अवकाश पर्खिँदै ५ सचिव, कामविहीन दैनिकी
काठमाडौं । देशको प्रशासनिक केन्द्र मानिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत ११ सचिवमध्ये पाँच सचिवहरू अनिवार्य अवकाशको मिति पर्खेर बसेका छन् । हाल अतिरिक्त जगेडामा रहेका सचिवहरू कृष्णहरि पुष्कर, लोकनाथ पौडेल, हरिप्रसाद मैनाली, डिल्लीराम शर्मा र गोविन्दप्रसाद शर्मा आगामी असार २४ गतेदेखि भदौ २४ गतेभित्र सरकारी सेवाबाट बिदा हुन लागेका हुन्। लामो समयदेखि निजामती प्रशासनको उच्च तहमा रहेर काम गरेका यी सचिवहरूले पछिल्लो समय प्रधानमन्त्री कार्यालयको बरन्डामा बसेर अवकाशको दिन कुरिरहेका हुन् । अवकाशको शृंखला अनुसार सचिव कृष्णहरि पुष्करले सचिवको पाँच वर्षे कार्यकाल पुरा गरेर असार २४ गते सेवा निवृत्त हुँदैछन् । त्यसपछि लोकनाथ पौडेल साउन ६ गते र हरीप्रसाद मैनाली साउन १९ गते उमेरहदका कारण अनिवार्य अवकाशमा जानेछन् । सचिव डिल्लीराम शर्मा भदौ २ गते घर फर्किनेछन् भने गोविन्दप्रसाद शर्मा भदौ २४ गते अवकाशमा जाँदा यो शृंखला पूरा हुनेछ । अतिरिक्त समूहमा रहेका अर्का सचिव डण्डुराम घिमिरेको भने अझै करिब १६ महिना सेवा अवधि बाँकी छ । अतिरिक्त समूहमा रहेका सचिवहरूमध्ये उनी अझै लामो सेवा अवधि बाँकी रहेका सचिव हुन् ।
म्यारियटका अध्यक्षसँग अर्थमन्त्रीले भने- उपत्यका बाहिर पनि व्यवसाय विस्तार गर्नूहोस्
काठमाडौं । नेपालमा बहुराष्ट्रिय लक्जरी होटल ब्रान्ड ‘द रिट्च कार्लटन’ को आगमनसँगै सरकारले विदेशी लगानीकर्तालाई काठमाडौं बाहिर पनि व्यवसाय विस्तार गर्न आह्वान गरेको छ । नयाँ सरकारले देशमा लगानीमैत्री वातावरण निर्माण गरिरहेको दाबी गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हवाई तथा स्थलगत पूर्वाधार विकास र कानुनी सहजीकरणमा पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । सोमबार अर्थ मन्त्रालयमा म्यारियट इन्टरनेशनलका अध्यक्ष डेभिस म्यारियट र नेपाली साझेदार चौधरी समूहका व्यवस्थापकहरूसँगको भेटमा अर्थमन्त्री वाग्लेले लगानी सुरक्षाको पूर्ण ग्यारेन्टी दिए । काठमाडौंको ठमेलमा चौधरी समूहसँगको साझेदारीमा ‘द रिट्च कार्लटन’ सञ्चालन गर्ने घोषणा भएको भोलिपल्टै यो उच्चस्तरीय भेटवार्ता भएको हो । विदेशी लगानीकर्ताहरूलाई नेपालको ब्राण्डिङ गर्न आग्रह गर्दै अर्थमन्त्री वाग्लेले यस परियोजनाले विश्वका धनाढ्यहरूका लागि नेपाललाई नयाँ गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे । ‘तपाईंहरूको नयाँ परियोजना घोषणाले लगानीकर्तामा उत्साह थपेको छ,’ उनले भने, ‘द रिट्च कार्लटनको उपस्थितिले अब विश्वका अर्बपतिहरूको गन्तव्य नेपाल पनि बन्न सक्छ र यसले नेपाली पर्यटनलाई नयाँ उचाइ दिनेछ ।’ ‘सरकार तपाईंहरूको लगानीको सुरक्षाका लागि प्रतिवद्ध छ । व्यवसाय विस्तार गर्न चाहिने हवाई र स्थलगत पूर्वाधार विकास हाम्रो प्राथमिकतामा छन्,’ उनले थपे । भेटका क्रममा म्यारियट इन्टरनेशनलका अध्यक्ष डेभिस म्यारियटले नेपाललाई विश्वस्तरीय पथ-प्रदर्शक गन्तव्य र हिमालको देशको रूपमा चित्रण गरे । नेपालमा ‘द रिट्च कार्लटन’ ल्याउन पाउँदा खुसी व्यक्त गर्दै उनले यहाँको पर्यटन सम्भावनालाई विश्व बजारमा थप फैलाउने र भविष्यमा थप लगानी विस्तार गर्ने प्रतिबद्धतासमेत जनाए । चौधरी समूहका तर्फबाट सीजी हस्पिटालिटी होल्डिङस् तथा सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक राहुल चौधरीले नयाँ सरकार गठन भएसँगै लगानीकर्ताहरूमा सकारात्मक ऊर्जा थपिएको उल्लेख गरे । नेपालमा लगानीका प्रचुर अवसरहरू रहेको औंल्याउँदै उनले व्यवसाय प्रवर्द्धनका लागि सरकारको तर्फबाट निरन्तर र यथेष्ट सहयोगको अपेक्षा गरिएको बताए । मन्त्रालयमा भएको उक्त महत्वपूर्ण भेटघाटमा सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी, म्यारियट एसिया प्यासिफिक (चीन बाहेक) का अध्यक्ष राजीव मेनन र अर्थमन्त्रीको सचिवालयका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।
कोरला नाकाबाट भित्रिए २ हजार ९९७ वटा ईभी, ६.६६ अर्ब राजस्व संकलन
काठमाडौं । मुस्ताङको उपल्लो मुस्ताङस्थित लोमान्थाङ-१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले पछिल्लो जेठ १६ गतेसम्म ६ अर्ब ६६ करोड २६ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गत ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको (नेपाल-चीन) उत्तरी कोरला नाकाबाट गत भदौदेखि यता निकासी तथा पैठारी बापत उक्त परिमाणमा भन्सार राजस्व सङ्कलन भएको हो । कोरला नाका हुँदै चीनबाट १३ अर्ब ८७ करोड ७८ लाख रुपैयाँ बराबरका माल वस्तु भित्रिएकाे भन्सार प्रमुख विदुर चुँडालले जानकारी दिए । उनका अनुसार चीनबाट कोरला नाका हुँदै नेपाल पैठारी गरिएका विद्युतीय सवारी (ईभी) गाडी लगायत चाडपर्व लक्षित लत्ताकपडा, कस्मेटिक सामान, इलेक्ट्रोनिक सामानलगायत सामानको पैठारी बापत उक्त भन्सार राजस्व सङ्कलन भएको भन्सार प्रमुख चुँडालले उल्लेख गरे । यसैगरी, नेपालबाट कोरला नाका हुँदै चीनतर्फ निकासी गरिएका माल वस्तुबाट २० करोड ५५ लाख ७४ हजार रुपैयाँ भन्सार राजस्व सङ्कलन भएको प्रमुख चुँडालको भनाइ छ । नेपालबाट हस्तकलाका सामान र नेपाली उत्पादनलगायत सामग्री चीनतर्फ निकासी भएको हो । नेपाल-चीन उत्तरी कोरला नाकाबाट गत भदौदेखि १६ जेठसम्म २ हजार ९९७ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ । चीनबाट कोरला नाका हुँदै भन्सार जाँच पास भई नेपाल भित्रिएका विद्युतीय सवारी (ईभी) गाडीको पैठारी बापत ६ अर्ब ७६ करोड २ लाख रुपैयाँ भन्सार राजस्व सङ्कलन भएको हो । पछिल्लो समय गत जेठको दोस्रो साता चीनबाट कोरला नाका हुँदै नेपाल भित्रिएका विद्युतीय सवारीसाधनको पैठारी प्रक्रिया विवादमा परेको छ । कोरला नाकाबाट नेपाल भित्रिएका ६४९ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँच पास भइसकेको जनाइ पनि सरकारले यसलाई अनुसन्धानको घेरामा तानेको हो । सरकारले कोरला नाकाबाट भित्रिएका विद्युतीय सवारीसाधनको पैठारी प्रक्रियामा कैफियत रहे/नरहेको यकिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । उक्त समितिले कास्कीको हेमजा, पर्वतको कुश्मा, मुस्ताङको जोमसोम र कोरला नाकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको विद्युतीय सवारीसाधनको अनुगमन गर्ने कार्य सम्पन्न गरिसकेको छ ।