अर्थमन्त्रीले राजीनामा दिनुपर्छ : सांसद ओली
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले बीवाईडी प्रकरणबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद् र जनतासमक्ष स्पष्ट जवाफ दिनुपर्ने बताएकी छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । ‘बीवाईडी गाडी आयात प्रकरणमा अर्थमन्त्रीले आफ्नो भूमिका र जिम्मेवारीबारे स्पष्ट जवाफ दिनुपर्छ । निष्पक्ष छानबिनका लागि उहाँ तत्काल जिम्मेवारीबाट अलग हुनुपर्छ,’ उनले भनिन् ।
कांग्रेसमा ४ लाख २३ हजारभन्दा बढीले गरे सदस्यता अद्यावधिक
काठमाडौं । नेपाली कांग्रेसले हालसम्म ४ लाख २३ हजार २३७ जना क्रियाशील सदस्यले सदस्यता अद्यावधिक गरिसकेको जनाएको छ । पार्टीका महामन्त्री प्रदीप पौडेलका अनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ सदस्यमध्ये उक्त संख्याका सदस्यले एनसीआईडी प्राप्त गरी सदस्यता अद्यावधिक प्रक्रिया पूरा गरेका छन् । उनले १ लाख १ हजार ३०९ जनाले अद्यावधिक फारम पेस गरेर प्रक्रिया अगाडि बढाइरहेको जानकारी दिए । यद्यपि, अझै २ लाख ५७ हजार ६६३ सदस्यले आफ्नो विवरण अद्यावधिक गर्न बाँकी रहेको उनले बताए । महामन्त्री पौडेलले सदस्यता अद्यावधिकको समयसीमा सकिन अब दुई दिन मात्र बाँकी रहेको उल्लेख गर्दै प्राविधिक वा अन्य कुनै कारणले छुटेका सबै इच्छुक सदस्यलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा विवरण अद्यावधिक गर्न आग्रह गरेका छन् । उनले पार्टीका अग्रज नेता, विभिन्न तहका पदाधिकारी तथा अगुवा कार्यकर्तालाई आफूले सदस्यता अद्यावधिक गर्नुका साथै आफ्नो कार्यक्षेत्रभित्र रहेका अन्य क्रियाशील सदस्यलाई पनि यस प्रक्रियामा सहभागी गराउन सक्रिय भूमिका निर्वाह गर्न अपिल गरेका छन् । पौडेलले प्रविधिमा आधारित संगठन निर्माण र व्यवस्थित सूचना प्रणाली विकास गर्ने पार्टीको महाअभियानमा सबै नेता–कार्यकर्ता तथा सदस्यलाई साथ दिन आग्रह गरेका छन् । यसैबीच, पार्टीले सञ्चालन गरिरहेको सदस्यता अद्यावधिक अभियानप्रति पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला निकट समूहका केही नेताहरूले असन्तुष्टि जनाउँदै आएका छन् । सोही कारण करिब दुई लाख सदस्यले अझै सदस्यता अद्यावधिक नगरेको बताइए पनि संस्थापन पक्षले भने शीर्ष नेताबाहेक इतर पक्षका अधिकांश नेताहरूले सदस्यता अद्यावधिक गरिसकेको दाबी गरेको छ ।
एमाले पुनर्गठन कार्यदलको पहिलो बैठकमा ओली स्वयं सहभागी
काठमाडौं । नेकपा एमालेले गठन गरेको पार्टी पुनर्गठन कार्यदलको पहिलो बैठकमा अध्यक्ष केपी शर्मा ओली स्वयं सहभागी भएका छन् । पार्टीभित्र नेतृत्व हस्तान्तरण र पुस्तान्तरणबारे बहस चलिरहेका बेला ओलीको कार्यदल बैठकमा उपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा मंगलबार सुरु भएको बैठकमा कार्यदलका संयोजक तथा उपाध्यक्ष रामबहादुर थापा सहित उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल र पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा तथा महासचिव शंकर पोखरेललगायत शीर्ष नेताहरू सहभागी छन् । एमाले कार्यालय सचिव डा. भीष्मराज अधिकारीका अनुसार कार्यदलले पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा थप एकताबद्ध, सुदृढ र प्रभावकारी बनाउने उद्देश्यका साथ पुनर्गठनसम्बन्धी कार्ययोजना तयार गर्नेछ । उनका अनुसार कार्यदलले संगठन सुदृढीकरण, रूपान्तरण तथा पार्टी संरचनालाई समयानुकूल बनाउने विषयमा अध्ययन गरी आवश्यक सुझावसहितको प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएको छ । एमालेले पछिल्लो समय देखिएका राजनीतिक तथा संगठनात्मक चुनौतीहरूको समीक्षा गर्दै पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्ने लक्ष्यसहित उक्त कार्यदल गठन गरेको हो । पहिलो बैठकले कार्यदलको कार्यविधि, प्राथमिकता र आगामी कार्ययोजनाबारे छलफल गर्ने जनाइएको छ ।