डा. श्यामराज रेग्मीले गरे ३३ हजार बिरामीको मुटुको शल्यक्रिया
चितवन । चिकित्सा विज्ञानको क्षेत्रमा मुटुरोगको परीक्षण तथा उपचार विधिलाई तुलनात्मक रुपमा संवेदनशील र महँगो मानिन्छ । विशेषगरी जनचेतना र पेसाप्रति समर्पित एवं दक्ष चिकित्सकको अभाव र महँगा उपकरणका कारण मुटुरोगको परीक्षण तथा उपचारलाई तुलनात्मक रुपमा जटिल र महँगो रुपमा लिइन्छ । पछिल्ला दिनमा मुटुरोगका क्षेत्रमा देखिएको जनचेतना, अहोरात्र क्रियाशील दक्ष चिकित्सक र आधुनिक उपकरणसहित सुविधासम्पन्न अस्पताल सञ्चालन भएसँगै उपचार सहज भएको छ । यसै सन्दर्भमा मुटुरोग उपचारका क्षेत्रमा काठमाडौं र चितवनमा करिब २५ वर्ष सेवा गरी उदाहरणीय व्यक्तित्व बन्न सफल प्रा. डा. श्यामराज रेग्मीले हृदयाघातको लक्षण थाहा पाउनासाथ यथासक्य छिटो अस्पताल पुगी धनजनको नोक्सानी हुनबाट जोगिन सबैसँग अनुरोध गरेका छन् । करिब साढे दुई दशकको आफ्नो सेवाअवधिमा करिब ३३ हजार बिरामीको मुटुको शल्यक्रिया गरी बिरामीलाई राहत दिन सफल भएकामा गर्व गर्दै प्रा. डा. रेग्मीले हरेक वर्ष मुटुको परीक्षण गर्न र मुटु दुख्नासाथ ‘क्याथल्याब’ सुविधा भएको अस्पताल पुग्न पनि अनुरोध गरेका छन् । हाल भरतपुरस्थित चितवन मेडिकल कलेज (सिएमसी) मा कार्यरत प्रा. डा. रेग्मीले अहिलेसम्म ३२ हजार ६६९ जनाभन्दा बढी बिरामीको मुटुको शल्यक्रिया गरी समाजमा आफूलाई एक समर्पित एवं उदाहरणीय चिकित्सकका रुपमा स्थापित भएका छन् । विसं २०२३ मा पर्वतमा जन्मिएका रेग्मीले काठमाडौंस्थित महारागजञ्ज क्याम्पसबाट एमबिबिएस अध्ययन पूरा गरी बङ्गलादेशको ढाकाबाट मुटुरोग विषयमा स्नातकोत्तर (एमडी) उपाधि हासिल गरेका डा. रेग्मीले अहिलेसम्म करिब ३३ हजार बिरामीको मुटुको शल्यक्रिया गरेको बताए । बाँसबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृृदय रोग केन्द्रबाट सेवा प्रारम्भ गरेका डा. रेग्मी हाल कार्यरत ‘सिएमसी’मा समेत गरी करिब ३३ हजार बिरामीको मुटुको शल्यक्रिया गरी उदाहरणीय चिकित्सक बन्न सफल भएका हुन् । मुटुसँग सम्बन्धित रोगको उपचारका लागि चितवनसहित आसपासका क्षेत्रमा सबैको रोजाइमा डा रेग्मी पर्न सफल भएका छन् । लामो समयको प्रयासपछि रासससँगको सङ्क्षिप्त कुराकानीमा प्रा.डा. रेग्मीले प्रचारभन्दा पनि सेवाप्रति समर्पित भई काम गर्ने आदत रहेकाले ‘मिडिया’मा खासै आउन नचाहेको स्पष्ट गरे । डा. रेग्मीले भने, 'गङ्गालाल अस्पतालमा रहँदा दुई हजार ५०० भन्दा बढी जन्मजात मुटुपीडित बालबालिकाको ‘एनजिओग्राम’ गरियो । यसैगरी दुई हजारभन्दा बढीको मुटुको ‘भल्व’ खोल्ने र १० हजारभन्दा बढीको ‘कोरोनरी एनजिओग्राफी’ गरी सेवा प्रदान गरियो ।' बाँसबारीस्थित गङ्गाल अस्पतालमा मुटुको धमनीबाट पाइप छिराएर ‘इन्टरभेन्सन कार्डियोलोजी’ प्रविधिबाट शल्यक्रिया सुरु गरेको उनले जानकारी दिए । विशेषगरी काठमाडौं उपत्यका बाहिरका बिरामीको सेवालाई प्राथमिकता दिँदै २०६९ काठमाडौं छोडी भरतपुरस्थित चितवन मेडिकल कलेज ‘सिएमसी’ पुगेका डा. रेग्मीले यसबीचमा १८ हजार १६९ जनाको मुटुको शल्यक्रिया गरेको बताए । डा. रेग्मीको नेतृत्वमा सिमसीमा ‘एनजिओग्राफी’ ‘एनजिओप्लास्टी’, पेसमेकर राख्ने, ‘पिटिएमसी’, मुटुको पानी तान्नेलगायतका काम विशेष उपकरण र प्रविधिको सहयोगमा मुटु नचिरिकन शल्यक्रिया हुनेगरेको अस्पताल प्रशासनले जनाएको छ । 'अस्पतालको आकस्मिक कक्षमा आउने हृदयघात पीडित बिरामीको यथासक्य छिटो शल्यक्रिया गरी धमनी खोल्ने काम गरिन्छ । मुटु रोगका बिरामीमध्ये करिब ७० प्रतिशत बिरामीको धमनी खोल्ने काम हुन्छ ।' प्रा. डा. रेग्मीले भने, 'हृदयघातको आशङ्का छ भने यथासक्य छिटो ‘क्याथल्याब’ सुविधा भएको अस्पतालमा पुर्याउनुपर्छ । अन्तरराष्ट्रिय मान्यताअनुसार आकस्मिक कक्षमा आएका त्यस्ता बिरामीलाई ९० मिनेटभित्र ‘क्याथल्याब’मा लगेर मुटु खोल्नुपर्छ भन्ने रहेको छ ।' छाती दुखेर बहिरङ्ग सेवामा आउने बिरामीको सबैभन्दा पहिला ‘टिएमटि (ट्रेडमिल टेष्ट)’ गरेर मुटुमा कुनै समस्या देखिए ‘एनजिओग्राफी’ गरी नसा खोली उपचार प्रक्रिया अघि बढाउँदै आएको सिएमसीमा बाहिरका अस्पतालबाट ‘रिफरल’ भएर पनि मुटुका बिरामी आउने गरेको उनले स्पष्ट गरे । डा. रेग्मीले भने, 'मुटुमा तीन वटा मुख्य नसा हुन्छन् । कतिवटामा कस्तो समस्याअर्थात् रोकावट छ, त्यसको यकिन गरी उपचार गरिन्छ । मुटुमा पीडा हुनासाथ अस्पताल आउने बिरामीको उपचार सहज छ । ढिलो आउँदा समस्या जटिल भई खर्च धेरै हुने र बचाउन पनि कठिन हुने भएकाले हृदयघातको लक्षण थाहा पाउनासाथ अस्पताल जान सबैसँग विनम्र अनुरोध छ ।' विशेषगरी चुरोट, सुर्तीजन्य पदार्थ र मादकपदार्थ सेवन गर्ने व्यक्ति तथा मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोल भएका बिरामीलाई हरेक वर्ष मुटुको परीक्षण गर्न उनको सुझाव छ । देव्रे पट्टीको छाती दुखेमा वा कहिलेकाहीँ ग्यास्ट्रिकले जस्तो पेट दुख्ने तर ग्यास्ट्रिकको औषधिले निको नभएमा मुटुको समस्या हुनसक्ने जानकारी दिँदै डा. रेग्मीले त्यस्ता बिरामीलाई परीक्षणका लागि अस्पताल जान सुझाव दिए । उनले भने, 'सहनै नसक्ने गरी छाती दुख्यो भने पनि यथासक्य छिटो ‘क्याथल्याब’ भएको अस्पताल पुग्न अनुरोध छ, अन्यथा धनजनको नोक्सानीसहित अपुरणीय क्षति व्यहोर्नुपर्ने हुनसक्छ ।' रासस
महाधिवेशनअघि काँग्रेसमा सहमतिको पहल तीव्र, प्रवक्ता चालिसे भन्छन् - विधान सर्वोपरि हुन्छ
काठमाडौं । नेपाली काँग्रेसले पार्टी विधानले तोकेको सीमाभित्र रहेर नेताहरूको व्यवस्थापन तथा आन्तरिक समायोजनमा कुनै समस्या नरहेको स्पष्ट पारेको छ । महाधिवेशन नजिकिँदै जाँदा देखिएका आन्तरिक मतभेद र नेतृत्व व्यवस्थापनसम्बन्धी बहसबीच पार्टीले संवाद र सहमतिको माध्यमबाट समाधान खोज्ने संकेत दिएको हो । पूर्व प्रवक्ता प्रकाशशरण महतले हाल पार्टीभित्र देखिएका मतभेद अन्त्य गर्दै १५औँ महाधिवेशनलाई निष्पक्ष, पारदर्शी र सबै पक्षको स्वामित्व रहने बनाउन छोटो समयका लागि साझा सहमतिको संयन्त्र गठन गर्न प्रस्ताव गरेका छन् । उक्त प्रस्तावसँगै काँग्रेसभित्र आन्तरिक छलफल थप सक्रिय बनेको छ । यसैबीच पार्टी प्रवक्ता देवराज चालिसेले पार्टीलाई सुदृढ बनाउन सबै पक्षलाई समेटेर अघि बढ्न काँग्रेस तयार रहेको बताएका छन् । तर उनले विधानविपरीत जाने कुनै पनि अतिरिक्त माग स्वीकार्य नहुने स्पष्ट पारेका छन् । विकासन्युजसँग प्रतिक्रिया दिँदै प्रवक्ता चालिसेले भने, 'पार्टीलाई सुदृढीकरण गर्न अर्को पक्षलाई समेट्न तयार छौँ, तर विधान मिच्ने गरी अतिरिक्त माग राख्नु हुँदैन । विधानले दिएको तहसम्म पार्टी लचक हुन्छ ।' उनका अनुसार पार्टीले विधानले निर्धारण गरेको संरचना र अनुशासनभित्र रहेर नेताहरूको समायोजन गर्ने विषयमा कुनै कञ्जुस्याइँ गर्ने छैन । तर सबै प्रक्रिया पार्टी विधान र अनुशासनको दायराभित्र मात्र हुने उनले दोहोर्याए । महाधिवेशनको तयारीसँगै काँग्रेसभित्र नेतृत्व, प्रतिनिधित्व र संगठनात्मक संरचनाबारे बहस चुलिएको छ । यद्यपि नेताहरूले आन्तरिक असहमति समाधान गर्दै एकताबद्ध रूपमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याइरहेका छन् । यसैबीच महाधिवेशनको पूर्वसन्ध्यामा आएको सहमतिको संयन्त्र गठनको प्रस्तावले पार्टीभित्रको शक्ति सन्तुलन र नेतृत्व व्यवस्थापनबारे नयाँ बहस सुरु गरेको छ । काँग्रेसले लिएको लचकता र विधानअनुसारको व्यवस्थापनको सन्देशले आगामी महाधिवेशनको राजनीतिक माहोल थप निर्णायक बन्ने संकेत देखिएको छ ।
प्रतिनिधिसभा : जनताका घर नभत्काउन आग्रह
काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग आसपासका क्षेत्रमा बनेका जनताका निजी घर नभत्काउन सरकारको ध्यानाकर्षण गराएकी छन् । बैठकको आकस्मिक समयमा उनले उक्त राजमार्गका किनारमा बनेका घर तथा त्यहाँ सञ्चालन भएका होटललगायत व्यवसाय प्रभावित हुने भएकाले जनताका घर तथा उनीहरूलाई बेरोजगार हुनबाट जोगाउन ती घर नभत्काउन आग्रह गरेकी हुन् । 'वर्षायाम सुरु हुन लाग्यो, जनता घर भत्किने चिन्तामा छन्, उनीहरूको रोजगारी गुम्ने अवस्था छ', उनले भनिन्, 'सडक विभागको सूचनाले उनीहरू त्रसित छन् । नागरिकका निजी घर भत्काउने निर्णय फिर्ता लिनुपर्छ ।' सांसद नीता घतानीले काठमाडौंमा दलितमाथि भएको विभेदको विरोध गरिन् भने अर्का सांसद ज्ञानबहादुर शाहीले महालेखा परीक्षकको प्रतिवेदनमा औँल्याइएका अनियमितता छानबिन गर्न माग गरिन् । सांसद यशोदाकुमारी बरालले कर्णाली राजमार्गका विभिन्न स्थान भत्किँदा सडक अवरुद्ध भएकाले यातायातका साधन सञ्चालनका निम्ति अविलम्ब सडक मर्मतसम्भार गर्नुपर्नेमा जोड दिइन् ।