काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग आसपासका क्षेत्रमा बनेका जनताका निजी घर नभत्काउन सरकारको ध्यानाकर्षण गराएकी छन् ।
बैठकको आकस्मिक समयमा उनले उक्त राजमार्गका किनारमा बनेका घर तथा त्यहाँ सञ्चालन भएका होटललगायत व्यवसाय प्रभावित हुने भएकाले जनताका घर तथा उनीहरूलाई बेरोजगार हुनबाट जोगाउन ती घर नभत्काउन आग्रह गरेकी हुन् ।
'वर्षायाम सुरु हुन लाग्यो, जनता घर भत्किने चिन्तामा छन्, उनीहरूको रोजगारी गुम्ने अवस्था छ', उनले भनिन्, 'सडक विभागको सूचनाले उनीहरू त्रसित छन् । नागरिकका निजी घर भत्काउने निर्णय फिर्ता लिनुपर्छ ।'
सांसद नीता घतानीले काठमाडौंमा दलितमाथि भएको विभेदको विरोध गरिन् भने अर्का सांसद ज्ञानबहादुर शाहीले महालेखा परीक्षकको प्रतिवेदनमा औँल्याइएका अनियमितता छानबिन गर्न माग गरिन् ।
सांसद यशोदाकुमारी बरालले कर्णाली राजमार्गका विभिन्न स्थान भत्किँदा सडक अवरुद्ध भएकाले यातायातका साधन सञ्चालनका निम्ति अविलम्ब सडक मर्मतसम्भार गर्नुपर्नेमा जोड दिइन् ।