म्यारियटका अध्यक्षसँग अर्थमन्त्रीले भने- उपत्यका बाहिर पनि व्यवसाय विस्तार गर्नूहोस्

काठमाडौं । नेपालमा बहुराष्ट्रिय लक्जरी होटल ब्रान्ड ‘द रिट्च कार्लटन’ को आगमनसँगै सरकारले विदेशी लगानीकर्तालाई काठमाडौं बाहिर पनि व्यवसाय विस्तार गर्न आह्वान गरेको छ । 

नयाँ सरकारले देशमा लगानीमैत्री वातावरण निर्माण गरिरहेको दाबी गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हवाई तथा स्थलगत पूर्वाधार विकास र कानुनी सहजीकरणमा पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।

सोमबार अर्थ मन्त्रालयमा म्यारियट इन्टरनेशनलका अध्यक्ष डेभिस म्यारियट र नेपाली साझेदार चौधरी समूहका व्यवस्थापकहरूसँगको भेटमा अर्थमन्त्री वाग्लेले लगानी सुरक्षाको पूर्ण ग्यारेन्टी दिए ।

काठमाडौंको ठमेलमा चौधरी समूहसँगको साझेदारीमा ‘द रिट्च कार्लटन’ सञ्चालन गर्ने घोषणा भएको भोलिपल्टै यो उच्चस्तरीय भेटवार्ता भएको हो ।

विदेशी लगानीकर्ताहरूलाई नेपालको ब्राण्डिङ गर्न आग्रह गर्दै अर्थमन्त्री वाग्लेले यस परियोजनाले विश्वका धनाढ्यहरूका लागि नेपाललाई नयाँ गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे ।

‘तपाईंहरूको नयाँ परियोजना घोषणाले लगानीकर्तामा उत्साह थपेको छ,’ उनले भने, ‘द रिट्च कार्लटनको उपस्थितिले अब विश्वका अर्बपतिहरूको गन्तव्य नेपाल पनि बन्न सक्छ र यसले नेपाली पर्यटनलाई नयाँ उचाइ दिनेछ ।’

‘सरकार तपाईंहरूको लगानीको सुरक्षाका लागि प्रतिवद्ध छ । व्यवसाय विस्तार गर्न चाहिने हवाई र स्थलगत पूर्वाधार विकास हाम्रो प्राथमिकतामा छन्,’ उनले थपे ।

भेटका क्रममा म्यारियट इन्टरनेशनलका अध्यक्ष डेभिस म्यारियटले नेपाललाई विश्वस्तरीय पथ-प्रदर्शक गन्तव्य र हिमालको देशको रूपमा चित्रण गरे ।

नेपालमा ‘द रिट्च कार्लटन’ ल्याउन पाउँदा खुसी व्यक्त गर्दै उनले यहाँको पर्यटन सम्भावनालाई विश्व बजारमा थप फैलाउने र भविष्यमा थप लगानी विस्तार गर्ने प्रतिबद्धतासमेत जनाए ।

चौधरी समूहका तर्फबाट सीजी हस्पिटालिटी होल्डिङस् तथा सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक राहुल चौधरीले नयाँ सरकार गठन भएसँगै लगानीकर्ताहरूमा सकारात्मक ऊर्जा थपिएको उल्लेख गरे ।

नेपालमा लगानीका प्रचुर अवसरहरू रहेको औंल्याउँदै उनले व्यवसाय प्रवर्द्धनका लागि सरकारको तर्फबाट निरन्तर र यथेष्ट सहयोगको अपेक्षा गरिएको बताए ।

मन्त्रालयमा भएको उक्त महत्वपूर्ण भेटघाटमा सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी, म्यारियट एसिया प्यासिफिक (चीन बाहेक) का अध्यक्ष राजीव मेनन र अर्थमन्त्रीको सचिवालयका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।

Share News