काठमाडौं । देशको प्रशासनिक केन्द्र मानिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत ११ सचिवमध्ये पाँच सचिवहरू अनिवार्य अवकाशको मिति पर्खेर बसेका छन् ।
हाल अतिरिक्त जगेडामा रहेका सचिवहरू कृष्णहरि पुष्कर, लोकनाथ पौडेल, हरिप्रसाद मैनाली, डिल्लीराम शर्मा र गोविन्दप्रसाद शर्मा आगामी असार २४ गतेदेखि भदौ २४ गतेभित्र सरकारी सेवाबाट बिदा हुन लागेका हुन्।
लामो समयदेखि निजामती प्रशासनको उच्च तहमा रहेर काम गरेका यी सचिवहरूले पछिल्लो समय प्रधानमन्त्री कार्यालयको बरन्डामा बसेर अवकाशको दिन कुरिरहेका हुन् ।
अवकाशको शृंखला अनुसार सचिव कृष्णहरि पुष्करले सचिवको पाँच वर्षे कार्यकाल पुरा गरेर असार २४ गते सेवा निवृत्त हुँदैछन् । त्यसपछि लोकनाथ पौडेल साउन ६ गते र हरीप्रसाद मैनाली साउन १९ गते उमेरहदका कारण अनिवार्य अवकाशमा जानेछन् ।
सचिव डिल्लीराम शर्मा भदौ २ गते घर फर्किनेछन् भने गोविन्दप्रसाद शर्मा भदौ २४ गते अवकाशमा जाँदा यो शृंखला पूरा हुनेछ ।
अतिरिक्त समूहमा रहेका अर्का सचिव डण्डुराम घिमिरेको भने अझै करिब १६ महिना सेवा अवधि बाँकी छ । अतिरिक्त समूहमा रहेका सचिवहरूमध्ये उनी अझै लामो सेवा अवधि बाँकी रहेका सचिव हुन् ।