‘विगतका गल्ती र भारी हामी बोक्दैनौं, नेपाल–भारतबीच सम्वृद्धिको सहकार्य हुन्छ’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारत विगतका गल्ती र बोझ बोकेर अगाडि बढ्न नसक्ने भन्दै दुवै देश समृद्धिको साझा यात्रामा सहकार्य गर्न सहमत भएको बताएका छन् । भारतको पाँचदिने भ्रमण सम्पन्न गरेर शुक्रबार स्वदेश फर्किएका लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल–भारत सम्बन्धलाई नयाँ ढंगले अघि बढाउने विषयमा सकारात्मक छलफल भएको बताए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटवार्तालाई पारदर्शी र खुला संवादका रूपमा व्याख्या गर्दै दुई देशबीचको सम्बन्ध तथा साझा समृद्धिका विषयमा केन्द्रित भएर कुराकानी भएको जानकारी दिए । ‘पारदर्शिताका रूपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी भएको छ । नेपाल–भारत सम्बन्ध र समृद्धिका विषयमा विस्तृत छलफल भएको छ,’ लामिछानेले भने । उनका अनुसार खेलकुद, सूचना प्रविधि तथा अन्य सम्भावना बोकेका क्षेत्रहरूमा सहकार्य र लगानी विस्तारका विषयमा पनि दुवै पक्षबीच विचार आदानप्रदान भएको छ । ती क्षेत्रमा लगानी भित्र्याएर आर्थिक विकास र समृद्धिलाई गति दिन सकिने विषयमा जोड दिइएको उनले बताए । ‘हामीले अगाडि बढ्न चाहेका खेलकुददेखि सूचना प्रविधिसम्मका क्षेत्रबारे कुराकानी गरेका छौं । ती क्षेत्रमा लगानी गरेर समृद्धि हासिल गर्ने विषयमा सकारात्मक समझदारी बनेको छ,’ उनले भने । लामिछानेले नेपाल–भारत सम्बन्धलाई विगतका विवाद र असमझदारीको दृष्टिले मात्र हेर्न नहुने उल्लेख गर्दै वर्तमान पुस्ताले साझा हित र पारस्परिक समृद्धिलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताए । ‘विगतका गल्ती र भारी हामी बोक्दैनौं । वर्तमान सरकारले आपसी समृद्धि र हितका लागि काम गर्ने समझदारी बनाएको छ,’ उनले भने, ‘हामी सँगै हिँडेर समृद्धिको बाटोमा जाने सहमति भएको छ ।’ भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न तहमा संवाद र सहकार्य विस्तार गर्ने विषयमा पनि सकारात्मक वातावरण बनेको उनको दाबी छ । लामिछानेले नेपालबाट हुने औपचारिक भ्रमणका सम्बन्धमा पनि समझदारी बनेको जानकारी दिँदै आवश्यकता र सन्दर्भअनुसार सरकार तथा दलका प्रतिनिधिहरू सहभागी हुने बताए । ‘प्रधानमन्त्री वालेन्द्र शाह आवश्यक पर्ने ठाउँमा जानुहुन्छ, नचाहिने ठाउँमा पार्टी सभापति र अन्य साथीहरू जाने सहमति भएको छ,’ उनले भने, ‘सरकारलाई काम गर्न दिऔं ।’ उनले नेपाल–भारत सम्बन्धलाई केवल कूटनीतिक सम्बन्धका रूपमा नभई आर्थिक, सामाजिक र विकास साझेदारीको दृष्टिकोणबाट अघि बढाउनुपर्नेमा उनले जोड दिए ।
राणा र प्रसाईं मिलेर पार्टी खोल्ने, मलमासपछि घोषणा
काठमाडौं । ‘नागरिक बचाऊ महाअभियान’ का संयोजक दुर्गा प्रसाईं र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका डा. धवलशमशेर राणाको नेतृत्वमा रहेको समूहबीच नयाँ राजनीतिक दल गठन गर्ने औपचारिक सहमति भएको छ । बृहत् राष्ट्रवादी एकता कायम गरी देशलाई नयाँ दिशा दिने उद्देश्यका साथ दुई पक्षबीच ११ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो । शुक्रबार आज दुवै नेताहरूले हस्ताक्षर गरी जारी गरेको सम्झौता पत्रमा संवैधानिक राजसंस्थाको पुनःस्थापना, वैदिक सनातन हिन्दू अधिराज्य र युवा तथा महिलाको ६० प्रतिशत सहभागिता रहने गरी नयाँ पार्टी घोषणा गर्नेसम्मका रणनीतिक बुँदाहरू समेटिएका छन् । सम्झौता पत्रको प्रस्तावनामा नेपालको भू-अखण्डता, सांस्कृतिक मौलिकता, धार्मिक स्वतन्त्रता, भाषिक विविधता र सभ्यतागत निरन्तरताको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । विदेशी प्रभाव र आन्तरिक विखण्डनविरुद्ध राष्ट्रलाई सुदृढ दिशा दिनु आजको प्रमुख आवश्यकता रहेको ठहर गर्दै संसद्मा किरात र बौद्धसहितको वैदिक सनातन हिन्दू अधिराज्य र संवैधानिक राजसंस्थाको पुनःस्थापनाका लागि एक सशक्त, लोकतान्त्रिक तथा राष्ट्रवादी राजनीतिक शक्तिको आवश्यकतालाई आत्मसात् गरिएको पत्रमा उल्लेख छ । सहमतिका ११ मुख्य बुँदाहरू १. सनातन हिन्दू अधिराज्य: नेपालको भूगोल, भूगोलको गर्भमा रहेको किराँत, बौद्धसहितको सनातन हिन्दू अधिराज्य। २. राष्ट्रवादि दर्शन: राष्ट्रिय एकताका प्रतिक श्री ५ पृथ्वीनारायण शाहका दिव्य उपदेशमा आधारित राष्ट्रवादि दर्शन। ३. सुधारमुखि संघीयता: राष्ट्रिय स्वाभिमान सहितको सुधारमुखी संघीयता। ४. दोहोरो नागरिकताको व्यवस्था: एक पटकको नेपाली सधैको नेपाली र दोहोरो नागरिकता राख्न पाउनु पर्ने व्यवस्था। ५. ऋण तथा सुकुम्बासी समस्या समाधान: लघुवित्त, सहकारी, बैंक र मिटरब्याजिबाट कालो सुचिमा पारिएका भुमिविहिन सुकुम्बासी नेपाली नागरिकको दिगो समस्या समाधान। ६. परराष्ट्र नीतिस् असंलग्न परराष्ट्र नीति । ७. सुशासन : सुशासन र भ्रष्टाचार मुक्त समाज । ८. अर्थतन्त्र: स्वदेशी उत्पादनमा आधारित मिश्रीत अर्थतन्त्र । ९. विचार र सिद्धान्त मिल्ने अन्य राजनीतिक दल, अभियान, संगठन र व्यक्तिहरुलाई साथ लिएर नयाँ राजनीतिक पार्टी घोषणा १०. नयाँ निर्माण हुने राजनीतिक दलमा ६० प्रतिशत युवा तथा महिला सहभागिता ११. नेपाली नागरिकको गर्भबाट जन्मिएको नागरिक केन्द्रित राष्ट्रवादी दर्शन
स्रोत भन्छ : सुधन गुरुङ दोषी देखिएनन्
काठमाडौं । निवर्तमान गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङ दोषी नदेखिएको बुझिएको छ । बिचौलियासँग साँठगाँठ गरेर सम्पत्ति आर्जेको आरोप लागेपछि गृहमन्त्रीबाट राजीनामा दिएका गुरुङमाथि छानबिन गर्दा कुनै दोष नदेखिएको बुझिएको हो । गुरुङको सम्पत्ति छानबिन गर्न बनेको समितिले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) समक्ष प्रतिवेदन बुझाएको छ । सोही समितिले यस प्रकरणमा गुरुङको कुनै संलग्नता र दोष नरहेको निष्कर्ष निकालेको हो । संयोजक अच्युतमप्रसाद भण्डारी तथा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेको छानबिन समितिले प्रधानमन्त्री शाहलाई प्रतिवेदन बुझाएको हो । समितिले गुरुङको सम्पत्ति छानबिन र उनीसँग बयान लिएर प्रतिवेदन तयार पारेको हो । स्रोतका अनुसार समितिले ४५ पृष्ठ लामो प्रतिवेदन तयार गरेको छ । गत बैशाख २८ गते समिति गठन गरेको थियो । गृहमन्त्री रहेकै समयमा गुरुङले विवादित व्यवसायी दीपक भट्टको लगानी रहेको कम्पनीमा सेयर रहेको सार्वजनिक भएपछि उनले गत बैशाख ९ गते पदबाट राजीनामा दिएका थिए । आज उनले राजीनामा दिएको ४४ दिन भएको छ ।