समानुपातिकतर्फ रास्वपाले कटायो ३ लाख मत, कांग्रेस र एमाले निकै पछि

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय अग्रता कायम गरेको छ । निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार रास्वपाले ३ लाख मतको ऐतिहासिक सीमा पार गरेको छ । बेलुका ६ बजेसम्म गणना भएको कुल ५ लाख ६२ हजार २५४ मतमध्ये रास्वपाले ३ लाख १ हजार ३६८ मत प्राप्त गर्दै स्पष्ट अग्रता बनाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ९० हजार ७२९ मत प्राप्त गरेको छ भने नेकपा एमाले ७३ हजार ६७२ मतसहित तेस्रो स्थानमा रहेको छ । त्यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ३१ हजार ६७० मत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २३ हजार ८०५ मत पाएको छ । अन्य दलमध्ये श्रम संस्कृति पार्टीले ११ हजार ८०६ मत प्राप्त गरेको छ भने राष्ट्रिय परिवर्तन पार्टीले ८ हजार ५४ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

देउवाको गढ डडेल्धुरामा रास्वपाको ऐतिहासिक जित

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा यसपटक राजनीतिक समीकरण बदलिएको छ। लामो समय कांग्रेसको प्रभाव रहेको यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक जित हात पारेको छ। रास्वपाका उम्मेदवार डा. ताराप्रसाद जोशी १९ हजार १३१ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नैनसिंह महरले १२ हजार १२१ मत प्राप्त गरे। निर्वाचनमा नेकपाका उम्मेदवार मानसिंह माल ६ हजार ८३४ मतसहित तेस्रो स्थानमा रहे भने नेकपा एमालेका चक्र स्नेहीले ३ हजार २६ मत मात्र ल्याए। न्यून मतका कारण स्नेहीको जमानत जफत भएको छ। डडेल्धुरा लामो समयदेखि कांग्रेसको बलियो गढ मानिँदै आएको थियो। २०४८ सालदेखि २०७९ सालसम्म भएका सात वटा निर्वाचनमा कांग्रेसबाट शेरबहादुर देउवा लगातार विजयी हुँदै आएका थिए। तर यसपटक देउवा उम्मेदवार नबन्दा कांग्रेसले नैनसिंह महरलाई मैदानमा उतारेको थियो।

झापा- ५ मा बालेन्द्रको ६६ हजार मत पुग्दा ओली १८ हजारमै सीमित, ३ हजार गणना बाँकी

झापा । झापा क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) का उम्मेदवार बालेन्द्र शाहले अत्यधिक मतका साथ आफ्नो अग्रता कायम राखेका छन् ।  कुल १ लाख ६ हजार ३ सय ७२ मत खसेको यस क्षेत्रमा हालसम्म १ लाख ३ हजार ३ सय ७५ मत गणना भइसकेको छ । ताजा मतपरिणाम अनुसार बालेन्द्र शाहले ६६ हजार २०० मत प्राप्त गर्दै विजयतर्फ पाइला अगाडि बढाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १८ हजार ९५ मत प्राप्त गरेका छन् । शाह र ओलीबीचको मतान्तर निकै फराकिलो देखिएको छ । त्यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले १ हजार ७५२ मत प्राप्त गरेकी छिन् भने नेकपाका रञ्जित तामाङ १ हजार ४३५ मतका साथ चौथो स्थानमा रहेका छन् । अब गणना गर्न करिब ३ हजार मत मात्र बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  गणना हुन बाँकी मतभन्दा बालेन्द्र शाहको अग्रता धेरै बढी रहेकाले यस क्षेत्रमा शाहको जित सुनिश्चित प्रायः देखिएको छ ।