एमाले पुनर्गठन कार्यदलको पहिलो बैठकमा ओली स्वयं सहभागी

काठमाडौं । नेकपा एमालेले गठन गरेको पार्टी पुनर्गठन कार्यदलको पहिलो बैठकमा अध्यक्ष केपी शर्मा ओली स्वयं सहभागी भएका छन् । पार्टीभित्र नेतृत्व हस्तान्तरण र पुस्तान्तरणबारे बहस चलिरहेका बेला ओलीको कार्यदल बैठकमा उपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा मंगलबार सुरु भएको बैठकमा कार्यदलका संयोजक तथा उपाध्यक्ष रामबहादुर थापा सहित उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल र पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा तथा महासचिव शंकर पोखरेललगायत शीर्ष नेताहरू सहभागी छन् ।

एमाले कार्यालय सचिव डा. भीष्मराज अधिकारीका अनुसार कार्यदलले पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा थप एकताबद्ध, सुदृढ र प्रभावकारी बनाउने उद्देश्यका साथ पुनर्गठनसम्बन्धी कार्ययोजना तयार गर्नेछ ।

उनका अनुसार कार्यदलले संगठन सुदृढीकरण, रूपान्तरण तथा पार्टी संरचनालाई समयानुकूल बनाउने विषयमा अध्ययन गरी आवश्यक सुझावसहितको प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएको छ ।

एमालेले पछिल्लो समय देखिएका राजनीतिक तथा संगठनात्मक चुनौतीहरूको समीक्षा गर्दै पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्ने लक्ष्यसहित उक्त कार्यदल गठन गरेको हो । पहिलो बैठकले कार्यदलको कार्यविधि, प्राथमिकता र आगामी कार्ययोजनाबारे छलफल गर्ने जनाइएको छ ।

Share News