उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
काठमाडौं । हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकामा आगामी मङ्सिर १६ गते हुन लागेको उपाध्यक्ष पदको स्थानीय तह उपनिर्वाचनका लागि शुक्रबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । हुम्लाका जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले औपचारिक रुपमा निर्वाचन कार्यालयको उद्घाटन गरेका हुन् । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्य तालिकाअनुसार नै शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । निर्वाचनको कार्य तालिकाअन्तर्गत मङ्सिर २ गते उम्मेदवारी मनोनयन दर्ता गरिने मुख्य निर्वाचन अधिकृत बरालले बताए । निर्वाचन कार्य तालिकाअनुसार उम्मेदवारी दर्ताको समय १० देखि ५ बजेसम्म हुनाका साथै सोही दिन नै उम्मेदवारको सूची सार्वजनिक हुने भएको छ । उम्मेदवारको विरोधमा उजुरी दिने मङ्सिर ३ गते र उजुरीमाथि छानबिन मङ्सिर ४ गते गरिने भएको बतइएको छ । उजुरीमाथिको छानबिनपछि उम्मेदवारको नामावली सोही दिन प्रकाशन गरिने भएको छ । त्यसैगरी उम्मेदवारको नाम फिर्ता लिने मङ्सिर ५ गते र उम्मेदवारको अन्तिम नामावली सोही दिन प्रकाशन गरेर उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने मुख्य निर्वाचन अधिकृत बरालले बताए । उपाध्यक्ष पदको उम्मेदवार नेपाली कांग्रेसले आफ्नो उम्मेदवार सविता बुढालाई सर्वसहमत टुङ्ग्याएको भए पनि नेपाल कम्युनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्रले अहिलेसम्म उम्मेदवार टुङ्ग्याएका छैनन् ।
काठमाडौं महानगरले गौशाला क्षेत्रमा रहेको अतिक्रमित संरचना हटायो
काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रमा रहेको अतिक्रमित संरचना हटाएको छ । शुक्रबार महानगरको डोजरले गौशाला क्षेत्रमा रहेको अतिक्रमित संरचनामा डोजर चलाइ हटाएको हो । अतिक्रमित संरचना हटाउन पटकपटक सूचना जारी गर्दा पनि अटेर गरेपछि डोजर लगाएर हटाउनुपरेको महानगर प्रहरी बलको भनाइ छ । अतिक्रमित संरचना हटाउन खोज्दा सामाजिक अभियन्ता र मारवाडी समुदायहरुले विरोध जनाएका थिए ।
२५ करोड खर्चेर नुवाकोटको माझिटारमा बन्यो शीतभण्डार
त्रिशूली । जिल्लाको विदुर नगरपालिका–५ माझिटारमा छ हजार मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण भएको छ । निर्माण थालिएको आठ वर्षमा शीतभण्डार तयार भएसगैँ तरकारी र फलफूल राख्न सुरु भएको हो । हिमालय शीतभण्डार प्रालिका सञ्चालक माधव गजुरेलले विसं २०७३ मङ्सिरमा काम सुरु गर्दा दश हजार मेट्रिकटन क्षमतामा निर्माणको योजना थालिएको भन्दै सङ्घीयता कार्यान्वयनमा आएपछि बागमती प्रदेश सरकारको अनुदान सहयोगमा शीतभण्डार क्षमता घटाएर छ हजार मेट्रिकटन बनाइएको जानकारी दिए । हाल जिल्लामा सञ्चालित पाँच हजार मेट्रिकटन क्षमताका दुईवटा शीतभण्डार रहेकामा अहिले निर्माण भएको जिल्लाकै ठूलो रहेको गजुरेलको भनाइ छ । यहाँ उत्पादित आलु, तरकारी, फलफूललगायत सामग्री राख्न विगतमा ठाउँ अभावले चुनौती भइरहेकामा नयाँ निर्माण भएको शीतभण्डारले किसानलाई सहुलियत शुल्कमा सहज बनाएको शीतभण्डार सञ्चालक गजुरेलले बताए । ‘आलु उत्पादनको लागि पकेट क्षेत्र मानिएको नुवाकोट र रसुवाका किसानले उत्पादन गरेको आलु शीतभण्डारको अभावले खन्ने वित्तिकै कम मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता थियो’, सञ्चालक गजुरेलले भने, ‘सहुलियत शुल्कमा शीतभण्डारको व्यवस्था भउपछि किसानले भनेको मूल्य पाउने अपेक्षा लिएका छौँ ।’ तेह्र रोपनी क्षेत्रफलमा २५ करोड रुपैयाँ लागतमा शीतभण्डार निर्माण भएको प्रालिका अध्यक्ष गोपी कँडेलले जानकारी दिए । उनका अनुसार प्रालिको पाँच करोड रुपैयाँ लागत रहने र बाँकी बागमती प्रदेश सरकारको अनुदान हुने गरी विसं २०७६ माघमा शीतभण्डार बनाउन ठेक्का लगाइएको थियो । अठार महिनामा काम सम्पन्न गर्ने गरी १९ करोड ९४ लाख रुपैयाँमा रसुवा कन्स्ट्रक्सनले जिम्मा लिएकामा निर्माण कम्पनीले लामो समयसम्म काम नगरेपछि प्रालि आफैँले निर्माण गरेको हो । तोकिएको समयमा काम सम्पन्न नहुँदा प्रदेश सरकारले लगाएको ठेक्का रकममा प्रालिले पाँच करोड रुपैयाँ लगानी थप गरेर शीतभण्डार तयार गरेको जनाइएको छ । निर्माण गरिएको शीतभण्डार अमेरिकन प्रविधिमा आधारित छ भने किसानले राख्ने सामग्रीमा बिमाको व्यवस्था गरिएकाले भण्डार गरिएका वस्तु सतप्रतिशत सुरक्षित रहने प्रालिले जनाएको छ । रासस