महँगी २.२७ प्रतिशतले बढ्यो
काठमाडाैं । उपभोक्ता मुद्रास्फीति (महँगी) ५.०४ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको वैशाख महिनामा यस्तो महँगी २.७७ प्रतिशत रहेको थियो । अघिल्लो आवको सोही अवधिको तुलनामा महंगी २.२७ प्रतिशतले बढेको हाे। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.६३ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः १.५२ प्रतिशत र ३.४५ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८२/८३ को दश महिनाको औसत मुद्रास्फीति २.६६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.३९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत फलफूल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्ग १८.६० प्रतिशत, घ्यू तथा तेलको १३.९९ प्रतिशत, तरकारीको ५.४० प्रतिशत र माछा तथा मासुको ४.१६ प्रतिशतले बढेको छ। दाल तथा गेडागुडी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.६७ प्रतिशत र मरमसलाको ०.६५ प्रतिशतले घटेको छ । गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्ग १९.९० प्रतिशत, यातायातको १५.३० प्रतिशत, शिक्षाको ५.५४ प्रतिशत, मदिराजन्य पेय पदार्थको ४.७७ प्रतिशत र कपडा तथा जुत्ताचप्पलको ४.७३ प्रतिशतले बढेको छ । समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्ग ४.३५ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.२९ प्रतिशतले बढेको छ । प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.६४ प्रतिशत, मधेश प्रदेशको ५.४७ प्रतिशत, बागमती प्रदेशको ४.५५ प्रतिशत, गण्डकी प्रदेशको ४.८६ प्रतिशत, लुम्बिनी प्रदेशको ५.३१ प्रतिशत, कर्णाली प्रदेशको ४.८८ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ४.६५ प्रतिशत रहेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९० प्रतिशत, तराईको ५.५९ प्रतिशत, पहाडको ४.७३ प्रतिशत र हिमालको ३.७३ प्रतिशत रहेको छ ।
४८ दिनपछि सुधनको गृह मन्त्रालयमा ‘कमब्याक’
काठमाडौं । विभिन्न विवादमा परेपछि राजीनामा दिएका सुधन गुरुङ ४८ दिनपछि पुनः गृहमन्त्रीका रूपमा सिंहदरबार फर्किएका छन् । गत वैशाख ९ गते पदबाट राजीनामा दिएका गुरुङले जेठ २६ गते (मंगलबार) पुनः गृहमन्त्रालयको कमाण्ड सम्हालेका हुन् । गत वर्षको चैत १३ गते पहिलो पटक गृहमन्त्री बनेका गुरुङ सम्पत्ति विवरण, सेयर स्वामित्व र आर्थिक कारोबार लगायतका विषयमा विवादमा मुछिएका थिए । विवाद चर्किएपछि उनले पदबाट राजीनामा दिएका थिए । गुरुङको राजीनामालगत्तै सरकारले उनीमाथि लागेका आरोपहरूको छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गरेको थियो । उक्त समितिले गुरुङको सम्पत्ति, सेयर स्वामित्व र समग्र आर्थिक कारोबारको विस्तृत अध्ययन गरेको थियो । समितिले गुरुङमाथि लागेका आरोपहरूमा कुनै गम्भीर अनियमितता नदेखिएको निष्कर्ष निकाल्दै सरकारलाई प्रतिवेदन बुझाएको छ । छानबिन समितिले आरोपबाट मुक्त गरेकै आधारमा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले उनलाई पुनः मन्त्रीमण्डलमा समेट्दै गृहमन्त्रालयको जिम्मेवारी सुम्पिएका हुन् । समितिको प्रतिवेदनकै आधारमा मन्त्री गुरुङले सफाइ पाएर मन्त्रालयमा कमब्याक गरे पनि उक्त छानबिन प्रतिवेदन भने अझै सार्वजनिक गरिएको छैन । प्रतिवेदन सार्वजनिक नभएकाले यसको पूर्ण विवरण र समितिको ठोस निष्कर्षबारे सर्वसाधारणमा अझै कौतुहलता कायम छ । पहिलो पटक मन्त्री बनेको २७ औं दिनमै गुरुङले राजीनामा दिएका थिए । पहिलो पटक मन्त्रिपरिषद् गठन हुँदा तेस्रो मर्यादाक्रममा रहेका गुरुङ त्यसपछि मर्यादाक्रम परिवर्तन हुँदा उनी पाँचौँ स्थानमा परेका थिए । यद्यपि अहिले पनि उनी पाँचौं स्थानमै रहेका छन् । गत वर्षको फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखा १ बाट विजयी भएका गुरुङ जेनजी आन्दोलनपछि राजनीतिक वृत्तमा चिनिएका हुन् । उनी त्यसअघि उनी ‘हामी नेपाल’ नामक संस्थाका अध्यक्ष थिए । जेनजी आन्दोलनको पहिलो दिन उनले सञ्चारमाध्यममा ‘म स्वयंसेवकका रूपमा पानी बाँड्न आएको हुँ’ भन्ने अभिव्यक्ति दिएका थिए । गुरुङमाथि ‘फ्री तिब्बत’ अभियानसँग जोडिएका संस्थासँगको सहकार्य, ‘टीओबी’को आरोप पनि लाग्दै आएको थियो ।
सुधनलाई पाँचौं र महावीरलाई आठौं वरीयता
काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ ग्रहणसँगै मन्त्रिपरिषद्को वरीयताक्रम पनि निर्धारण गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथपछि सार्वजनिक गरिएको मन्त्रिपरिषद्को वरीयताक्रमअनुसार गृहमन्त्री गुरुङ पाँचौं र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री पुन आठौं स्थानमा रहेका छन् । शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री, सभामुख, मन्त्रीहरू, उच्चपदस्थ सरकारी अधिकारी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गोरखा-१ बाट निर्वाचित सांसद हुन् भने पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित सांसद हुन् । दुवै मन्त्रीका लागि यो सरकारमा दोस्रो कार्यकाल हो । गुरुङ यसअघि पनि गृहमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् भने पुनले अघिल्लो कार्यकालमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्व गरेका थिए । यस्ताे छ वरियता