वीरगञ्ज महानगरद्वारा ६१ करोड ४७ लाख राजस्व संकलन

वीरगञ्ज । वीरगञ्ज महानगरले गत आर्थिक वर्षमा ६१ करोड ४७ लाख १७ हजार १ सय ३१ रुपैयाँ राजस्व संकलन गरेको छ । महानगरले संकलन गरेको उक्त राजस्व अघिल्लो आवको तुलनामा ४ करोड ४५ लाख ४३ हजार ९ सय ३० रुपैयाँले बढी हो । महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले गत पुसमा बजेट संशोधन गर्दै ९० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेपनि सो अवधिमा ६१ करोड ४७ लाख रुपैयाँ राजस्व संकलन गरेको बताए । ‘आर्थिक मन्दिले करदाता पीडामा भएको बेला पनि उक्त रकम राजस्व संकलन उठ्नुलाई सकारात्मक नै मान्नुपर्ने देखिन्छ,’ उनले भने, ‘आर्थिक वर्षमा राजस्वको लक्ष्य निर्धारण गर्दा आम्दानीलाई हेरेरभन्दा पनि खर्चमा आधारित हुने गरी गराउँदा लक्ष्य पछ्याउँन समस्या भएको हो ।’ राजस्व महाशाखा प्रमुख कर्णले वीरगञ्ज महानगरमा गत आवमा करको दायरा पनि बढाउन नसकिएको बताए । ‘गत आवमा घरेलु उद्योग तथा वाणिज्य उद्योग धेरै बन्द भए जसको असर राजस्व सङ्कलनमा पनि परेको छ,’ उनले भने । महानगरले गत आवमा सबैभन्दा धेरै राजस्व सम्पत्ति करमा उठाएको छ । सो शीर्षमा महानगरले २० करोड ६ लाख ८४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । त्यस्तै घरबहाल करबापत ११ करोड ७७ लाख ४४ हजार रुपैयाँ आम्दानी गरेको छ । चालु र पुँजीगत खर्च पनि उत्साहजनक छैन महानगरको गत आवमा पुँजीगत खर्च उत्साहजनक नभएको देखिएको छ । महानगरले पुँजीगततर्फ १ अर्ब ८ करोड ९२ लाख रुपैयाँ विनियोजन गरेकोमध्ये सो अवधिमा ६८ करोड १० लाख रुपैयाँ रकम खर्च गर्न सकेको हो । त्यस्तै चालु खर्चतर्फ २ अर्ब ५६ करोड ५८ लाख रुपैयाँ बजेट विनियोजनमध्ये १ अर्ब ७५ करोड ६९ लाख रकम खर्च गरेको छ ।

न्युरोडको फुटपाथ बढाउन स्थानीयले गरे अवरोध, महानगर भन्छ : काम रोकिँदैन

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २२ स्थित न्युरोडका स्थानीयले काठमाडौं महानगरपालिकाले फुटपाथ बढाउन थालेको कामलाई अवरोध गरेका छन् । शुक्रबार काठमाडौं महानगरपालिकाले वडा नं. २२ स्थित न्युरोड परिसरमा फुटपाथ बढाउने काम गरेको थियो । केही दिन अघि उच्च अदालतले फुटपाथ बढाउने महानगरपालिकाको काम अगाडी बढाउन सकिने आदेश दिएसँगै महानगरले फुटपाथ बढाउने काम शुरु गरेको थियो । स्थानीयले फुटपाथ बढाउने कामको बिरोध गर्दै अवरोध गरेका हुन् । उनीहरुले महानगरपालिका विरुद्ध नाराबाजी गर्दै काममा अवरोध गरेका थिए । काठमाडौं महानगरपालिकाले भने कानूनको परिपालना गर्दै काम गरिएको भन्दै अवरोध गर्नेहरुले अदालतको आदेशको अवहेलना गरेको बताएको छ । अदालतलको आदेशको अवहेलना गर्नेलाई कानूनअनुसार कारबाही हुने चेतावनी समेत दिइएको छ । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै काठमाडौं महानगरपालिका प्रमुखका स्वकिय सचिव भूपदेव साहले महानगरले पूर्वयोजना अनुसारको काम अगाडी बढाएको बताए । उनले अदालतको आदेशअनुसार आफूहरुले काम गरेको भन्दै कानून अनुसार अगाडी बढ्ने बताए । उनले काम नरोकिने र अदालतको आदेश कडाइपूर्वक कार्यान्वयन गर्ने जनाउँदै शान्ति सुव्यवस्था कायम गर्ने जिम्मेवारी नेपाल सरकारको भएको जानकारी दिए । ‘अहिले अदालतले गर्नुस्, नरोक्नुस् भनेपछि हामीले कानूनको पालना गर्दै सबैकुरा अगाडी बढाइरहेका छौँ । हिजो रोक भन्दा हामीले रोकेको हो । हामीले आदेशको पालना गर्ने हो, हामीले कानूनको पालना गर्दैगर्दा जो मान्छेहरु यो हुनुहुँदैन भनेर आइरहनुभएको छ, उहाँहरुले अदालतको आदेशको अवहेलना गर्नुभएको छ’, उनले भने । उनले महानगरपालिकाले न्यूरोडमा फुटपाथ बढाउने काम नरोक्ने स्पष्ट पारे ।

न्युरोड क्षेत्रको फुटपाथ विस्तार कार्यमा स्थानीय र व्यवसायीको विरोध

काठमाडौं । काठमाडौंको न्युरोड क्षेत्रको फुटपाथ विस्तार कार्यमा स्थानीयले अवरोध गरेका छन् । शुक्रबार बिहानैबाट काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारको काम थाले पनि स्थानीय र व्यवसायीहरुले विरोध गरेका हुन् । स्थानीयहरुले न्युरोडमा फुटपाथ बढाउन नहुने बताएका छन् । स्थानीय र व्यवसायीहरु फुटपाथ विस्तरको विरोधमा उत्रिएपछि ठूलो संख्यामा नेपाल प्रहरी र महानगर प्रहरी खटाएको छ । उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः काम शुरु गरेको थियो । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्युरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न आदेश दिएको थियो ।