१४ वटा मुद्दा लागेका राजु मिजार पक्राउ, ३ करोड तिर्नुपर्ने फैसलापछि थिए फरार
काठमाडौं । बैंकिङ कसुर तथा चेक अनादरका १४ मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसुर तथा चेक अनादरसम्बन्धी मुद्दामा फरार रहेका राजु मिजारलाई पक्राउ गरेको प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले जानकारी दिए । सीआईबीका सह-प्रवक्ता समेत रहेका खड्काका अनुसार देबी चन्द्र जोशी समेतको जाहेरीले वादी नेपाल सरकार रहेको बैंकिङ कसुर मुद्दामा काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-५ (साबिक विष्णु गा.वि.स.-८) का ४७ वर्षीय राजु मिजारलाई पक्राउ गरिएको हो । काठमाडौं जिल्ला अदालतबाट विभिन्न मितिमा भएका फैसला अनुसार उनीमाथि बैंकिङ कसूरका १२ वटा र चेक अनादरका २ वटा गरी कुल १४ वटा मुद्दा कायम छन् । फैसलाअनुसार उनीमाथि जम्मा बिगो बापत २ करोड ५८ लाख ६२ हजार ७१६ रुपैयाँ, जरिवाना बापत ४३ लाख २३ हजार ५३४ रुपैयाँ र क्षतिपूर्ति बापत १ लाख ७२ हजार ९४१ रुपैयाँ गरी कुल ३ करोड ३ लाख ५८ हजार रुपैयाँ जरिवाना तोकिएको छ । साथै उनलाई ९० दिन कैद सजाय समेत तोकिएको छ । प्रहरीले जेठ २५ गते काठमाडौं महानगरपालिका-४, धुम्बाराहीबाट उनलाई पक्राउ गरेको खड्काले बताए । पक्राउपछि उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको उनको भनाइ छ ।
चेक अनादरमा ग्रेटर नेपालका अध्यक्ष नेपाल डिल्लीबजार कारागार चलान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र नागरिक समाजका अध्यक्ष तथा ग्रेटर नेपाल अभियानका अभियन्ता फणिन्द्र नेपाललाई डिल्लीबजार कारागार पठाइने भएको छ । मंगलबार जिल्ला अदालत काठमाडौंले उनलाई डिल्लीबजार कारागार पठाउन २ वर्षका लागि आदेश दिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार उनलाई बूढानीलकण्ठ नगरपालिका-१०, कटारीबस्ती क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । उनीविरूद्ध जाहेरवाल युवराज खत्री रहेका थिए । अदालतले २०७९ जेठ २५ गते फैसला गरेको थियो । रकम नपाएपछि खत्रीले पुन: गत वैशाख ११ गते बिगो रकम बराबरको कैद भराइ पाउँ भनी अदालतलाई निवेदन दिएका थिए । प्रहरीका अनुसार चेक अनादरसम्बन्धी निवेदन परेपछि उनलाई पक्राउ गरिएको हो । उनलाई २ वर्षको कैद सजाय भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सन्तोष खड्काले जानकारी दिए । अनुसन्धान अघि बढाउने क्रममा उनलाई नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ । संखुवासभाको सभापोखरी स्थायी घर भएका ६७ वर्षीय नेपाल हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका-३, कौशलटारमा बसोबास गर्दै आएका थिए। नेपाल त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक पनि हुन् ।
जेनजी आन्दोलनबाट ध्वस्त सर्वोच्चले साढे ८ करोडमा कम्प्युटर र सिसीटिभी खरिद गर्दै
काठमाडौं । जेनजी आन्दोलनका क्रममा क्षति पुगेको सर्वोच्च अदालतले साढे ८ करोड रुपैयाँ बराबरका आईटी (सूचना प्रविधि) तथा सुरक्षा उपकरण खरिद गर्ने भएको छ । अदालतका अनुसार ८ करोड ३५ लाख ९६ हजार रुपैयाँका डेस्कटप कम्प्युटर, ल्यापटप र सिसीटिभी क्यामेरा खरिद गर्ने भएको हो । उक्त सामाग्री खरिदका लागि अदालतले सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम बोलपत्र आह्वान गरेको थियो । जसमा स्टार अफिस इन्टरनेशनलले ३ करोड ८५ लाख ५१ हजार ८७१ रुपैयाँमा कम्प्युटर (डेस्कटप) र २ करोड ५८ लाख ९२ हजार ८२० रुपैयाँ ल्यापटप आपूर्ति गर्ने भएको छ । त्यस्तै, ग्रन्था नेटवर्क्स प्रालिले १ करोड ९१ लाख ५२ हजार रुपैयाँ सिसिटिभी आपूर्ति गर्ने भएको छ । प्राप्त बोलपत्रहरूको मूल्यांकनपछि न्यूनतम् मूल्यमा बोलपत्र पेश गरेका कम्पनीलाई छनोट गरिएको सर्वोच्च अदालतले जनाएको छ ।