सरकार र प्रतिपक्ष दुवै ‘ब्रेक’बिनै दौडिरहेका छन् : गगन थापा
काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकार र प्रतिपक्ष दुवैको कार्यशैलीमा समानता रहेको भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् । बुधवार वीपी कोइरालाको स्मृति दिवसका अवसरमा ललितपुरमा आयोजित जलवायु जनचेतना दौड कार्यक्रममा सहभागी भएपछि आयोजित कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । जलवायु परिवर्तनबारे सचेतना जगाउन आयोजित पाँच किलोमिटरको दौड विना कुनै विश्राम पूरा गरेपछि थापाले प्रधानमन्त्री बालेन्द्र साहको पछिल्लो अभिव्यक्तिको प्रसङ्ग जोडेका हुन् । यसअघि चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनका क्रममा प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहले वर्तमान सरकारको गाडीमा ‘ब्रेक’ नरहेको र यो गन्तव्यमा पुगेपछि मात्र रोकिने अभिव्यक्ति दिए । काँग्रेस सभापति थापाले सोही भनाइलाई लक्षित गर्दै प्रतिपक्षको सक्रियतालाई पनि ‘ब्रेक’ विनाको दौडसँग तुलना गरे । सभापति थापाले भने, ‘म एकछिन पनि नरोकिई पाँच किलोमिटर दौडिए । मसँगै दौडिएका साथीहरूले ठट्टा गर्दै भन्नुभयो गाडीमा ब्रेक नहुनेले सरकार चलाउने र दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने कुरा ठ्याक्कै मिलेको छ ।’ उनले उक्त टिप्पणीलाई सहज रूपमा लिँदै ‘यसपालि यस्तै हो’ भनी जवाफ दिएको सुनाए । सभापति थापाले वीपी कोईरालाले तत्कालीन समयमा ‘समावेशी’ शब्दको प्रयोग नगरे पनि व्यवहारतः त्यसको सफल अभ्यास गरेको स्मरण गरे । विकासको अवधारणाबारे चर्चा गर्दै उनले सामाजिक न्याय, मानव कल्याण र नैतिक जिम्मेवारी विनाको विकास अर्थहीन हुने उल्लेख गरे । वीपी कोइरालाले धेरै वर्षअघि नै वनको राष्ट्रियकरण र प्राकृतिक स्रोतमाथि न्यायपूर्ण पहुँचको विषय उठाएको स्मरण गर्दै थापाले ती दूरदर्शि विचारहरूलाई वर्तमान समयमा पनि आत्मसात गर्नुपर्ने बताए । पार्टीको आगामी कार्यदिशाबारे प्रष्ट पार्दै सभापति थापाले आजको नेपाली काँग्रेस भविष्यप्रति आशावादी रहेको तर भविष्यको मार्ग कोर्न इतिहासबाट सिक्न जरुरी रहेको बताए । अग्रजहरूले देखाएको बाटो र उहाँहरूका विचारलाई आधार मानेर जलवायु परिवर्तनको मुद्दालाई विकासको मूल प्रवाहमा जोड्न प्रतिवद्ध रहेको उनको भनाइ छ ।
बागमती सरकारबाट एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा
काठमाडौं । बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन् । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको सामूहिक राजीनामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएका हुन् । राजीनामा दिने मन्त्रीहरूमा आर्थिक मामिलामन्त्री बिन्दु श्रेष्ठ, स्वास्थ्यमन्त्री डा. दिनेशचन्द्र देवकोटा, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री किरण थापा, वन तथा वातावरणमन्त्री भरतबहादुर केसी, सहकारी तथा गरिबी निवारणमन्त्री मधुसूदन पौडेल र युवा तथा खेलकुदमन्त्री जयराम थापा रहेका छन् । एमालेका सबै मन्त्रीले एकैपटक पदबाट राजीनामा दिएसँगै बागमती प्रदेश सरकारको सत्ता समीकरणमा परिवर्तन आएको छ । मन्त्रीहरूको राजीनामापछि सरकारको आगामी स्वरूप, नयाँ सत्ता समीकरण र मन्त्रिपरिषद् पुनर्गठनबारे राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री शाह हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै
काठमाडौं । विगत केही दिनदेखि मुलुकको अर्थतन्त्र उजिल्याउने उद्देश्यले विभिन्न उद्योगी व्यवसायीहरूसँग निरन्तर छलफल गरिरहेका प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्रीले मुलुकको हस्तकला उद्योग, त्यसको विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले महासंघका प्रतिनिधिसँग छलफल गर्न लागेका हुन् । छलफलमा महासंघका अध्यक्ष रवीन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकासरत्न धाक्ख्वा र शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी हुनेछन् ।