चितवनमा मापदण्डविपरीतका संरचना भत्काइँदै

चितवन । भरतपुर महानगरपालिकाले पुङ्गी खोला किनारमा अतिक्रमित संरचना भत्काउन सुरु गरेपछि घरधनी आफैँले भत्काउन थालेका छन् । महानगरले पुङ्गी खोलाको विकास र सौन्दर्यकरण गर्ने कार्यक्रम अघि सारेसँगै नियमविपरीत निर्मित संरचना घरधनीले आफैँ भत्काउन थालेका हुन् । गत असोज २ गते महानगरपालिकाले केही संरचनामा डोजर चलाएको थियो । भरतपुर महानगरपालिका वडा नम्बर २ का अध्यक्ष मनोज रानाभाट अतिक्रमण गरी बनाइएका संरचना घरधनी आफैँले भत्काउन थालेको बताउँछन् । पुङ्गी खोलाको बाइपास सडकदेखि लाइन्सचोकसम्म अतिक्रमण गरी बनाइएका संरचना घरधनीले आफैँले भत्काइरहेका छन् । पुङ्गी खोला विकास तथा सौन्दर्यकरण करिडोर निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाबाट छ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । बाइपास सडकदेखि नारायणी नदीसम्म पुङ्गी खोला ६ दशमलव ५ किलोमिटरमध्ये बाइपासबाट लायन्सचोकसम्म तीन किलोमिटर र त्यहाँबाट नारायणीनदीसम्म सौन्दर्यीकरणको काम गत वर्षदेखि जारी छ । नगरलाई सुन्दर बनाउन खोला किनारका मुख्य बजारमा उद्यान, कसरत गर्ने स्थल, पैदलमार्गलगायत संरचना निर्माण हुने छन् ।

चेपाङ बस्तीको स्वास्थ्य संस्थालाई ३१ प्रकारका औषधि प्रदान

मुग्लिन । इच्छाकामना गाउँपालिका–१ भाराङमा रहेको सामुदायिक स्वास्थ्य एकाइलाई सपना भिलेज सोसल इम्प्याक्टले रु एक लाख २४ हजार बराबरका ३१ प्रकारका औषधि प्रदान गरेको छ । ती औषधि उक्त संस्थाका अध्यक्ष ध्रुव गिरीले भाराङ स्वास्थ्य एकाइका प्रमुख सूर्यबहादुर चेपाङलाई बुधबार एकाइमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा हस्तान्तरण गरे । इच्छाकामना गाउँपालिका स्वास्थ्य शाखाले उपलब्ध गराएको विवरणअनुसार ३१ प्रकारको औषधि प्रदान गरिएको अध्यक्ष गिरीले बताए । उक्त संस्थाले इच्छाकामना गाउँपालिका–१ का चेपाङ समुदायको जीवनस्तर उकास्न आयआर्जनका लागि पशुपालन, सागसब्जीखेती, शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको छ । यसअघि गाउँपालिकासँगको सहकार्यमा उक्त संस्थाले सात सय घरलाई सुधारिएको चुल्हो वितरण गरेको थियो ।

प्लाष्टिक झोलामुक्त अभियान : ३९१ किलो प्लाष्टिक जफत

दमौली । प्लाष्टिक झोलामुक्त क्षेत्र घोषणा गरेको व्यास नगरपालिकाले बुधबार बजार क्षेत्रका पसलबाट तीन सय ९१ किलो प्लाष्टिक झोला जफत गरेको छ । नगरपालिकाले बजार अनुगमनका क्रममा उक्त परिमाणका प्लाष्टिक झोला जफत गरेको हो । नगरपालिकाले गत जेठ १ गतेदेखि प्लाष्टिक झोलामुक्त नगर घोषणा गरेको थियो । पालिकाले प्लाष्टिक झोला प्रयोग गरेको सूचना दिनेलाई पुरस्कार दिने व्यवस्था पनि गरेको छ । दमौलीस्थित सृष्टि प्लाष्टिक उद्योगबाट एक किलो, नसिम स्टोर्सबाट तीन किलो, महाकाली जनरल स्टोर्सबाट एक सय २९ किलो, सूर्य प्लाष्टिक पसलबाट एक सय २३ किलो र ज्ञानमाला भाडा प्लाष्टिक पसलबाट एक सय ३५ किलो प्लाष्टिक झोला जफत गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए । नगरपालिकाले प्लाष्टिक झोला प्रयोगकर्ता, विक्रेता र उत्पादकलाई नगरपालिकको निर्णय विपरीत गरेमा जरिवानाको चेतावनी दिँदै जरिवाना रकम पनि तोकेको छ । प्लाष्टिक झोला उत्पादकलाई पहिलोपटक दुई हजार रुपैयाँ, दोस्रोपटक रु चार हजार र तेस्रोपटक छ हजार रुपैयाँ जरिवाना गरिने नगरपालिकाका वन तथा वातावरण समितिका संयोजक रनसिं नेपालीले जानकारी दिए । यसैगरी, नियम पालना नगर्ने विक्रेतालाई पहिलोपटक पाँच सय रुपैयाँ, दोस्रोपटक एक हजार रुपैयाँ र तेस्रोपटक  तीन हजार रुपैयाँ जरिवाना तोकिएको छ । प्रयोगकर्तालाई भने पहिलोपटक दश रुपैयाँ, दोस्रोपटक ५० रुपैयाँ जरिवाना तोकिएको छ । नगरपालिकाले बजार क्षेत्रभित्र प्लाष्टिक झोला प्रयोग नगर्न आग्रह गर्दै नगरका विभिन्न भागमा चेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।