प्रविधि मैत्री बन्दै काठमाडौं महानगरका विद्यालय, २० वटा डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक गुणस्तरको लागि सामुदायिक विद्यालयलाई प्रविधि मैत्री बनाउन थालेको छ । कामपा-२६ ले पनि लैनचौरस्थित शान्ति विद्या गृह माध्यमिक विद्यालयलाई प्रविधिमा आधारित शिक्षण सिकाइ क्रियाकलापका लागि २० वटा डिजिटल बोर्ड हस्तान्तरण गरेको छ ।  वडाध्यक्ष ख्यामराज तिवारीले विद्यालयका प्रधानाध्यापक शिवकुमारी बराल घिमिरेलाई बोर्ड हस्तान्तरण गर्नुभएको हो । प्रदान गरिएका बोर्डहरू ६५ इञ्चका छन् । वडाले सार्वजनिक खरिद प्रक्रियाबाट ४३ लाख ५९ हजार ५४० रुपैयाँ मूल्यमा सामान प्राप्त गरेको हो । बोर्ड हस्तान्तरण गर्दै वडाध्यक्ष तिवारीले भने, ‘पूर्वाधार, सामान तथा उपकरण र प्रविधि प्राप्त गर्नु भनेको गुणस्तरीय कार्यक्रमका जग हो सही उपयोग भएन भने नतिजा आउँदैन । यसकारण शिक्षकहरूले पनि आफूलाई समयसापेक्ष रुपान्तरण गर्दै प्रविधिमा आधारित कक्षा सञ्चालनमा दक्ष बनाउनुपर्छ । तालिम आवश्यक परे भन्नु परो त्यसका लागि कामपा उपलब्ध गराउन तयार छ ।’ उनले विद्यालयका लागि करिब ४० लाख रुपैयाँ लागत बराबरको कम्प्युटर ल्याब बनाउने योजना सार्वजनिक खरिद प्रक्रियामा रहेको समेत जानकारी दिँदै सबै प्रक्रिया पूरा भएपछि जडान हुने बताए । वडाबाट गरिएको  लगानीले विद्यालयलाई कामपाकै नमूना विद्यालयका रुपमा विकास गर्नका लागि हो । वडाध्यक्ष तिवारीले अपेक्षा राखे ।  शैक्षिक गुणस्तर विकासका लागि आउँदो १० वर्षपछिको समय पूर्वानुमान गरेर अहिलेदेखि नै कार्यक्रम कार्यान्वयनमा लैजानुपर्ने विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले धारणा थियो । वडाका सचिव केदार रिमालका अनुसार स्थानीय परिवेशलाई विश्वको अवस्थासँग दाँजेर प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न कामपाका  कार्यक्रममा वडाले आफ्नो लगानी जोडेको बताए ।  त्यस्तै कामपाले केही दिन अघि मात्रै सामुदायिक विद्यालयका कक्षाकोठामा ५० हजार घण्टा क्षमता भएको स्मार्ट बोर्ड जडान सुरू गरेको थियो । कामपाले रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड जडान गरी उक्त कार्यको थालनी गरेको थियो । कामपाको गौरव योजना अन्तर्गत ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ कार्यक्रम अन्तर्गत सूचना प्रविधि मैत्री विद्यालय, डिजिटल शिक्षण सिकाइ कार्यक्रमका लागि चालु र क्रमागत गरेर करिब २० करोड रुपैयाँ विनियोजित रहेको कामपाको निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीले बताए । 

सबै वडामा आफ्नै भवन बनाउँदै नेपालगञ्ज उपमहानगरपालिका

काठमाडौं । नेपालगञ्ज उप-महानगरपालिकाले सबै वडा कार्यालयको आफ्नै सुविधा सम्पन्न भवन बनाउने योजना कार्यान्वयन गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ को शुक्रबार वडा कार्यालय भवन शिलान्यास गर्दै उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले आफ्नै भवन नभएका सबै वडाको व्यवस्थित कार्यालय भवन निर्माण सुरु गरेको बताए । ‘नेपालगञ्ज उपमहानगरपालिकाका केही वडा कार्यालय अझै पनि भाडाका घरबाट सेवा प्रवाह गर्नुपर्ने बाध्यता रहेको छ । वडा कार्यालयले जग्गाको व्यवस्था सुनिश्चित गर्नासाथ भवन निर्माणमा उप-महानगरपालिकाले बजेट व्यवस्थापन गर्नेछ,’ उनले भने ।  नगर प्रमुख विष्टले आनन्द नगर टोलमा नेपालगञ्ज-९ को वडा कार्यालय भवन शिलान्यास गरेका हुन् । उनले निर्धारित समयमै कार्य सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गर्दै आवश्यक बजेट व्यवस्थापनका लागि आफूले पहल गर्ने बताए ।  नेपालगञ्ज उपमहानगरपालिका–९ का वडाध्यक्ष गोविन्दप्रसाद रेग्मीले वडावासीलाई आफ्नै सुविधा सम्पन्न भवनबाट अझ सहज रूपमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ वडा कार्यालयको भवन निर्माण सुरु गरिएको बताए । चालु आर्थिक वर्षमा वडाको २५ लाख रुपैयाँ बजेट र बाँकी नेपालगन्ज उप-महानगरपालिकाले व्यवस्थापन गर्ने गरी निर्माणकार्य सुरु गरिएको जानकारी दिए । भवन निर्माणको लागि ४० लाख रुपैयाँमा टेण्डर आह्वान गरेकोमा रु ३३ लाखमा ठेक्का स्वीकृत भएको उनको भनाइ छ ।  वडासचिव तेज बहादुर सिंहले वडा कार्यालय भवन निर्धारित समयमै निर्माण सम्पन्न गर्ने गरी योजनाका साथ काम सुरु गरिएको बताए । नेपालगञ्ज उपमहानगरपालिका-४, ५, ६, ७, ८,९ र ११ वडा कार्यालय अहिले पनि भाडाको घरबाट सेवा प्रवाह गर्दै आएका छन् ।

धरानका मेयर साम्पाङविरुद्ध बिना अनुमति रुख फडानीको आरोपमा छानबिन सुरु

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङविरुद्ध सामुदायिक वनमा अनुमति बिना रुख फडानी गरेको आरोपमा छानबिन सुरु गरिएको छ । धरान-२० स्थित बिष्णुपादुका सामुदायिक वन क्षेत्रमा ‘फायर लेन’ बनाउने भन्दै मेयर साम्पाङले चैत १९ गते मेसिन प्रयोग गरेर रुख फडानी गरेको उजुरी परेपछि डिभिजन वन कार्यालय, सुनसरीले छानबिन प्रक्रिया थालेको हो । डिभिजन वन कार्यालयका प्रमुख खुद्रोस मियाँका अनुसार सो विषयमा उजुरी परेपछि तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिको संयोजकमा बिष्णुपादुका सब-डिभिजन वन अधिकृत महेश कुमार शाह रहेका छन् । यस्तै, पञ्चकन्या सब-डिभिजन वन अधिकृत लेखनाथ भण्डारी र सहायक वन अधिकृत फुलकुमारी भोटे सदस्य छन् । समितिले स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाएपछि वन ऐनअनुसार आवश्यक कारबाही गरिने कार्यालयले जनाएको छ । प्रमुख मियाँले वन क्षेत्रभित्र अनुमति बिना रुख काट्न कानुनी रूपमा निषेध गरिएको स्पष्ट पारे ।