६ दिनदेखि बेपत्ता गाइड दावा शेर्पाको जीवितै उद्धार, ह्याम्स अस्पतालमा उपचार हुँदै

काठमाडौं । सगरमाथा आधार शिविर क्षेत्रबाट गत ६ दिनदेखि बेपत्ता भएका हिमाल आरोहण गाइड दावा शेर्पाको जीवितै उद्धार गरी काठमाडौं ल्याइएको छ । 

गम्भीर बिरामी अवस्थामा फेला परेका शेर्पाको हाल काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।

बिहीबार सगरमाथा प्रदूषण नियन्त्रण समितिका कामदारहरूले उनलाई खुम्बु आइसफल क्रयाम्पन पोइन्ट छेउबाट आधार शिविर (बेस क्याम्प) तर्फ घस्रिँदै आइरहेको अवस्थामा फेला पारेका हुन् । 

फेला पर्नासाथ उनलाई तत्काल अल्टिच्युड एयरको हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको हो ।

सगरमाथाको तेस्रो शिविर (क्याम्प ३) आसपासको क्षेत्रबाट आधार शिविर फर्किने क्रममा गाइड शेर्पा एकाएक बेपत्ता भएका थिए । उनको खोजीका लागि पर्वतारोहण टोली र हेलिकप्टर समेत परिचालन गरिए पनि लामो समयसम्म उनको स्थिति पत्ता लाग्न सकेको थिएन ।

null

६ दिनसम्मको प्रतिकूल मौसम र कठिन भूगोलका बाबजुद बिहीबार उनी आइसफल क्षेत्रमा घस्रिँदै गरेको अवस्थामा फेला परेपछि उद्धार टोलीले उनलाई तत्काल आधार शिविर पुर्याएको थियो ।

लामो समय हिउँमा बिताएका कारण शेर्पाको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको जनाइएको छ । सगरमाथा प्रदूषण नियन्त्रण समितिका अनुसार अत्यधिक चिसोका कारण उनको हात र खुट्टा हिउँले खाएको छ । 

हाल ह्याम्स अस्पतालका चिकित्सकहरूको विशेष निगरानीमा उनको उपचार कार्य अगाडि बढाइएको छ ।

Share News