ट्राफिक कारबाहीमा एकैदिन २० लाख २१ हजार राजस्व संकलन
काठमाडौं । बितेका २४ घण्टामा दुई हजार २९७ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २० लाख २१ हजार रुपैयाँ राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १३४, सङ्केत बत्ती उल्लङ्घनकर्ता १०२ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १०८ जनालाई कारबाही गरिएको हो । यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १४१, निषेधित क्षेत्रमा हर्न बजाउने १८६, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १५८, एकतर्फी सडकमा सवारी चलाउने ७७ र अन्य सवारी नियम पालना नगरेका एक हजार २८८ जनालाई कारबाही गरिएको हो ।
‘दुई अर्ब होइन, दुई रुपैयाँमात्रै बेइमानी गरेको प्रमाण दिनूस्, राजनीति छाडिदिन्छु’
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौती दिएका छन् । बिहीबार संसदको सार्वजनिक लेखा समितिमा आयोजित छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । नैतिकताको उच्च कडीमा उभिएर बनाएको छवि धमिल्याउन नियोजित रूपमा मानिसहरू लागेको र बदनाम गर्ने प्रयास गरेको उनको आरोप छ । अर्थमन्त्रीले भने, ‘दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनूस्, अर्थमन्त्री र राजनीति मात्रै होइन, सार्वजनिक जीवन नै त्यागिदिन्छु । यो नैतिकता अन्य कोही संसद वा राजनीति गर्नेहरूमा छ ?’
कांग्रेसको गतिरोध फुकाउन 'साझा संयन्त्र' गठन प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र देखिएका मतभेद अन्त्य गर्दै १५ औं महाधिवेशन निष्पक्ष, पारदर्शी र सबै पक्षको स्वामित्व हुने बनाउन छोटो समयका लागि साझा सहमतिको संयन्त्र गठन गर्न प्रस्ताव गरेका छन् । आफ्नो निवासमा बिहीबार (आज) आयोजित पत्रकार सम्मेलनमा महतले १४ औं महाधिवेशनबाट आएको कार्यसमिति र गत पुसमा भएको विशेष महाधिवेशनबाट बनेको संरचनालाई समन्वय गर्दै दुवै पक्षबीचको विवाद समाधान गर्न यस्तो संयन्त्र आवश्यक रहेको बताएका हुन् । उनका अनुसार पार्टीभित्र देखिएका असमझदारी अन्त्य गरी बृहत्तर एकता कायम गर्न वर्तमान नेतृत्वले अग्रसरता लिनुपर्ने र यसका लागि सभापति गगनकुमार थापाबाट पहल हुनु आवश्यक छ । महतले भने, ‘फाट्टफुट्ट भेटघाटले मात्र समस्या समाधान हुँदैन, दुवै पक्ष बसेर स्पष्ट समझदारी गर्नुपर्छ ।’ उनका अनुसार उनको पक्षले कुनै पदको भागबन्डा नखोजेको तर १५ औं महाधिवेशन निष्पक्ष हुने आधार र विश्वासको वातावरण चाहिन्छ । महतले प्रस्तावित संयन्त्रमार्फत मुख्यतः तीनवटा विषय समाधान गर्नुपर्ने आवश्यकता औँल्याए । उनका अनुसार पहिलो, १५ औँ महाधिवेशनको निष्पक्षता र पारदर्शितासँग सम्बन्धित विषय सुनिश्चित गर्नु हो । दोस्रो, लामो समयदेखि विवादित रहेको क्रियाशील सदस्यता व्यवस्थापन गरेर टुंग्याउनु र तेस्रो, विधान संशोधनसम्बन्धी विषयमा सहमति कायम गर्नु रहेको छ । महतका अनुसार क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियामा देखिएको अन्योल अन्त्य गर्न पनि दुवै पक्षबीच संवाद आवश्यक छ । उनले केन्द्रले जिल्लास्तरबाट विवरण संकलन गरी डिजिटल रूपमा अद्यावधिक गर्न सक्ने विकल्पसमेत प्रस्तुत गरे । नेता महतले पार्टीभित्र संवादको अभावले असमझदारी बढेको भन्दै तत्काल बृहत एकताको प्रयास आवश्यक रहेको दोहोर्याए । साथै विभिन्न विवाद र अन्यौलका कारण केही नेता तथा कार्यकर्ता पार्टी छोड्ने अवस्थामा पुगेको महतको दाबी छ । महतले पार्टी एकताकै पक्षमा आफूहरू रहेको स्पष्ट पार्दै सबै पक्षलाई सहमति र सहकार्यमार्फत १५ औं महाधिवेशनलाई सर्वस्वीकार्य बनाउने वातावरण निर्माण गर्न आग्रह पनि गरे ।