमालेका उम्मेदवार रहेका महेश बस्नेतले आठ हजार तीन सय ५१ मत प्राप्त गरेका छन् । त्यस्तै काँग्रेसका उम्मेदवार कवीर रानाले ७ हजार तीन सय २१ मत प्राप्त गरेको छन् ।
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी
काठमाडौं । म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महावीर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् । निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका पुन २२ हजार ८५० मतका साथ निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले सात हजार ९१९ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिए । नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले छ हजार ८८४ र नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापाले तीन हजार ५२९ मत प्राप्त गरे । बिहीबार भएको मतदानमा म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको थियो ।