इप्पानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था खारेज गरिँदै

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशन आगामी जेठ २९ गते आयोजना हुने भएको छ । ७०० भन्दा बढी ऊर्जा उत्पादक कम्पनीहरू सदस्य रहेको इप्पानले वैधानिक प्रक्रिया पूरा गरी साधारणसभाको तयारी तीव्र पारेको जनाएको हो । यस पटकको साधारणसभामा इप्पानको नेतृत्व चयन प्रक्रिया र विधानमा महत्त्वपूर्ण परिवर्तन गर्ने प्रस्ताव लैजान लागिएको संस्थाले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । गत जेठ २५ गते बसेको इप्पान कार्यसमितिको २०३औं बैठकले इप्पान विधान २०७८ लाई संशोधन गर्ने प्रस्ताव तयार गरेको छ । नयाँ प्रस्ताव अनुसार अब वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विद्यमान व्यवस्थाको अन्त्य गरिनेछ । विधान संशोधन भएपश्चात कार्यसमितिमा एक कार्यकाल पूरा गरी विधान बमोजिम योग्य भएका जुनसुकै व्यक्तिले पनि अध्यक्षको उम्मेदवार हुन पाउनेछन् । साथै अन्य सबै पदहरूमा समेत खुल्ला रूपमा उम्मेदवारी दिन पाउने गरी प्रस्ताव लैजान लागिएको इप्पानले जनाएको छ । यसअघि २०८० जेठ ३२ को २१औं साधारणसभाले भानुभक्त पोखरेलको संयोजकत्वमा गठन गरेको ५ सदस्यीय विधान संशोधन तथा पुनर्लेखन समितिले इप्पानलाई महासंघमा रूपान्तरण गर्ने मस्यौदा पेस गरेको थियो । सो प्रतिवेदन कार्यान्वयनका लागि २३औं साधारणसभाले अध्यक्षलाई अख्तियारी समेत दिएको थियो । तर, प्राविधिक वा व्यावहारिक कारणले तत्काल महासंघ बनाउन नसकिने भएपछि गत वैशाख ४ गते बसेको २००औं कार्यसमिति बैठकले इप्पानकै साविक विधान २०७८ अनुसार नै २४औं साधारणसभा र आठौं अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो । इप्पानले संस्थाका उपमहासचिव प्रकाशचन्द्र दुलालले सार्वजनिक रूपमा लगाएका आरोपहरूको खण्डन गरेको छ । दुलालले विधान गायब भएको र विधान विपरीत साधारणसभा गर्न लागिएको भनी गरेका प्रचारहरूलाई इप्पानले कपोलकल्पित संज्ञा दिएको छ । ‘विभिन्न सरोकारवालाहरू (औपचारिक छलफलका क्रममा १५ जना) को सुझाव समेटिएको पोखरेल संयोजकत्वको विधान संशोधन प्रतिवेदन इप्पान सचिवालयमा पूर्ण रूपमा सुरक्षित छ । ऊर्जा व्यवसायीहरूको साझा संस्था विधानको परिपालनामा सधैं गम्भीर छ,’ विज्ञप्तिमा भनिएको छ । कार्यसमितिको निर्णय बमोजिम नै वैधानिक रूपमा साधारणसभा गर्न लागिएको र यसका लागि गत जेठ ९ र १० गते नै सार्वजनिक रूपमा सूचना प्रकाशित भइसकेको इप्पानले स्पष्ट पारेको छ । इप्पानले यस्ता भ्रामक प्रचारको पछि नलाग्न आग्रह गरेको छ । 

रञ्जीत आचार्य कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्डको अन्तर्राष्ट्रिय जुरीमा मनोनित

काठमाडौं । प्रिज्मा एड्भर्टाइजिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड २०२६ को निर्णायक मण्डल (जुरी) सदस्यमा मनोनित भएका छन् । कर्पोरेट फिल्म, दृश्य कथन (भिजुअल स्टोरीटेलिङ) तथा ब्रान्डेड मिडिया निर्माणको क्षेत्रमा विश्वकै अवार्डमध्ये एक मानिने यस प्रतियोगिताको निर्णायक मण्डलमा नेपालीको प्रतिनिधित्व हुनु समग्र नेपालका लागि ऐतिहासिक उपलब्धि मानिएको छ । सन् २०१० मा स्थापना भई अष्ट्रियाको भियना शहरमा मुख्यालय रहेको उक्त अवार्ड प्रत्येक वर्ष फ्रान्सको कान्स शहरमा आयोजना गरिन्छ । विश्व चलचित्र उद्योगको प्रमुख केन्द्रका रूपमा परिचित कान्समा हुने यो अन्तर्राष्ट्रिय महोत्सवले कर्पोरेट फिल्म, अनलाइन मिडिया उत्पादन, वृत्तचित्र तथा प्रतिवेदन निर्माणमा विश्वस्तरीय मापदण्ड स्थापित गर्दै आएको छ । यस महोत्सवको निर्णायक मण्डलमा विगतमा ओस्कार र एमी अवार्ड विजेताहरू समेत सहभागी भइसकेका छन् । प्रतियोगितामा प्रदान गरिने गोल्ड, सिल्भर, ब्ल्याक, ब्लु र ह्वाइट डल्फिन ट्रफीहरू कर्पोरेट फिल्म क्षेत्रका उत्कृष्ट सम्मानका रूपमा लिइन्छन् । सन् २०२६ को १७औँ संस्करणमा ६३ प्रतिस्पर्धात्मक विधा समावेश गरिनेछ भने विश्वभरका फिल्म निर्माता, विज्ञापन एजेन्सी, ग्राहक संस्था, प्रसारण संस्था तथा विद्यार्थीहरूको सहभागिता रहनेछ । ३५ वर्षभन्दा बढी अनुभव भएका आचार्य नेपालका प्रभावशाली विज्ञापन तथा सञ्चार विज्ञमध्ये एक हुन् । उनको नेतृत्वमा प्रिज्मा एड्भर्टाइजिङले ‘कृति अवार्ड’ मा लगातार चार पटक ‘बेस्ट एजेन्सी अफ द इयर’ उपाधि जित्दै नेपालकै सर्वाधिक पुरस्कार प्राप्त स्वतन्त्र विज्ञापन एजेन्सीका रूपमा पहिचान बनाएको छ । उनले सञ्चालन गरेका चर्चित अभियानहरूमध्ये कोका–कोला नेपालको ‘मन खोलौँ कोकसँग’ तथा ‘मेरो मोबाइल’ लाई ‘एनसेल’ मा पुनः ब्रान्डिङ गर्ने अभियान विशेष रूपमा चर्चित छन् । विशेषगरी, एनसेल पुनः ब्रान्डिङका क्रममा नेपालको इतिहासमै पहिलो पटक पत्रिकाको मास्टहेडलाई बैजनी (पर्पल) रंगमा रूपान्तरण गरिएको थियो । उनका ‘मुटु चाहिन्छ मुटु’, ‘मुड चेन्ज तुरुन्तै’, ‘चिसो भनेकै कोका–कोला’ जस्ता नाराहरू नेपाली समाजमा लोकप्रिय छन् । अन्तर्राष्ट्रिय स्तरमा आचार्यले सन् २००० मा अमेरिकाबाट बेल रिङ्गर अवार्ड, २००७ मा एड क्लब मुम्बईबाट एबी अवार्ड तथा हालै सिंगापुरमा ब्रान्डलरिएट बेस्ट ब्रान्ड्स अवार्ड २०२५ प्राप्त गरेका छन् । आचार्यले आफ्नो मनोनयनप्रति प्रतिक्रिया दिँदै भनेका छन्, 'सिर्जनशीलताका लागि कुनै सीमारेखा वा पासपोर्ट हुँदैन । उत्कृष्ट कथाले सधैं विश्वमञ्च पाउँछ । यो मेरो मात्र होइन, हरेक नेपाली सिर्जनशील व्यक्तिको उपलब्धि हो ।' यस मनोनयनले पहिलो पटक नेपाली सिर्जनशील व्यक्तित्वलाई विश्वस्तरीय दृश्य मिडिया मूल्याङ्कनको उच्च तहमा पुर्‍याएको छ । जुरी सदस्यका रूपमा आचार्यले विश्वभरबाट प्राप्त प्रविष्टिहरूको मूल्याङ्कन गर्नेछन् र दक्षिण एसियाली कथा–वाचन शैलीलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नेछन् । यो उपलब्धि नेपाली विज्ञापन तथा सिर्जनात्मक उद्योगका लागि गौरवको विषय मात्र नभई नेपालको सिर्जनशीलताको अन्तर्राष्ट्रिय पहिचानको संकेतका रूपमा लिइएको छ ।

शैलुङ–सुनापति क्षेत्रलाई एकीकृत पर्यटन गन्तव्य बनाउने अध्ययन सम्पन्न

काठमाडौं । रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ पर्यटकीय पदमार्ग (ट्रेल) विकासको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डको आयोजनामा गरिएको चारदिने स्थलगत अध्ययनले धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले समृद्ध यस क्षेत्रलाई एकीकृत पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने निष्कर्ष निकालेको छ । आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्ने उद्देश्यसहित सञ्चालन गरिएको ‘दुहु(सुनापति डाँडा(शैलुङ ट्रेल’ अध्ययन भ्रमणले रामेछाप र दोलखाका विभिन्न सम्भावनायुक्त पर्यटकीय स्थलहरूको वस्तुस्थिति, पहुँच, पूर्वाधार अवस्था तथा पर्यटन विकासका अवसरहरूको विस्तृत अवलोकन गरिएको टोलीमा सहभागी नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत गोपाल भण्डारीले जानकारी दिएका छन् । अध्ययन टोलीले काठमाडौंबाट यात्रा सुरु गर्दै सिन्धुलीस्थित प्रसिद्ध धार्मिकस्थल कुशेश्वर महादेव मन्दिर हुँदै रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ गाउँपालिकाका विभिन्न पर्यटकीय क्षेत्रहरूको स्थलगत अध्ययन गरेको थियो । भ्रमणका क्रममा सुनापति क्षेत्रका धार्मिक तथा सांस्कृतिक सम्पदा, आकर्षक चिया बगान, लखपतिमाने डाँडा लगायतका सम्भावनायुक्त गन्तव्यहरूको अध्ययन तथा अवलोकन गरिएको थियो । त्यसैगरी, हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र सानो शैलुङ र दुई जिल्ला दोलखा र रामेछापको सीमाक्षेत्रमा रहेको प्रसिद्ध ठुलो शैलुङको प्राकृतिक सौन्दर्य, धार्मिक महत्व तथा पर्यटन सम्भावनाबारे पनि विस्तृत अध्ययन गरिएको छ । समुद्री सतहबाट तीन हजारभन्दा बढी उचाइमा रहेको शैलुङ क्षेत्र प्राकृतिक दृश्यावलोकन, धार्मिक पर्यटन, पदयात्रा तथा साहसिक पर्यटनका लागि उपयुक्त गन्तव्यका रूपमा परिचित छ । अध्ययन भ्रमणका क्रममा सुनापति गाउँपालिकाको लामागाउँमा स्थानीयले मौलिक संस्कृति झल्किने धिमे बाजा, तामाङ समुदायको डम्फु नृत्य तथा सांस्कृतिक झाँकीसहित अध्ययन भ्रमण टोलीलाई स्वागत गरेका थिए । यसले स्थानीय समुदाय पर्यटन विकासप्रति उत्साहित र सकारात्मक रहेको सन्देश दिएको अध्ययन टोलीको निष्कर्ष छ । सुनापति गाउँपालिका अध्यक्ष ठुलो कान्छा तामाङले गाउँपालिकाले पर्यटनलाई आर्थिक विकासको प्रमुख आधारका रूपमा अगाडि बढाइरहेको बताउँदै पर्यटन पूर्वाधार निर्माण, पदमार्ग व्यवस्थापन तथा स्थानीय संस्कृतिको संरक्षणका लागि विशेष प्राथमिकता दिइएको जानकारी गराएका हुन् । उनले नेपाल पर्यटन बोर्डको यस पहलले रामेछाप र दोलाखा जिल्लाकै पर्यटन विकासलाई नयाँ उचाइमा पुर्‍याउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत गोपाल भण्डारी, रोविन रेग्मी र प्रदीप गैरेले पर्यटन विकाससँगै वातावरणीय संरक्षण, सांस्कृतिक सम्पदाको जगेर्ना तथा ऐतिहासिक स्थलहरूको संरक्षणलाई समान महत्व दिनुपर्ने आवश्यकता औँल्याएका छन् । उनीहररुले दिगो पर्यटन विकासका लागि संरक्षण र विकासलाई सन्तुलित रूपमा अगाडि बढाउनुपर्ने बताउँदै यसबाट स्थानीय समुदायको आयआर्जन र जीवनस्तरमा समेत सकारात्मक प्रभाव पर्ने धारणा व्यक्त गरे । यसका लागि समुदाय र सरकारको साझा पहल आवश्यक रहेको पनि उनीहरुको भनाई थियो । पछिल्लो समय काठमाडौंबाट छोटो दूरी र सहज पहुँचका कारण शैलुङ क्षेत्र आन्तरिक पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित छ । स्थानीय होटल व्यवसायी धावा लामाका अनुसार हाल शैलुङ क्षेत्रमा मासिक तीनदेखि चार हजारसम्म पर्यटक पुग्ने गरेका छन् । होमस्टे सेवा, स्थानीय परिकार, सांस्कृतिक अनुभव र प्राकृतिक सौन्दर्यले पर्यटकको बसाइ अवधि बढाउन मद्दत गरिरहेको उनको भनाइ छ । नेपाल पर्यटन बोर्डको पहलमा गरिएको यस अध्ययन भ्रमणले रामेछाप र दोलखालाई जोड्ने नयाँ पर्यटकीय पदमार्गको औपचारिक विकास, पूर्वाधार विस्तार तथा पर्यटन प्रवर्द्धनका आगामी कार्यक्रम निर्माणमा टेवा पुग्‍ने अपेक्षा गरिएको छ ।