शेखर गोल्छाको बयान: साढे ५२ करोड फिर्ता लिन बाँकी छ, गैरकानुनी संलग्नता छैन

काठमाडौं । विशेष सरकारी वकिल कार्यालयले विचौलिया व्यापारी दीपक भट्टसहित विभिन्न व्यक्ति विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अदालतमा बैंकिङ कसुर, बीमा कसुर, धितोपत्र सम्बन्धी कसुर र सम्पत्ति शुद्धीकरण लगायत मुद्दा दायर गरेको हो । जसमा उद्योगी तथा व्यवसायी शेखर गोल्छालाई पनि विशेष सरकारी वकिलको कार्यालयले प्रतिवादी बनाएको छ । 

तर, गोल्छाले आफूले कुनै गैरकानुनी कार्य नगरेको दाबी गर्दै बयान दिएका छन् । उनले भृकुटी ब्रोकरमा राखिएको रकम आफ्नो वैधानिक आम्दानी भएको र सेयर लगानीका लागि मात्र प्रयोग गरिएको बयान दिएका छन् । सो रकम दुरुपयोग भएकोबारे आफूलाई जानकारी नभएको भन्दै उनले सम्पूर्ण जिम्मेवारी सम्बन्धित ब्रोकर संस्थामाथि रहने बताए । 

गोल्छाले आफूले सन्दीप चाचन अग्रवाललाई व्यक्तिगत रूपमा नचिनेको र भृकुटी स्टक ब्रोकिङ कम्पनीमा आफ्नो डिम्याट खाता समेत नरहेको दाबी गरेका छन् । उनले करिब ५२ करोड ५० लाख रुपैयाँ फिर्ता लिन बाँकी रहेको उल्लेख गर्दै रकम फिर्ताका लागि पटक-पटक अनुरोध र पत्राचार गरिएको बताए ।

त्यस्तै, उनले हिमालयन रि–इन्स्योरेन्सको सञ्चालक अध्यक्षको रूपमा कार्यकारी भूमिका नभएको र सेयर कारोबारबारे प्रत्यक्ष जानकारी नरहेको दाबी गरेका छन् । कम्पनीभित्र लगानी समितिले निर्णय गर्ने भएकाले सञ्चालक समितिलाई सबै कारोबारको जानकारी नहुने उनको भनाइ छ । गोल्छाले आफूलाई कुनै पनि गैरकानुनी गतिविधिमा संलग्न गराइएको आरोप अस्वीकार गर्दै आवश्यक परे कानुनी प्रक्रिया अनुसार अनुसन्धान गर्न आग्रह गरेका छन् ।

शेखर गोल्छाको बयान:

मैले मेरो सेयर कारोबारको लागि श्रीकृष्ण सेक्युरिटिज लि.(ब्रोकर नं. २८) मा एउटा मात्र खाता रहेको छ । उक्त कारोबारको लागि मुख्य रूपमा एभरेष्ट बैंकको खाता प्रयोग गर्ने गरेको छु । भृकुटी ब्रोकर कम्पनीमा रहेको रकमको वास्तविक धनी म आफैं हुँ । मैले मेरो व्यवसायबाट आर्जन गरेको वैधानिक रकम सेयरमा लगानी गर्नका लागि उक्त ब्रोकिङ कम्पनीलाई दिएको रकम हो । उक्त कम्पनीले खातामा रहेको मौज्दात रकम कसैको भुक्तानी सेटलमेन्टमा प्रयोग गरे नगरेको मलाई थाहा छैन । त्यो सम्बन्धित ब्रोकरसँग अनुसन्धान होस् । मैले दिपक भट्ट लगायतका नाउँमा सेयर खरीद गर्न वा कुनै कसुरजन्य कार्यका लागि सहजीकरण गर्न उक्त रकम प्रयोग गर्न दिएको होइन । मेरो दिपक भट्टसँग कुनै पनि वित्तीय र व्यवसायीक कारोबार छैन । मेरो व्यक्तिगत वा मसँग सम्बन्धीत कुनै संस्था या मेरो परिवारको सदस्यहरुको नाममा नेपाल रि इन्स्युरेन्स प्रालिको कुनै पनि सेयर नभएको कुरा जानकारी गराउन चाहन्छु । 

धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनको तालिका ४ हेरी व्यहोरा अवगत भयो । भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालिका अध्यक्ष समेत रहेका सन्दिप चाचन अग्रवाललाई म व्यक्तिगत रुपमा चिन्दिनँ । उक्त कम्पनीलाई मैले ५२ करोड ५० लाख रुपैया दिएकोमा सो रकम फिर्ता लिन बाँकी छ जसका लागि उसलाई मैले पटक पटक आग्रह र अनुरोध गर्दा निजले बैंकको व्याजदर न्यून रहेकोमा सोभन्दा कमी नठहरीने गरी थप रकमसमेत दिउँला हाल मसँग रकम छैन भनी आलटाल गर्दै आएका छन् । साथै निजको कार्यालयमा मैंले रकम फिर्ताको लागि पत्राचार समेत पेश गरेको छु । साथै शुलभ अग्रवाल समेतले उक्त रकम सम्बन्धमा फिर्ता गराईदिने आश्वासन दिएका थिए । तर हालसम्म फिर्ता नगरी मलाई गैह्रकानुनी क्षति पुयाई पीडित गराएका छन् । उक्त रकम मैंले रोहित गुप्ता, राजबहादुर शाह, सुलभ अग्रवाल र अमित मोर समेतका साथीहरुसँग सल्लाहमा निजहरुको विश्वासमा दिएको हुँ ।

 जब की उक्त ब्रोकिङ कम्पनीमा मेरो डिम्याट खाता पनि छैन । माथि उल्लिखित साथीहरू मध्ये शुलभ अग्रवाल र अमित मोर समेतका शंकास्पद व्यवहार र निजहरूका काम क्रियाकलाप प्रति विश्वास नलागेकोले मैले तत्काल खाता नखोलेको सहि सत्य हो। यस बाहेक अन्य कुनै पनि कारोबार एवं लेनदेन र नाता सम्बन्ध आदि छैन। उल्लिखित कम्पनीहरूको कारोबार सम्बन्धमा कम्पनीले कानुन बमोजिम कार्य गर्नुपर्ने हुन्छ । कोही जिम्मेवार पदाधिकारीले जिम्मेवारी निर्वाह नगरेको भए कानुन बमोजिम होस् ।

हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमा स्थापनाकालदेखि नै सञ्चालक अध्यक्ष रहेको थिएँ । हाल अन्दाजी दुई महिना अगाडि मैले राजिनामा दिएको छु । हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिले सेयर खरिद विक्री सम्बन्धी कारोबार कम्पनीको प्रबन्धपत्र वा नियमावलीमा व्यवस्था भएबमोजिम तथा प्रचलित कानुन बमोजिम लगानी समितिले गर्ने गरेको छ । उक्त कारोबारको बारेमा लगानी समितिलाई त्यसको पूरा जिम्मेवारी रहन्छ । व्यवस्थापन र नियमित प्रशासनिक कार्यहरूबाट त्यस्तो कारोबार भए गरेको भए कम्पनीको प्रमुख कार्यकारी अधिकृतलाई जानकारी होला । कम्पनीको संचालक अध्यक्षको रूपमा वार्षिक वित्तीय विवरणहरू बाहेक मलाई सेयर कारोबारको कुनै जानकारी हुने गरेको छैन । मैले यसभन्दा अगाडिको जवाफमा समेत खुलाईदिएको छु । 

मेरो विभिन्न उद्योग व्यवसायमा लगानी रहँदै आएको छ र आजसम्म म कुनै गैह्रकानुनी कार्य गरी दण्डित भएको छैन । म एक प्रतिष्ठित व्यवसायीको हैसियतमा विभिन्न संघ संस्थाहरूले मेरो नेतृत्वको आधारमा कम्पनीको विश्वसनीयता र बुक भ्यालु बढ्ने हुन्छ भनी नेतृत्व लिन आग्रह गर्ने गर्दछन् । सोही क्रममा नै हिमालयन रि इन्स्योरेन्स कम्पनीको समेत म सञ्चालक अध्यक्ष भएको थिएँ । तर म कुनै किसिमको कम्पनीको काममा कार्यकारी भूमिकामा थिईन । तर पछिल्लो समयमा कम्पनी सम्बद विभिन्न व्यक्तिहरूले यसको दुरूपयोग गरेको भन्ने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग समेतको बयानमा मलाई शंका लागेपछि मैले उक्त संस्थाबाट राजीनामा दिएको छु । मैले कुनै गलत मनसाय राखी निर्णय गर्ने गराउने तथा गैह्रकानुनी कार्यमा सहभागी समेत भएको छैन । यससम्बन्ध बोर्डमा आकस्मिक बैठक बोलाई सीईओलगायतका अन्य उच्च व्यवस्थापनका कर्मचारीहरूसँग भृकुटीसँग लिनुपर्ने रकमको बारेमा प्रश्नावली गर्दा निजहरूले हामीले कानुनी पत्राचार गरेका छौं । तर सञ्चालक बोर्डका व्यक्तिहरूलाई कुनै पनि जानकारी नदिएको भनी माईन्युट समेत गरेको व्यहोरा जानकारी गराउँदछु । कोही कसैको त्यस्तो संलग्नता भेटिएमा कानुन बमोजिम होस् । 

मैले माथिको जवाफमा खुलाएबमोजिम नै कम्पनीका काम तथा गतिविधिको आधारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट बयान गरेपश्चात मेरो जानकारी अनुसार शुलभ अग्रवाल, निजको श्रीमती शुभी अग्रवाल, दिपक भट्ट, ऋषिराज मोर, अमित मोर समेतको सहभागिता हुन सक्दछ । तर त्यो मैले एकिन गर्न सक्ने मसँग आधारहरू छैन । सो पश्चात मैंले आकस्मिक बोर्डको बैठक राखी कुनैपनि गैह्रकानुनी काम कारवाही भएको हुनसक्ने समेत कार्य म जस्तो जिम्मेवार व्यक्तिले सोच्न समेत नसक्ने भएकोले अध्यक्ष पदबाट राजिनामा दिएको थिएँ ।

म, रोहित गुप्ता, राज बहादुर शाह, अमित मोर र शुलभ अग्रवाल समेतले सामाजिक भेटघाटको सिलसिलामा निज शुलभ अग्रवालको अगुवाइमा धितोपत्र बजारमा राम्रो र वैधानिक आम्दानी ! हुन्छ । साथै भृकुटी ब्रोकिङ कम्पनीले न्यून कमिसनमा राम्रो र पारदर्शी सेवा प्रदान गर्दछ भन्ने विश्वास दिलाएर लगानी गर्ने कुराकानी भएको थियो । सो पश्चात सम्बन्धीत कम्पनीमा मैंले समेत धितोपत्र कारोबार गर्ने प्रयोजनको लागि रकम जम्मा गरेको सम्म हो । तर रकम जम्मा गरिसकेपश्चात पनि मेरो कानुन व्यवसायी र साथीहरूको सल्लाह बमोजिम मैले सेयर कारोबार नगर्ने निर्णय बमोजिम सेयर बजारको तत्कालिन अवस्थामा कुनै लगानी गरको छैन । कोही कसैलाई उक्त रकम प्रयोग गर्ने कुनै पनि सहमति दिएको छैन । मैले पटक पटक रकम फिर्ताको लागि आग्रह समेत गर्दै आएको छु । कानुनी रूपमा समेत पत्राचार गरेको छु । म सम्बद्ध कम्पनीका निर्णयहरू समेत मगाई उक्त कम्पनीका सेयर कारोबारमा जिम्मेवार व्यक्तिहरू लगानी समिति अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत समेतलाई सोधपुछ गरी सोको एकिन होस् ।

माथि उल्लिखित सेयर कारोबारमा मेरो कुनै संलग्नता छैन म आफैं सेयर कारोबारमा सक्रिय समेत छैन । म माथि यी र यस्ता कार्यहरूबाट मेरो व्यवसायिक र व्यक्तिगत प्रतिष्ठामा आँच पुग्न गएको समेतले पिडा बोध र अपुरणीय क्षि भएको छ । उक्त कार्यको अनुसन्धान गरी मलाई समेत न्याय होस् । भृकुटी स्टक ब्रोकिङ लि. मार्फत कानुन बमोजिम हुने कारोबारको जानकारी सामान्य छ । तर माथि सवालमा उल्लिखित लाभपूर्ण मनसाय र कारोबार सम्बन्धमा म आफैँ कारोबार गर्दिन । त्यो सम्बन्धी कारोबारमा अध्यक्षको भूमिकामा कुनै पनि कारोबारको मलाई जानकारी समेत कुनै माध्यमबाट भए गरेको छैन । मैले जानेर वा बदनियत साथ आजसम्म कुनै गैह्रकानुनी कार्य समेत गरेको छैन । सो कुराको पुष्टि बोर्डमा भएको माईन्युटबाट समेत प्राप्त गर्न सकिन्छ । मेरा कारोबारहरू मैले बैकिङ प्रणालीमै गर्ने गरेको छु । कानुन बमोजिम मगाई सोको अनुसन्धान होस् । उक्त रकम मेरो व्यवसायबाट कानुन बमोजिम आर्जन गरेको वैध आम्दानी हो । मैंले माथिका सवालहरूमा समेत खुलाए बमोजिम नै म कुनै गैरकानुनी योजनामा संलग्न समेत छैन ।

मैले मलाई आरोप लागेको रकमको विषयमा समेत करयोग्य रकम ब्रोकरको खातामा उपयुक्त समयमा सेयर कारोबारको लागि राखेको हो । उक्त रकम नै दुरूपयोग गरेको सम्बन्धमा मलाई एकिन जानकारी हुने विषय समेत रहेन । उक्त विषयको जिम्मेवारी सम्बन्धीत स्टक ब्रोकिङ कम्पनीको हुनुपर्छ । निजलाई समेत आवश्यक अनुसन्धान होस् । दिपक भट्ट समेतसँग मेरो कुनैपनि व्यवसायिक सम्बन्ध नरहेको कुरा समेत पुनः दोहोच्याउन चाहन्छु । माथि सवालमा उल्लिखित गैह्रकानुनी कारोबारहरूको बारेमा मलाई कुनै जानकारी थिएन । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट क्यानको क्रममा मैंले जानकारी पाएको र उक्त जानकारीबाट म आफै विचलित भई आकस्मिक बोर्डको बैठक डाकी उक्त विषयमा ऋभ्इ लगायत उच्च व्यवस्थापनका कर्मचारीहरूलाई समेत डाकी बैठकमा निजहरूले उक्त कारोबार भए गरेको सम्बन्धमा सञ्चालक समतिलाई जानकारी नगराएको भनी दिएको जवाफको माईन्युट समेत गरिएको व्यहोरा ! पुनः दोहोरÞ्याउन चाहन्छु । गत आर्थिक वर्षको वित्तिय विवरणहरू समेत मैंले प्रमाणित गरेको छैन । एकमुष्ट वित्तिय विवरण प्रमाणित गर्दा यसपूर्व भएका निर्णयहरू समेतमा मैंले कुनै गैह्रकानुनी कार्य प्रमाणित समेत गरेको छैन । प्रत्येक व्यक्ति तथा संस्थाले आफ्नो कानुन बमोजिम निर्वाह गर्नुपर्ने जिम्मेवारी निर्वाह गर्नुपर्दछ । मैले कानुनबमोजिम काम गर्दा कुनै गलत मनसायगत धारणा राखी कुनै गैह्र कानुनी कार्य गरेको छैन । कुनै पनि लाभ लिएको छैन । प्रचलित कानुन वमोजिम र प्रचलित नियमानुसार मेरो कुनै गल्ती भेटिए कानुन बमोजिम सहन बुझाउन मेरो मन्जुरी छ भन्ने व्यहोराको प्रतिवादी शेखर गोल्छाको बयान ।

कम्पनीको लगानी समितिलाई कानुन बमोजिम लगानी गर्ने पुरा अधिकार दिईसके पश्चात सञ्चालक समितिमा पेश नगरेसम्म सञ्चालकलाई थाहा हुने कुरा भएन साथै सो सम्बन्धी कुनै पनि वार्षिक वित्तीय विवरण समेत तयार नभएको र मैले प्रमाणित नगरेको समेत जानकारी गराउन चाहन्छु । सञ्चालक समितिमा पेश नगरी के कसरी दुरूपयोग तथा कसुर भएको मैले समेत एकिन गर्न सक्ने कुरा भएन । यस कुराको पुष्टि मैंले आकस्मिक रुपमा सञ्चालक समितिको बैठक बोलाउँदा सीईओलगायत उच्च व्यवस्थापनले पुष्टि समेत गरेको अवस्थामा निजहरू नै जिम्मेवार हुनुपर्दछ सो सम्बन्धमा अनुसन्धान होस् । प्रचलित कानुन बमोजिम र प्रचलित नियमानुसार मेरो कुनै गल्ती भेटिए कानुन बमोजिम होस् । प्रस्तुत कसुर धितोपत्र सम्बन्धी कारोबारसँग सम्बन्धीत विषय हो । उक्त विषयमा म आफैँले कुनै धितोपत्रको कारोबार गरेको छैन । मैंले संस्थागत रूपमा हिमालयन रि–इन्स्योरेन्स कम्पनीको अध्यक्षको गलत प्रयोग गरेको छैन र कुनै लाभ समेत लिएको छैन । एनआरआईसीमा लगानी गर्ने या नगर्ने सल्लाहमा म, मेरो परिवार, मेरा हितैसी र कानुनी सल्लाहकारबाट म पछाडि हटेको हुँ म, मेरो परिवार, मेरो व्यवसाय समेतले गैह्रकानुनी तवरबाट प्रतिवेदनमा उल्लेख भएको भनिए बमोजिमका एनआरआईसी लगायतका सेयरहरूमा कुनै कारोबार समेत भएको छैन । कुनै प्रत्यक्ष र अप्रत्यक्ष लाभ समेत लिएको छैन । यी समेत तथ्यबाट मेरो कुनै कसुर गर्ने मनसाय र कार्य समेत भएको छैन ।

Share News