मंगलबारदेखि सबै विद्यालय खोल्न ललितपुर महानगरको पत्रचार
काठमाडौं । ललितपुर महानगरपालिकाले मंगलबारदेखि सबै विद्यालय खोल्न सामुदायिक विद्यालयहरूलाई पत्राचार गरेको छ । महानगरपालिकाले सोमबार परिपत्र गरी आफ्नो क्षेत्रभित्रका सबै विद्यालय खोली पठनपाठनको व्यवस्था गर्न पत्राचार गरेको हो । २०८२ को शैक्षिक कार्यपात्रोअनुसार विद्यालय भर्ना, शैक्षिक क्रियाकलाप हालसम्म पनि सञ्चालन नभएको उल्लेख गर्दै महानगरपालिकाले भोलिदेखि नै नियमित पठनपाठन गर्न विद्यालयहरूलाई ध्यानाकर्षण गरेको छ । ‘प्रस्तुत विषयमा यस महानगरपालिकाले शिक्षकहरूको सहभागितामा शैक्षिक सत्र २०८२ को शैक्षिक कार्यपात्रो प्रकाशन गरी कार्यान्वयनमा ल्याएको विदितै छ,’ पत्रमा लेखिएको छ, ‘उक्त कार्यपात्रो बमोजिम विद्यार्थी भर्नालगायतका शैक्षिक क्रियाकलापहरू हालसम्म पनि सञ्चालन हुन नसक्दा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ । विद्यालय सञ्चालनका सन्दर्भमा सम्मानित सर्वोच्च अदालतबाट देशभरका बालबालिकालाई विद्यालयमा नियमित पठनपाठन गर्न पाउने हकबाट वञ्चित नगर्नू, नगराउनू भनी भएको आदेशबमोजिम यस महानगरपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयहरू वैशाखबाट नियमित पठनपाठन, विद्यार्थी भर्ना लगायतका शैक्षणिक क्रियाकलाप पूर्ण रूपमा सञ्चालन गर्नु गराउनु हुन अनुरोध छ।’ २७ दिनदेखि विभिन्न माग राख्दै शिक्षकहरू सडक आन्दोलनमा छन् । माग पूरा नभएसम्म विद्यालय नफर्कने अडानको कारण विद्यालय खुल्न सकेको छैन । अहिले विभिन्न स्थानीय तहले विद्यालय खुलाउन पत्राचार गरिरहेका छन् ।
काठमाडौं महानगरले वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं । काठमाडौं महानगरपालिकाले वर्गीकरण गरेर फोहर व्यवस्थापन गर्न थालेपछि अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडा लगिने फोहर घटेको छ । फोहर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउने भन्दै अहिले कामपाले ३२ वडामध्ये १० वटा वडामा वर्गीकरण गरिएको फोहर अन्तिम व्यवस्थापनको कार्य थालेको छ । फोहर वर्गीकरण अघि कामपाबाट दैनिक २० गाडी फोहर बञ्चरेडाँडा जाने गरेको थियो । अहिले फोहरको मात्रा घटेसँगै दैनिक १५ गाडी मात्रै लाने गरेको कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले जानकारी दिए । हाल वडा नं १२, १८, १९, २०, २१, २२, २३ २४, २५, र २७ मा स्रोतमै फोहर वर्गीकरण गरेर मात्रै व्यवस्थापनको काम भइरहेको छ । विभागको प्रमुख राईका अनुसार अहिले कामपाले छवटा क्षेत्र निर्धारण गरेर फोहर व्यवस्थापनको काम थालेको छ । उनका अनुसार प्रत्येक क्षेत्रमा एक-एकवटा ‘ट्रान्फरस्टेसन’ निर्माण गरी उक्त स्थानमा केही समयका लागि फोहर राखिने र त्यसपछि अन्तिम व्यवस्थापनका लागि ‘ल्यान्डफिल साइट’ बञ्चरेडाँडा लगिनेछ । त्यसका लागि कामपाले ३२ वटा वडालाई भौगोलिक र जनसङ्ख्याका आधारमा क्षेत्र निर्धारण गरी स्रोतमा नै वर्गीकरण गरिएको फोहर मात्रै व्यवस्थापन गर्ने कार्य थालिसकेको छ । काठमाडौं उपत्यकाको १८ स्थानीय तहमा उत्पादित फोहर ‘ल्यान्डफिल साइट’ बञ्चरेडाँडा लैजाँदा उक्त स्थानमा प्रदूषण बढ्नाका साथै फोहरमैला सङ्कलन ढुवानीमा खर्च बढ्ने भएकाले वर्गीकृत फोहर क्षेत्र निर्धारण गरेर व्यवस्थापन गर्न लागिएको राईको भनाइ छ । फोहरमैला व्यवस्थापन ऐन २०६८ तथा काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार फोहर स्रोतमै वर्गीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । हाल काठमाडौं उपत्यकाको १८ स्थानीय तहबाट दैनिक एक हजार ६०० मेट्रिक टन फोहर उत्पादन हुने गरेको छ । यसरी गर्न सकिन्छ फोहर व्यवस्थापन भान्छामा कुहिने र नकुहिने गरी दुई किसिमको फोहर जम्मा भएको हुन्छ । कुहिनेलाई छुट्टै र नकुहिनेलाई छुट्टै भाँडामा राख्नु वर्गीकरण हो नकुहिने फोहर उत्पादक आफैँले बेच्न सक्छन् । तरकारी (साग सब्जी), बढी भएको खानेकुरा, माछा मासु, हड्डी, अण्डा, चियाको छोक्रा, फलफूलका बोक्रा, खानेकुरा केलाउँदा आएको वस्तु, रुखका पात कुहिने फोहर हुन् । यस्तै, प्लास्टिक, सिसा, कागज, कपडा, जुत्ता, सामान प्याक भएर आएका सामान, काठ, रबर, सिमेन्टको ब्याग, बोतल, फलाम नकुहिने फोहर हुन् ।
बालिकाहरूका लागि बैंक खातामा ५ हजार जम्मा गर्दै हुप्सेकोट गाउँपालिका
मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ५६ जना बालिकाहरूलाई पाँच हजार रुपैयाँसहितको बैंक खाता उपहार दिएको छ । ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रममार्फत चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र जन्मिएका ५६ जना छोरीहरूको बैंक खातामा उक्त रकम जम्मा गरिएको हो । हुप्सेकोट गाउँपालिकामा स्थायी बसोबास गरेका दम्पतीले छोरी जन्मिएर वडा कार्यालयमा जन्म दर्ता गराएपछि छोरीको नाममा खोलिने बैंक खातामा गाउँपालिकाले नगद उक्त रकम जम्मा गरिदिने गरेकोे हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन् । 'चालु आर्थिक वर्षको चैत मसान्तसम्म जन्मिएका ५६ जना छोरीहरुको बैंक खातामा पाँच हजार रुपैयाँका दरले दुई लाख ८० हजार रुपैयाँ निकासा भइसकेको छ', उनले भनिन्, 'छोरीको बैंक खातामा अभिभावकलाईसमेत कम्तीमा पाँच हजार रुपैयाँ जम्मा गर्न आग्रह गर्ने गरेका छौँ ।' छोरीको नाममा बैंक खातामा जम्मा भएको रकम उच्च शिक्षा अध्ययनका बेला उपयोग हुने अपेक्षासहित बचत गर्ने बानीको विकास उक्त कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष पाण्डेले बताइन् । 'यसरी बैंकमा जम्मा हुने रकमले छोरीको सुनौलो भविष्यका लागि बचत गर्ने बानीको विकास हुनुका साथै अध्ययन तथा अन्य कार्यका लागि छोरीलाई सक्षम बनाउन प्रोत्साहन हुने अपेक्षा रहेको छ', उनले भनिन्, 'छोरी जन्मदा खुसी नहुने समाजमा छोरीप्रति सम्मान र आत्मनिर्भरताको विकास गर्नुका साथै भ्रूण हत्या रोक्नका लागि पनि यो अभियान सुरु गरिएको हो ।' हुप्सेकोट गाउँपालिकाले आव २०७७/७८ देखि यो कार्यक्रम सुरु गरेको हो । उक्त कार्यक्रममार्फत हालसम्म ३१२ जना छोरी लाभान्वित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीले बताए । 'आव २०७७/७८ मा ३८ जना, २०७८/७९ मा ५९ जना, २०७९/८० मा ९७ जना र २०८०/८१ मा ६२ जना बालिकाको बैंक खातामा रकम जम्मा गरिएको छ', उनले भने । उक्त कार्यक्रम सञ्चालन भएपछि उमेर पुगेर बच्चा जन्माउने, नियमित स्वास्थ्य चौकी आएर गर्भपरीक्षण गर्ने, अस्पतालमा नै सुत्केरी हुने, बच्चाको समयमै जन्म दर्ता गरिदिनेलगायतका सकारात्मक बानीको विकास भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण सापकोटाले बताए । रासस