बौद्धस्थित भाटभटेनी सुपर स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने

काठमाडौं । काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपर स्टोर भोलि (आषाढ १० गते,) देखि पुनः सञ्चालनमा आउने भएको छ ।

भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानू पौडेलका अनुसार भोलिदेखि उक्त स्टोरले दैनिक रूपमा ग्राहकहरूलाई नियमित सेवा प्रदान गर्ने जानकारी दिए ।

ग्राहकहरूको सुविधालाई उच्च प्राथमिकतामा राख्दै भाटभटेनीले आगामी दिनमा अझ आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । 

भाटभटेनी सुपरमार्केटले कठिन समयमा साथ, सहयोग र धैर्यताका लागि सम्पूर्ण ग्राहकवर्ग, स्थानीय समुदाय, सुरक्षा निकाय तथा सरोकारवालालाई धन्यवादसमेत व्यक्त गरेको  छ ।

गत वर्षको जेनजी आन्दोलनको क्रममा बौद्धस्थित भाटभटेनीमा पनि क्षति पुगेको थियो । पुनः निर्माणपछि भाटभटेनी सञ्चालनमा आउन लागेको हो ।

भदौ २४ गते जेनजी आन्दोलनकर्ताहरूले काठमाडौंसहित देशभर भएका २८ स्टोरमध्ये २१ स्टोरमा क्षति पुर्याएका थिए । आगजनी र तोडफोडमा भाटभटेनी सुपरस्टोरका २१ वटा स्टोरमा गरी १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८५४ रुपैयाँ बराबरको क्षति भएको देखिएको थियो । २१ मध्ये बालुवाटारस्थित मुख्य स्टोरसहित १२ वटा स्टोर पूर्णरूपमा आगजनी भएको थियो भने बाँकी ९ वटा स्टोरमा आंशिक क्षति पुगेको थियो ।

भाटभटेनीका १२ वटा पूर्ण क्षति भएका र आंशिक क्षति भएका ९ वटा गरी १९ वटा स्टोरमा ४ अर्ब ४० करोड ६ लाख ५४ हजार ६०३ रुपैयाँ बराबरको क्षति भएको छ भने ५ अर्ब ९६ करोड ३ लाख ६७ हजार ५९६ रुपैयाँ बराबरका सामग्री पूर्णरूपमा जलाइएको थियो । त्यसैगरी ४९ करोड ५७ लाख ७६ हजार ६५५ रुपैयाँ बराबरका सामग्री तोडफोड र लुटपाट गरिएको भाटभटेनीले जनाएकाे छ ।

Share News