ललितपुरको डिजिटल रोजगारी क्रान्ति : सीप, करिअर र कनेक्टिभिटी एउटै प्लेटफर्ममा

काठमाडौं । ललितपुर महानगरपालिकाले डिजिटल करिअर सर्भिस प्लेटफर्म सञ्चालनमा ल्याएको छ । महानगरले स्कील ल्याबको सहयकार्यमा उक्त प्लेटफर्म सञ्चालनमा ल्याएको हो । आन्तारिक रोजगार प्रवद्र्धन अभियान सञ्चालनको लागि यो प्लेटफर्म सुरु गरेको महानगरले जनाएको छ । ललितपुर महानगरले पछिल्लो समय आईसीटीमा आधारित भएर प्रविधिका क्षेत्रमा विभिन्न काम गर्दै आइरहेको छ ।  उक्त प्लेटफर्मको उद्घाटन गर्दै प्रमुख चिरीबाबु महर्जनले डिजिटलमैत्री सहर बनाउन महानगरले गरेको कामकै आधारमा देशभरका ७५३ पालिका र सात प्रदेशमध्येमा उत्कृष्ट महानगर भनेर पुरस्कृत भएको प्रमुख महर्जनले बताए ।  ‘महानगरले अहिलेसम्म प्रविधिका क्षेत्रमा जति पनि कामहरू गरिरहेको छ, ती काम कर्मकाण्डी काम मात्रै नभएर आईसीटीमा आधारित भएर गरिरहेका छौं, प्रमुख महर्जनले भने, ‘सूचना र प्रविधि प्रयोग गरेर स्थानीय जनस्तरमा सेवा पुर्‍याएकै कारण सरकारले उत्कृष्ट महानगर घोषणा गरेको छ । हामीले आईसिटी अवार्ड २०८१ पाइसकेका छौं ।’ अहिले आईटीमा धेरै प्रतिस्पर्धा रहेको उल्लेख गर्दै प्रमुख महर्जनले प्रतिस्पर्धा गर्न नसक्ने कम्पनी बजारमा टिक्नै नसक्ने बताए ।  ‘आईटीमा अभ्यस्त हुन सकेन भने काम पाउनै गाह्रो छ ।  हामी सबैले नयाँ–नयाँ इनोभेसनमा अभ्यस्त र अपडेट राखिराख्नुपर्छ,’ उनले भने । अहिलेको जमना जेन–जीको जमाना भएकाले यसलाई मूल्यांकन गरेर डिजिटल करिअर सर्भिस प्लेटफर्म सुरु गरेको प्रमुख महर्जनले प्रष्ट्याए । ‘अहिलेको जमानामा जेन्जीको जमाना हो, हामीलाई थाहा नभएको धेरे कुरा जेन–जीले चलाउँछन्,’ प्रमुख महर्जनले भने, ‘अहिलको आईटीको जमना भनेको जेन–जीको जमाना पनि हो । यी कुरालाई मूल्यांकन गरेर आइटीमा नयाँ केही गर्नुपर्छ भनेर बेटर सर्भिस दिने प्रयास हामीले गरिरहेका छौं ।’ संस्थागत रूपमा आईटी क्षेत्रलाई सम्बोधन गर्नुपर्छ भनेर यो वर्षदेखि महानगरलाई आईटीको हब बनाउने भनिएको छ । प्रमुख महर्जनले प्रविधिसँग सम्बन्धित कुरा जानकारी नभएकाले ती कुराहरू सिक्दै, गर्दै अघि बढ्न र सहकार्य गर्न तयार रहेको बताए । ललितपुर महानगरले भर्खर–भर्खरै एलएमसी अर्लट भनेर सुरु गरेको छ । जसबाट नगरबासीले अब जनप्रतिनिधिलाई सम्पर्क गरिरहनुपर्दैन । धेरैजसो सेवा अनलाइनबाटै लिन सकिने सुविधा महानगरले ल्याइसकेको छ ।  महानगरका उपप्रमुख मञ्जरी शाक्यले अहिलेको पुस्तालाई सहजीकरण गर्ने उद्देश्यसहित यो प्लेटफर्म सञ्चालनमा ल्याएको जानकारी दिइन् । उनले भनिन्, ‘पहिले धेरै कुरा भौतिक हुन्थ्यो, आवश्यक कुरा भौतिक रूपमै खोज्न जानुपथ्र्यो । अहिले सबै अनलाइनबाटै हुन थालेको छ । अहिलेका पुस्ता सहजता कहाँ छ भनेर खोज्न थालेका छन् । त्यसलाई मध्यनजर गरेर हामीले यो प्लेटर्फम सुरु गरेका हौं ।’  उप्रमुख शाक्यले यो डिजिटल प्लेटफर्म महानगरभित्रका युवाहरूको लागि करिअर बनाउन कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरिन् । देशमा सबैजना रोजगारको खोजीमा छन् भने रोजगारदाता दक्ष जनशक्तिको खोजीमा । यी दुईबीच भेट नभइरहेको अवस्थामा दुवैलाई जोड्ने काम यो डिजिजल प्लेटफर्मले गर्न सक्ने उपप्रमुख शाक्यले औंल्याइन् । युवाहरूमा चाहना एकातिर, रुचि एकातिर र योग्यता अर्कातिर हुँदा अन्यौलता सिर्जना भइरहेको हुन्छ, त्यो अन्यौलतालाई चिर्न यो प्लेटफर्मले मद्दत पु¥याउने शाक्य बताउँछिन् ।  उनले आफ्नो रुचि र योग्यता के हो त्यसमा निश्चित भएर मात्रै डिजिटल करिअर सर्भिस प्लेटफर्ममा गएर जागिरको लागि सेक्टर छनोट गर्न उनले आग्रह गरिन् । ‘आफ्नो आवश्यकतालाई चिन्न सक्नुपर्छ । आफूलाई क्वालिफाइड बनाउने हो । जहाँ अभाव छ, त्यहाँ सम्भावना हुन्छ । अभावलाई अवसरमा खोज्नूहोस् । एउटै कुरा निश्चित गरेर मात्रै अगाडि बढ्नूहोस् । जे भेट्यो त्यही होइन,’ उपप्रमुख महर्जनले भनिन् ।  रोजगार सेवा केन्द्रकी संयोजक लक्ष्मी कार्कीले यो प्लेटफर्म सञ्चालनमा आएसँगै महानगरभित्रका युवाले स्थानीय स्तरमै रोजगारी पाउने वातावारण सिर्जना भएको बताइन् ।  उनले भनिन्, ‘यसले नगरभित्रका साना तथा मझौला उद्योगलाई दक्ष जनशक्ति उपलब्ध हुने र युवाले स्थानीय तहमा रोजगार पाउने विश्वास लिएकी छु,’ उनले भनिन्, ‘यसबाट महिला, विपन्न वर्ग अपंगता भएका व्यक्ति लाभान्वित हुनेछन् ।’ नगरभित्रका युवाहरुमा सीप, शैक्षिक योग्यता र सम्भावना प्रशस्तै भएपनि अवसरको अभाव, पहुँचको तथा रोजगारदाताको समन्वयको अभावले गर्दा धेरै युवा अस्थायी तथा असुरक्षित रोजगारीमा संलग्न हुनुपरेको सुनाउँदै उपप्रमुख शाक्यले यो प्लेटफर्मले ती समस्या समाधानमा धेरै हदसम्म भूमिका खेल्ने औंल्याइन् ।  युथ स्कील ल्याबको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नन्दकिशोर मण्डलले सरकारी स्तरबाट इनोभेसनमा पायोनियर एकमात्रै महानगर ललितपुर भएको उल्लेख गर्दै त्यही महानगरले यो प्लेटफर्म सञ्चालन गरेर नयाँ इतिहास रचेको अभिव्यक्ति दिए।  यो प्लेटफर्मबाट रोजागरदाता, स्थानीय सरकार, सर्भिस सेकटर र प्रविधि संस्था यी चारै पक्षले खोजको शिक्षादेखि रोजगारीसम्मको सेवालाई निरन्तर उपलब्ध गराउन सकिने उनको भनाइ छ । उनका अनुसार यो प्लेटफर्मबाट आवश्यक सेवा मोबाइलबाटै हरेकको घरघरमा पुर्‍याउन सकिन्छ । अवसर चारैतिर छरिएपनि ती अवसर समान रुपमा सबैको हातमा पुग्न नसकेको अवस्थामा स्कील ल्यावले कसरी समान रुपमा सबैको हातमा अवसर पुर्‍याउन सकिन्छ, त्यसमा निरन्तर लागिपरेको उनले बताए ।  सीईओ मण्डलले भने, ‘हामीले कसरी डेमोक्रेटिक रूपमा सबैको हातमा समान अवसर पुर्‍याउन सकिन्छ, त्यसतर्फ ध्यान दिँदै आएका छौं ।  जसले पहुँच, सम्भावना र लिन्केज यी तीनवटै कुरालाई सन्तुलनमा राख्छ ।’ सबैको चिन्ता पढिसकेपछि के जागिर गर्ने, कसरी गर्ने भन्ने हुन्छ । यसमा ललितपुर महानगरले काम गर्दै आएको र त्यसमा साथ दिने काम स्कील ल्याबले गर्दै आएको उनले बताए ।  आजको दिनमा ७० प्रतिशत जागिरको निवदेन रिजेक्ट हुनुमा सही गन्तव्य र रोजगारीको छनोट गर्न नजानेर भएको सीईओ मण्डलले औंल्याए । ‘हामीले कस्तो गन्तव्य चुनेका छौं, भविष्यको लागि कस्तो सीप उपयुक्त हो, कति दक्षता चाहिन्छ भन्ने बारेमा सही जानकारी नहुँदा जब रिजेक्ट हुन्छ,’ उनले भने । नेपालमा अवसर छैन भन्ने गलत मानसिकता भएको बताउँदै उनले अवसरको कमी नभएर अवसरलाई ग्राब गर्नको लागि सीपको अभाव रहेको औंल्याए । सीपको कमी पूरा गर्नको लागि यो प्लेटफर्मले सहयोग गर्नेमा उनले विश्वास व्यक्त गरे ।  ‘अवसर प्रशस्तै छन्, अवसर प्राप्ति गर्नको लागि मिहिनेत गर्नुपर्छ । त्यो मिहिनेत अरुले हैन स्वंयले गर्नुपर्छ । त्यसको लागि प्लेटफर्म सञ्चालनमा आएको छ, यसको भरपूर प्रयोग गर्नूहोस्,’उनले भने । स्कील ल्याब नेपालबाट सुरु भएको इनोभेसन नेपालका शैक्षिक संस्थादेखि लिएर फिलिपिन्सका शैक्षिक संस्थाहरू, मलेसिया, इन्डोनेसियाका र त्यहाँका स्थानीय सरकारसँग र रोजगारदातासँग समन्वय गरेर कार्यरत रहँदै आएको छ । डिजिटल करिअर सर्भिस ललितपुर महानगरद्वारा सञ्चालन गरिएको नवीनतम डिजिटल सुविधा हो । जसले १८ देखि ३५ वर्षसम्मका शिक्षित युवाहरूलाई आत्ममूल्यांकन सीप विकास, उद्योगसम्बन्धी प्रशिक्षक तथा जागिर र इन्टर्नसीपमा पहुँच दिलाउन मद्दत गर्नेछ । यसबाहेक विद्यार्थीलाई करियर रोडम्याप, आवश्यक कोर्षहरू प्रदान गर्नेछ । साथै विद्यार्थीलाई स्कलरसीप पनि व्यवस्था रहेको छ । यसै प्लेटर्फमबाट युवाहरुले जागिरको लागि आवश्यक तालिम लिन पाउनेछन् ।अनलाइनबाटै सर्टिफिकेटसमेत उपलब्ध हुनेछ । 

दाङको शान्तिनगर गाउँपालिकाले विद्युत महसुल तिरिदिने

दाङ । दाङको शान्तिनगर गाउँपालिकाले पालिकाबासीको विद्युत् महसुल तिर्ने भएको छ । पालिकाले मङ्गलबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम एवं बजेटमा पालिकाबासीको न्यूनतम विद्युत् महसुल तिरिदिने घोषणा गरेको हो । पालिका अध्यक्ष प्रमोद बस्नेतका अनुसार न्यूनतम २० युनिटसम्मको विद्युत् महशुल पालिकाले तिरिदिने भएको हो । 'पालिकाबासीको मागका आधारमा यो नीति ल्याएका हौँ, यो लुम्बिनी प्रदेशकै नयाँ कार्यक्रम हो', अध्यक्ष बस्नेतले भने । ‘शान्तिनगर बासीको रहरः उज्यालो शान्तिनगर’ भन्ने अभियान स्वरूप उक्त नीति ल्याएको उनले बताए । शान्तिनगर गाउँपालिकाका सम्पूर्ण ग्राहकको न्यूनतम शुल्क गाउँपालिकामार्फत नेपाल विद्युत् प्राधिकरणमा रकम दाखिला गर्ने व्यवस्था मिलाउने नीतिमा समावेश गरिएको छ । यसले सबै नागरिकको ऊर्जामा पहुँच पुग्ने अपेक्षा लिइएको अध्यक्ष बस्नेतले बताए । त्यस्तै, पालिकाभित्रका चिकित्साशास्त्र, चिकित्सक, पाइलट अध्ययन गर्ने विद्यार्थीलाई निश्चित मापदण्डका आधारमा प्रोत्साहन रकम उपलब्ध गराइनेछ । खेलकुद क्षेत्रमा युवाहरूको आकर्षण वृद्धि गर्न राष्ट्रिय स्तरमा छनोट हुने खेलाडीलाई प्रोत्साहन रकम उपलब्ध गराइने बजेटमा उल्लेख छ । 

देशभरका ४६० मध्ये ४४५ गाउँपालिकाले समयमै ल्याए बजेट, १५ ले गरे संविधानको अवज्ञा

काठमाडौं । देशभरका ९७ प्रतिशत गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२ /०८३ का लागि नीति, कार्यक्रम र बजेट संविधानले तोकेको समयसीमा (असार १०) भित्र पेस गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अनुसार, ४६० मध्ये ४४५ गाउँपालिकाले समयमै बजेट प्रस्तुत गरेका हुन् । तर, १५ गाउँपालिकाले विभिन्न कारणले बजेट पेस गर्न सकेनन् । त्यसमध्ये एक गाउँपालिकासँग सम्पर्कसमेत हुन नसकेको महासंघले जनाएको छ । नेपालको संविधान र संघीय कानुनले स्थानीय तहलाई असार १० गतेभित्र आफ्नो सभामा बजेट पेस गर्नुपर्ने व्यवस्था गरेको छ । महासंघका अनुसार स्थानीय सरकारमा दोस्रो कार्यकालका जनप्रतिनिधिहरूको यो चौथो बजेट हो र समग्रमा सहभागिता उत्साहजनक रहेको छ । यद्यपि, १५ गाउँपालिकामा सभाको अधिवेशन नै सुरु हुन सकेको छैन भने एउटा गाउँपालिकासँग सम्पर्क हुन नसकेको महासंघले जनाएको छ । महासंघका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलद्वारा जारी विज्ञप्तिअनुसार समयमा बजेट पेस गर्न नसक्नुका पछाडि विभिन्न कारणहरू देखिएका छन् । जसमध्ये अध्यक्ष अस्वस्थ हुनु, जनप्रतिनिधिहरू कार्यक्षेत्र बाहिर रहनु, उनीहरूबीच आपसी द्वन्द्व हुनु, बजेट विनियोजनमा विवाद देखिनु तथा तयारीका लागि पर्याप्त समय नपुग्नु जस्ता कारण प्रमुख रहेका छन् । प्रदेशगत तथ्यांक हेर्दा कोशी र सुदूरपश्चिम प्रदेशका सबै गाउँपालिकाहरूले शतप्रतिशत बजेट प्रस्तुत गरेका छन्, जुन प्रशंसनीय छ । सबैभन्दा कमजोर प्रदर्शन मधेश प्रदेशको देखिएको छ, जहाँ ५९ मध्ये ९ वटा गाउँपालिकाले समयमा बजेट ल्याउन सकेनन् । मधेशमा ८५ प्रतिशत मात्रै प्रगति देखिएको छ । त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका २/२ तथा बागमती र कर्णाली प्रदेशका १/१ गाउँपालिकाले पनि समयसीमा गुमाएका छन् । महासंघले बाँकी रहेका गाउँपालिकाहरूले पनि केही दिनभित्रै सभा सुरु गर्ने जानकारी प्राप्त भएको जनाएको छ ।