राप्रपाले टुङ्ग्यायो समानुपातिक सांसद, भरत गिरीदेखि खुस्बु ओलीसम्म सिफारिस
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत चार जनालाई प्रतिनिधिसभा सदस्यका निम्ति सिफारिस गरेको छ । आइतबार राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले नाम टुंगो लगाएको हो । बैठकले भरत गिरी (खस आर्य पुरुष) महोत्तरी, ताहिर अली (मुस्लिम पुरुष) रुपन्देही, खुस्बु ओली (खस आर्य महिला) झापा तथा सरस्वती लामा (जनजाति महिला) धादिङ लाई सिफारिस गरेको सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । समानुपातिक बन्दसूचीमा रहेका ४ जनालाई प्रतिनिधिसभा सदस्य पदमा सिफारिस गर्ने निर्णय गरिएको हो ।
कांग्रेसले समानुपातिकतर्फ २० जनाको नाम आयोगमा पठायो, १५ जना महिला समेटिए
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ बन्दसूचीमा रहेका उम्मेदवारमध्येबाट २० जनाको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टीले पाएको २० सिटमध्ये १५ महिलालाई र ५ पुरुषलाई समेटेर नाम पठाउने निर्णय गरिएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । उनका अनुसार समावेशी क्लस्टर मिलाउँदा आदिवासी जनजातिबाट ६ जना, खस–आर्यबाट ६ जना र थारु, दलित, मधेशी, मुस्लिम तथा पिछडिएको क्षेत्रबाट गरी कूल ५ जनाको नाम सिफारिस गरिएको छ । प्रवक्ता चालिसेले बन्दसूची आजै निर्वाचन आयोगमा बुझाइने जानकारी दिँदै केही क्लस्टर मिलानमा समस्या देखिए आयोगसँग समायोजन गर्ने सुविधा रहने बताए । ‘आजै बन्दसूची आयोगमा पठाउँछौं । केही क्लस्टरमा तलमाथि परेमा आयोगले आवश्यक समायोजन गर्न सक्ने व्यवस्था छ,’ उनले भने।
पति दुर्गासँगै प्रधानमन्त्री सुशीला कार्की पुगिन् गुण्डु, दिइन् ओलीलाई समवेदना
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समवेदना दिन भक्तपुरको गुण्डुस्थित निवास पुगेकी छन् । प्रधानमन्त्री कार्कीको साथमा उनका श्रीमान दुर्गा सुवेदी पनि ओली निवास पुगेका छन् । पितृशोकमा रहेका एमाले अध्यक्ष ओलीलाई भेटेर समवेदना व्यक्त गर्न प्रधानमन्त्री कार्की आइतबार गुण्डु पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो । प्रधानमन्त्री कार्कीले ओलीसँग भेटेर दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेकी छन् ।