भरतपुर महानगरले वितरण गर्यो १ करोड अनुदानको कृषि उपकरण
चितवन । भरतपुर महानगरपालिकाले कृषि समूह, फर्म तथा सहकारीलाई ६६ थान कृषि उपकरण वितरण गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उप–प्रमुख चित्रसेन अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले कृषकलाई उपकरणका चाबी हस्तान्तरण गरे । महानरपालिकाले ५० प्रतिशत अनुदानमा २ करोड रुपैयाँको उपकरण वितरण गरको कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले जानकारी दिए । उपकरण हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख दाहालले भरतपुर महानगरले कृषि उत्पादनलाई जोड दिएकाले वर्षेनी यस्ता यन्त्र उपकरण हस्तान्तरण गर्ने गरेको बताए । महानगरपालिकाले यसअघि कृषिमा आधुनिकीकरणलाई जोड दिने भन्दै आएपनि अहिले भने कार्यान्वयन गरेर अघि बढ्न थालिएको प्रमुख रेनु दाहालले बताइन् । यन्त्र उपकरणको उच्चतम प्रयोग गरी उत्पादनलाई वृद्धि गर्दै भरतपुरलाई कृषिमा आत्मनिर्भर बनाउने गरी नीति तथा कार्यक्रमहरु अघि बढाइएको उनले बताइन् । नारायणी लिफ्ट सिँचाइलाई १२ महिना सञ्चालन गरी कृषिलाई ३ बाली खेती गर्न मिल्ने व्यवस्था मिलाउन लागेको उनको भनाई थियो । महानगरले सो कार्यक्रममा ट्रयाक्टर ४ थान, हाते ट्रयाक्टर ६ थान, धान तथा गहुँ काट्ने रिपर १२ थान, थ्रेसर ३ थान, रोटाभेटर २ थान, मकै छोडाउने कर्न सेलर १७ थान, तेरी मिल ३ थान हस्तान्तरण गरेको हो । यस्तै मकै रोप्ने मेज प्लान्टर ३ थान, घाँस टुक्राउने च्याफ कटर १२ थान, राइस मिल १ थान, मिल्क एनालाइजर ६ थान, चिलिङ भ्याट २ थान, माछाको दान बनाउने मिशेन १ थान, बलेरो पिकअप २ थान र ३ पाङ्ग्रे अटो २ थान हस्तान्तरण गरिएको थियो । कार्यक्रममा महानगरपालिकाका उप-प्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, उप-सचिव उपेन्द्रराज पौडेलको उपस्थिति रहेको थियो ।
एक करोड बढीको लागतमा वडा कार्यालय भवन निर्माण
म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिका–५ झिँमा वडा कार्यालय भवन निर्माण भएको छ । गाउँपालिकाले एक करोड २१ लाख रुपैयाँको लागतमा दुई तले सभाहलसहितको भवन निर्माण गरेको हो । गत वर्ष ५० लाख रुपैयाँ लागतमा उपभोक्ता समितिमार्फत पाँच कोठे भवनको पहिलो तला ढलान भएको थियो । यस वर्ष तला थपेर निर्माणलाई पूर्णता दिइएको वडाध्यक्ष मनबहादुर शेरपुञ्जाले बताए । भाँडाको घरमा सञ्चालित वडा कार्यालय केही दिनमै नयाँ भवनमा सर्ने तयारी भइरहेको उनले बताए । भवनमा वडाध्यक्ष, सदस्य, सचिव, प्राविधिक र सहायता कक्ष रहेका छन् । नयाँ भवन बनेपछि सेवा प्रवाह सहज हुने र भाँडाका लागि भइरहेको खर्च बचत हुने वडाध्यक्ष शेरपुञ्जाले बताए । ७१ लाख ६६ हजार चार सय १५ रुपैयाँमा गत चैत मा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले एक सय २० जना क्षमताको सभाहल, रङ्गरोगन, विद्युत, पानी, फर्निचरलगायत कामलाई पूर्णता दिएको गाउँपालिकाको प्राविधिक शाखा प्रमुख कमल चोखालले बताए । भवन निर्माण गर्न ५९ लाख रुपैयाँ खर्चेर चार रोपनी जग्गा खरिद गरिएको थियो । भवन परिसरमा घेराबारसहितका पूर्वाधार निर्माण गर्न आगामी आर्थिक वर्ष २०८१/८२ मा २७ लाख रुपैयाँ बजेट विनियोजन भएको वडाध्यक्ष शेरपुञ्जाले जानकारी दिए । आठ वटा वडा रहेको गाउँपालिकाले यसअघि मौवाफाँटमा वडा नं ६ र भगवतीमा २ नं का लागि भवन निर्माण गरेको थियो । वडा नं ७ को कार्यालय साविक चिमखोला गाविसको भवनबाट सञ्चालन भइरहेको छ । वडा नं १ बेगखोला, वडा नं ३ पिप्ले, वडा नं ४ दग्नाम र वडा नं ८ कुइनेमङ्गलेको कार्यालय तत्कालीन गाविस, सामुदायिक विद्यालय भवनबाट सञ्चालित छन् । रासस
हुम्लाको सर्केगाड पालिकाद्वारा बिलबिना ७३ लाख बढी भुक्तानी
हुम्ला । जिल्लाको सर्केगाड गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा ७३ लाख रुपैयाँभन्दा बढी आवश्यक कागजातबिनै भुक्तानी दिएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा बिलबिजक बिना नै भुक्तानी दिइएको औँल्याइएको छ । उक्त पालिकाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७, को नियम ३९ ९५० मा विपरीत उक्त आर्थिक वर्षमा ७३ लाख १३ हजार तीन सय रुपैयाँ भुक्तानी दिएको प्रतिवेदनमा उल्लेख छ । उक्त रकम घरभाडाबापत १ लाख ९६ हजार ५६०, बैठक भत्ता ४० हजार, राहत वितरण १ लाख ३५ हजार, इन्धनमा ३५ हजार, कार्यालय सामान खरिदमा १ लाख, अनुगमन भत्ता २ लाख, विद्युतीय सामग्री खरिदमा ३ लाख ९० हजार रुपैयाँ खर्च भएको छ । यसैबीच, सिमकोट गाउँपालिका-१ र २ को ठेहे गाउँस्थित पञ्चमुखी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई व्यक्तिगत सरसफाइबारे प्रशिक्षण दिइएको छ । सबैका लागि दिगो खानेपानी, सरसफाइ र स्वच्छता परियोजनाले मंगलबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई सरसफाइबारे प्रशिक्षण दिएको हो । कक्षा ५ सम्म अध्यापन हुने उक्त विद्यालयका हरेक विद्यार्थीलाई एउटा हातधुने साबुन पनि वितरण गरिएको थियो ।