नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा शेर्पा, कोषाध्यक्षमा समान मत

काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को अध्यक्ष पदमा फुरगेल्जे शेर्पा निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणनाअनुसार शेर्पाले अर्का उम्मेदवार कुल बहादुर गुरुङलाई पराजित गर्दै निर्वाचित भएका हुन् । शेर्पाले ३४२ मत र गुरुङले २८८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी ,महासचिवमा राजेन्द्र लामा विजयी भएका छन् ।  यसैगरी सचिवमा चन्दन थापा, कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाले समान मत प्राप्त गरेका छन् ।  त्यसैगरी, सदस्यमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डङ्गोल, दिकी शेर्पा र निशा भोटे विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

नेरुडे मिर्मिरे लघुवित्तको कामु सीईओमा भागनारायण साहु

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले नायव प्रमुख कार्यकारी अधिकृत भागनारायण साहुलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदको जिम्मेवारी प्रदान गरेको छ । संस्था सञ्चालक समितिको भदौ ४ गते बसेको बैठकले सो निर्णय गरेको हो ।  यसअघि कार्यरत प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालको कार्यकाल साउन मसान्तमा समाप्त भएको थियो । लघुवित्तले साहुको नेतृत्वमा संस्थाको कार्य सञ्चालन निरन्तर गतिशील र प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ ।

सीआईटीको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त

काठमाडौं । नागरिक लगानी कोष (सीआईटी) सञ्चालक समितिको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त भएका छन् ।  घिमिरेलाई उपप्रधानमन्त्री तथा अर्थमन्त्रीस्तरको निर्णयअनुसार अध्यक्षमा नियुक्त गरिएको हो ।  त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमफिल, अर्थशास्त्रमै एमए र एमपीए गरेका घिमिरे नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाशप्राप्त हुन् । उनले केन्द्रीय बैंकमा सेवा गर्दा सूचना प्रविधि, मानव संसाधन, विदेशी विनिमय, बैंकिङ एवं अनुसन्धानलगायत अन्य विभागमा काम गरेका छन् ।