निर्वाचनपछि पहिलो संसद अधिवेशन आजदेखि, तीन अध्यादेश पेस हुँदै
काठमाडौं । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय कक्षमा आज दिउँसो २ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत १६ गते नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आजका लागि सङ्घीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका थिए । संसदका बैठक सञ्चालनका लागि भौतिक, सुरक्षा, प्राविधिक र जनशक्तिलगायत सम्पूर्ण तयारी पूरा भइसकेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो । सङ्घीय संसद् अन्तर्गतको माथिल्लो सभा (राष्ट्रिय सभा) को बैठक भने सङ्घीय संसद् सचिवालयस्थित राष्ट्रिय सभा कक्षमा बस्नेछ । राष्ट्रपतिले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसदको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । निर्वाचन आयोगले चैत ५ गते ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ निर्वाचन परिणामसहितको प्रतिवेदन’ राष्ट्रपति समक्ष बुझाएको थियो । २७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का २५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का १७, श्रम संस्कृति पार्टीका सात, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ र एक स्वतन्त्र सांसदको उपस्थिति रहेको छ । प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै आजको बैठकमा तीन अध्यादेश पेस हुँदैछन् । बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ पेस गर्ने सम्भावित कार्यसूची तय भएको छ । त्यसअघि बैठकमा सभाका ज्येष्ठ सदस्य/सभामुख अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आव्हानसम्बन्धी पत्र तथा राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको बेहोरा पढेर सुनाउने छन् । बैठकमा सभामुखले नेपालको संविधानको धारा, १०४ बमोजिम प्रतिनिधिसभाले आफ्नो नियमावली नबनाएसम्मका लागि प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम काम कारबाही गर्ने प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत गर्नुहुने सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । आज सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ । बैठकमा अधिवेशन प्रारम्भका अवसरमा दलीय आधारमा सदस्यहरूले आ-आफ्नो मन्तव्य राख्ने कार्यसूची तय भएको महासचिव पाण्डेयले जानकारी दिए । सोही बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७ बमोजिम प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनका लागि दिन तोक्नेछन् । बैठकको अन्त्यमा सभामुखले संविधानसभाका सदस्य एवं पूर्वसदस्यहरू ऋषिकेश गौतम, मोहम्मद आफताब आलम, आमोद प्रसाद उपाध्याय, होमनाथ दाहाल र संविधानसभा तथा राष्ट्रिय सभाका सदस्य बलदेव बोहोराको शोक प्रस्ताव प्रस्तुत गर्ने छन् ।
कोशी, बागमती र गण्डकीमा वर्षा हुँदै, दिउँसो पनि पानी पर्ने
काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली भएको छ भने बाँकी भागमा आंशिक बदली भएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो हिमाली तथा पहाडी भागमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने जनाइएको छ । साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ । त्यसैगरी, आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहने तथा अन्य हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी पहाडी र तराई भेगमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ । गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ । हिमाली क्षेत्रका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, वर्षा तथा हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन र पछिल्लो मौसमसम्बन्धी जानकारी लिन सर्वसाधारण तथा सम्बन्धित निकायलाई महाशाखाले आग्रह पनि गरेको छ ।
यात्रुलाई दुःख दिने ४८ जना दलाल पक्राउ
काठमाडौं । काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आज नयाँ बसपार्क, कलङ्की र बल्खुबाट उनीहरुलाई पक्राउ गरेको हो । ती स्थानमा सञ्चलित टिकट काउन्टरमा आफूहरूले भनेको सवारी साधनमा यात्रा गर्नुपर्छ भनी सर्वसाधारणलाई जबरजस्ती तान्ने, दुःख हैरानी दिई अभद्र व्यवहार गर्ने व्यक्तिलाई पक्राउ गरिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । प्रहरीले गोङ्गबुस्थित नयाँ बसपार्कबाट पाँच, कलङ्कीबाट २४ र बल्खुबाट १९ जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ ।