पार्टी पुनर्गठनको माग गर्दै एमाले तानसेन नगर कमिटी विघटन, जेठ ३ मा अधिवेशन गरिने
काठमाडौं । पार्टीभित्र नेतृत्व पुनर्गठनको माग तीव्र बन्दै गइरहेका बेला नेकपा एमालेले पाल्पाको तानसेन नगर कमिटी विघटन गरेको छ । नयाँ संरचना निर्माण र संगठन सुदृढीकरणको उद्देश्यसहित नगर कमिटी भंग गरिएको अध्यक्ष गुराँस आत्रेयले जानकारी दिए। आत्रेयका अनुसार निर्वाचन परिणामलगत्तै आफूले मात्रै राजीनामा दिने तयारी गरे पनि सिँगै कमिटीले आफूलाई साथ दिएपछि कमिटी नै विघटन गरिएको हो । उनले नगर कमिटी विघटनसँगै नयाँ कमिटी गठनका लागि आगामी जेठ ३ गते अधिवेशन गर्ने निर्णय गरिएको जानकारी दिए । त्यस्तै, तीन महिनाभित्र सबै वडा कमिटीहरूले पनि अधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका तय गरिएको उनले बताए । ‘एमालेले समयमै आफूलाई पुनर्ताजगीमा लाग्नुपर्ने समय आएको छ । त्यसैले यसको सुरुवात मैले गरेको हुँ,’ आत्रेयले भने । वर्तमान केन्द्रीय नेतृत्व परिवर्तन नभएसम्म पार्टी प्रभावकारी रूपमा अघि बढ्न नसक्ने निष्कर्षसहित यो कदम चालिएको हो । आत्रेयले नेतृत्व पुनर्गठनका लागि जिल्ला र केन्द्रीय कमिटीलाई दबाब सिर्जना गर्ने उद्देश्यले पनि नगर तथा वडा कमिटीहरू विघटन गरिएको स्पष्ट पारे ।
‘अर्को निर्वाचनमा जनताले प्रतिपक्ष नै नहुनेगरी पार्टीलाई मत दिने अवस्था सिर्जना गर्नेगरी काम गरौं’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले अर्को निर्वाचनमा जनताले रास्वपालाई मात्रै मतदान गर्नेगरी काम गर्नुपर्ने बताएका छन् । रास्वपाले आयोजना गरेको सांसदहरुको अभिमुखीकरण कार्यक्रममा उनले आगामी पाँच वर्ष पार्टीले प्रतिपक्षविहीन बनाउने गरी काम गर्नुपर्ने बताएका हुन् । आगामी निर्वाचनसम्म पुग्दा नेपाली जनताले प्रतिपक्ष नै नहुनेगरी पार्टीलाई मत दिने अवस्था सिर्जना गर्नुपर्ने उनको भनाइ छ । उक्त लक्ष्य हासिल गर्नको लागि भाषण वा सिमित नेताहरूको प्रयासबाट मात्रै सम्भव नहुने भन्दै उनले सबैले आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए । उपसभापति अर्यालले अब बन्ने सरकारले सुशासन कायम गर्ने, प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने र भ्रष्टाचार अन्त्य गर्नेगरी काम गर्नुपर्ने उल्लेख गरे । उनले निर्वाचनमा पार्टीले जित हासिल गरेपनि देश र जनताले जित्न बाँकी रहेको बताए । उपसभापति अर्यालले दूरदराजका नागरिकसम्म राज्यको उपस्थिति अनुभुत हुने वातावरण सिर्जना गरी जनताको सरकार रहेको आभास दिलाउने गरी काम गर्नुपर्नेमा पनि जोड दिए । पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहप्रति भरोसा गरेर हालको जनादेश प्राप्त भएको उल्लेख गर्दै उनले आगामी दिनमा पार्टीका सबै सदस्यहरूको मेहनतले पार्टीलाई पहिलो बनाउनुपर्ने पनि बताए ।
पितृशोकमा रहेका अध्यक्ष ओलीलाई भेट्न राष्ट्रपति बालकोटमा
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पितृशोकमा रहनुभएका पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीप्रति समवेदना प्रकट गरेका छन् । राष्ट्रपति पौडेलले अध्यक्ष ओलीलाई भेटी उनका पिताको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन् । अध्यक्ष ओलीका पिताको निधनले सिंगो परिवारमा पर्न गएको अपूरणीय क्षतिप्रति राष्ट्रपतिले गहिरो सहानुभूति समेत व्यक्त गरे ।