बल, बुद्धि र शक्तिका प्रतीक हनुमान जन्मजयन्ती मनाइँदै, सङ्कटबाट मुक्ति दिलाउने
काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि, विद्या मिल्ने, दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ । यस अवसरमा हनुमानढोकास्थित हनुमानको मूर्ति, पशुपतिस्थित हनुमान मन्दिर, गोकर्णेश्वर नगरपालिकामा रहेको पञ्चमुखी हनुमानलगायत देशभरका हनुमान मन्दिरमा विशेष पूजा आराधना गरिन्छ । हनुमानढोका दरबारको नासलचोकनजिकै रहेको पञ्चमुखी हनुमान मन्दिरमा भने पुजारीले मात्र पूजा आराधना गर्ने चलन छ । संस्कृत व्याकरणअनुसार ‘हनु’ धातुमा ‘मतुप’ प्रत्यय लागेर हनुमान शब्द बनेको छ । हनुको अर्थ चिउँडो हो । यो हन् धातुबाट बनेको छ । ‘हन्’ धातुको अर्थ हिंसा अथवा गति भन्ने हुन्छ । अतः हनुमान शब्दको अर्थ वेगवान् गतियुक्त शक्ति भन्ने हुन्छ । हनुको अर्को अर्थ आज्ञापालक पनि भनिएको छ । त्यसैले पनि हनुमान भगवान रामभक्त थिए भनिन्छ । भगवान रामको जीवनमा भएका घटनाले हनुमानको व्यक्तित्वलाई सर्व प्रतिष्ठित ‘देव’ बनाइदिएको शास्त्रमा उल्लेख छ । भय मनुष्यको मूलभूत प्रवृत्ति हो । दुष्ट आत्माको प्रकोपबाट बचाउने वाला शक्तिको नाम हनुमान हो । पहिले बाँदरको नाम स्मरण वा दर्शन अशुभ मानिन्थ्यो । हात्तीलाई शुभ मानिन्थ्यो । हनुमानलाई ‘मङ्गलमूरत’का रूपमा अथवा सङ्कट मोचकको रूपमा पूजन गर्न थालियो । त्यसकारण बच्चादेखि बूढासम्म सबैले भयबाट मुक्तिका लागि ‘हनुमान चालिसा’को पाठ गर्ने परम्परा सुरु भएको जानकारहरू बताउँछन् । हनुमानलाई वायुका छोरा मानिन्छ । हनुमानले जुनसुकै रूप धारण गर्न सक्ने विश्वास गरिन्छ । शत्रुद्र संहितामा एकादश रुद्रमध्ये एघारौँ रूप हनुमानको मानिएको छ । रुद्रहरू हनुमान सम्प्रदायको विकास हुनुपूर्व नै अस्तित्वमा आइसकेको बताइन्छ । यसरी रामायणभन्दा पूर्व हनुमानको अस्तित्व रहेको शास्त्रीय मत छ । रामायण नै हनुमानका बारेमा जानकारी दिने सबभन्दा आधिकारिक स्रोत हो । वैदिक शास्त्रीय ग्रन्थमा पनि विष्णु अवतारका रूपमा जन्म लिनुभएका रामचन्द्रलाई सहयोग गर्न शिव अवतारका रूपमा हनुमानले पनि जन्म लिनुभएको वर्णन गरिएको छ । स्कन्द पुराणको अवन्तिखण्डमा हनुमानभन्दा जगत्मा ठूलो प्राणी कोही छैन भन्ने व्याख्या गरिएको छ । परब्रह्म, उत्साह, मति, प्रताप, सुशीलता, माधुर्य, नीति, गाम्भीर्य, चातुर्य, सुवीर्य, धैर्य आदि क्षेत्रमा हनुमानभन्दा अर्को ठूलो कोही पनि छैन भनी वर्णन गरिएको छ । यस अवसमरमा आज स्त्री पुरुष बाल वृद्ध सबैले पवित्र नदीमा स्नान गरी व्रत एवं पूजाआराधना गर्दछन् । हनुमानलाई बजरङ्ग बलि पनि भनिन्छ, किनकि हनुमानको शरीर एक वज्रको समान थियो । हनुमान पवनपुत्रका रूपमा चिनिन्छन् । पाँचमुखी, अत्यन्त तेजस्वी पराक्रमी, पञ्चतत्व र पञ्चरुद्र स्वरूपी, अति भयानक रौद्ररूपी हनुमानको ध्यान गर्नाले सबै काम पूर्ण हुन्छन् भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटा बताउनुहुन्छ । हनुमानको पूजाआराधना गरेमा रोगव्याधि, बाधा, राजाको भय, प्राकृतिक शक्तिको बाधा, पिचासी शक्ति, भूत, नकारात्मक तत्व, बतास, खोला, आगो, राक्षसी शक्तिको प्रकोप र बेतालबाट पनि मुक्ति पाइन्छ भन्ने मान्यता छ । हनुमानले भक्तियोग र कर्मयोगद्वारा रामको निकटता प्राप्त गर्नुभएको थियो । वैष्णव सम्प्रदायमा हनुमानलाई विभिन्न यौगिक शक्ति प्राप्तिका लागि पनि पूजा गर्ने चलन छ । आठ प्रकारका यौगिक शक्ति अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्रकाम्य, इशित्व र वशित्व हनुमानमा थिए । हनुमानलाई परब्रह्म र रौद्ररूपमा पनि स्मरण गरिन्छ । हनुमानको मूर्तिमा सिन्दूर लगाइएको हुन्छ । सिन्दूरले हड्डी एवं मांसलाई सुसङ्गठित शरीर निर्माणमा भूमिका खेल्दछ । यस अवसरमा आज देशभरका हनुमान मूर्ति एवं मन्दिरमा पूजाआराधना गर्नाका साथै शोभायात्रा निकाल्ने गरिएको छ । मङ्गलबार र शनिबार हनुमानको विशेष आराधना गर्ने गरिन्छ ।
प्रधानमन्त्री बालेनलाई रूसी प्रधानमन्त्रीको बधाई, सम्बन्ध अझ सुदृढ हुने विश्वास
काठमाडौं । बालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले हार्दिक बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई बुधबार एक सन्देश पठाउँदै रूसी प्रधानमन्त्रीले रूसको सङ्घीय सरकार तथा व्यक्तिगत रूपमा बधाई दिएका हुन् । सन्देशमा उनले प्रधानमन्त्री शाहको नेतृत्वमा रूस-नेपाल सम्बन्ध मित्रता, आपसी सम्मान र पारस्परिक हित संरक्षणको भावनाअनुसार अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । साथै प्रधानमन्त्री मिशुस्टिनले सरकारी तहमा हुने रचनात्मक सहकार्यले व्यापार, आर्थिक, लगानी, सांस्कृतिक तथा मानवीय सहयोग विस्तारमा टेवा पुग्ने उल्लेख गरेको यहाँस्थित रूसी राजदूतावासले जनाएको छ । रूसी प्रधानमन्त्रीले आपसी सहकार्य दुवै देशका दीर्घकालीन हितअनुकूल हुने विश्वास व्यक्त गर्दै सन्देशमा प्रधानमन्त्री शाहको सुस्वास्थ्य, सुख, समृद्धि तथा सफल कार्यकालको कामना गरेका छन् ।
प्रतिपक्षीहरूले भने- गुण र दोषका आधारमा सरकारलाई समर्थन र आलोचना गर्छाैं
काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलका सांसदहरूले जनताले सुम्पिएका जिम्मेवारीलाई पूरा गर्न जवाफदेहीपूर्ण र परिपक्व ढङ्गबाट सदनमा प्रस्तुत हुने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिसभाको आजदेखि प्रारम्भ हुने पहिलो अधिवेशनका सन्दर्भमा रासससँग कुराकानीमा उहाँहरूले समग्र देश र जनताका हितमा तर्जुमा हुने कानुनदेखि जनसरोकारका मुद्दा सम्बोधन गर्ने कार्यमा हातेमालो गर्दै अघि बढ्ने धारणा व्यक्त गरे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सुहाङ नेम्वाङले यस पटक सदनमा सत्ता र प्रतिपक्षको भावनाले नभई देश र जनताको समृद्धि तथा कल्याणका लागि मिलेर काम गर्ने बताए । उनले भने, ‘प्रतिपक्षमा रहेर सरकारका कामको गुण र दोषका आधारमा समर्थन र आलोचना गर्छौं । असल कामका लागि रचनात्मक सल्लाह र सुझाव दिन्छौँ । असल काममा पनि विरोध गर्ने शैली अब कसैले पनि अपनाउनु हुन्न ।’ प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद भरत खड्काले कांग्रेस लोकतान्त्रिक मूल्य मान्यतालाई शिरोधार्य गर्ने पार्टी भएकाले संसद्मा परिपक्व र जवाफदेही भएर प्रस्तुत हुने धारणा व्यक्त गरे । उनले भने, ‘विगतमा सरकार र पार्टी चलाउँदा कहीँ कतै कमजोरी भएको छ, त्यस आधारमा यस पटक मतदाताले केही हदसम्म दण्ड पनि दिएका छन्, त्यसलाई स्वीकार्नुपर्छ । कांग्रेसले आफूलाई सुधार गर्दै समयसापेक्ष तुल्याउनुपर्छ । जनताले दिएको जनादेशअनुसार जवाफदेहिता र जिम्मेवारीपूर्वक परिपक्व र परिस्कृत ढङ्गले सदनमा प्रस्तुत हुन्छौं ।’ नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले प्रतिपक्षको भूमिकामा रहेर विधिको शासन र सुशासनका मुद्दालाई प्राथमिकताका साथ उठाइने बताए । ‘किसानलाई राहत, युवालाई स्वदेशमै रोजगारी, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई परिष्कृत र सुदृढ तुल्याउने तथा प्रदेश मन्त्रिपरिषद्को सङ्ख्या घटाउन, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्न संविधान संशोधनलगायत विषयलाई आगामी अधिवेशनमा महत्त्वका साथ उठाइनेछ,’ उनले भने । आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव सङ्घीय संसदका पूर्वमहासचिव डा. भरतराज गौतमले वर्तमान सरकार र संसदले गरिबीको रेखामुनि रहेका ठूलो जनसङ्ख्यालाई माथि उकास्न आर्थिक समृद्धि र विकासका योजना बनाउन सुझाव दिए । ‘हाम्रा उपलब्ध साधन स्रोतको अधिकतम उपयोग गर्न सकिने पक्षलाई ध्यानमा दिँदै आगामी बजेटमार्फत विकास र आर्थिक ‘एजेन्डा’लाई बढी प्राथमिकता दिएर अघि बढ्नुपर्छ । आर्थिक विकास नभई अन्य क्षेत्रमा त्यति धेरै सफलता प्राप्त गर्न सकिन्न,’ उनले भने । प्रतिनिधिसभा सदस्यका लागि गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ ।