गृहमन्त्री सुधन गुरुङ भावुक भएपछि...

काठमाडौं । लामो समयदेखि न्यायको माग गर्दै सडक संघर्षमा रहेका सुजन बिकले सिंहदरबारस्थित गृहमन्त्रालयमा गृहमन्त्री सुधन गुरुङसँग भेट गर्दै आफ्ना माग राखेका छन् ।

चितवनको रत्ननगर नगरपालिका निवासी सुजन बिक विगत तीन महिनादेखि आफ्नी दिवंगत श्रीमतीको न्याय माग्दै काठमाडौंमा धर्ना र प्रदर्शन गर्दै आएका थिए । उनले अस्पतालको लापरबाहीका कारण श्रीमतीको ज्यान गएको दाबी गर्दै निरन्तर न्यायको माग गरिरहेका छन् ।

सोही क्रममा गृहमन्त्री गुरुङले उनलाई मन्त्रालयमै बोलाएर भेट गरेका हुन् । आफ्नो काखमा नवजात शिशु च्यापेर पुगेका सुजनले श्रीमतीको मृत्यु सुत्केरी अवस्थामा अस्पतालको गम्भीर लापरबाहीका कारण भएको भन्दै  न्यायको याचना गरेका थिए ।

भेटका क्रममा सुजनको अवस्था र पीडा देखेर गृहमन्त्री गुरुङ भावुक बनेका थिए । उनले नागरिकको सुरक्षा र न्याय राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै घटनाप्रति गम्भीर चासो व्यक्त गरे ।

गृहमन्त्री गुरुङले घटनाको छानबिनका लागि तत्काल समिति गठन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । उनले छानबिन निष्पक्ष रूपमा अघि बढाइने र दोषी देखिए कानुनी कारबाही हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्रालयका अनुसार छानबिन समितिले घटनाको वास्तविकता अध्ययन गरी यथाशीघ्र प्रतिवेदन बुझाउनेछ । त्यसका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ ।

Share News