स्वास्थ्य बीमाको प्रिमियममा ललितपुर महानगरको उदाहरणीय काम

ललितपुर । ललितपुर महानगरले महानगरवासीको स्वास्थ्य बीमाको ४० प्रतिशत प्रिमियम तिर्ने भएको छ ।  ललितपुर महानगर र राष्ट्रिय बीमा बोर्डबीच बुधबार प्रिमियम तिर्नेसम्बन्धी समझदारीपत्रमा महानगर प्रमुख चिरीबाबु महर्जन र बीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले संयुक्त रुपमा हस्ताक्षर गरे । यसैगरी नगर प्रहरी, महानगरका सरसफाइकर्मी, सवारीचालक र महानगरमा बसोबास गर्ने एकल महिला र  टोल स्वास्थ्य उत्प्रेरक (टिएचपी)को भने सय प्रतिशत नै प्रिमियम तिर्ने महानगरले जनाएको हो । कार्यक्रममा चेक हस्तान्तरण पनि गरिएको थियो ।  ललितपुर महानगरले पाटन अस्पतालसँगको प्राविधिक सहयोगमा स्वास्थ्य बीमा कार्यक्रम दुई वर्ष अघिबाट सुरु गरेको हो । यल स्वास्थ्य केन्द्रमार्फत बीमा कार्यक्रमको प्रथम सेवा केन्द्रबाट प्राप्त हुने स्वास्थ्य सेवा लिइरहेका छन्।  ललितपुर महानगरका प्रमुख चिरी बाबु महर्जनले पाटन अस्पतालसँग सहकार्य गरेर महानगरको स्वास्थ्य क्षेत्रमा नयाँ र नौलो काम गरेको बताए । उनले भने, ‘महानगरले महानगरबासीलाई प्रदान गर्ने स्वास्थ्य सेवाको प्रस्थान बिन्दु हो ।’ कोभिडको बेलादेखि पाटन अस्पतालसँग सहकार्य गर्दै आएको बताए । कोभिडपछि महानगरले सहयोगमा पाटन अस्पतालमा अक्सिजन प्लान्टसमेत जडान गरेको नगर प्रमुख  बताए । पाटन अस्पतालमा मर्चरी हाउसको स्तरोन्नतिको लागि समेत महानगरले सहयोग थियो । उनले यल स्वास्थ्य केन्द्रमा चाप बढेको बताउँदै उपयुक्त स्थानमा यसलाई विस्तार गर्ने तयारी गरेको समेत उनले जानकारी दिए । महानगर प्रवक्ता राजु महर्जनले महानगर बासीको स्वास्थ्यप्रति महानगर संवेदनशील भएको बताउँदै प्रिमियम तिर्ने महानगर पहिलो स्थानीय तह भएको दाबी गरे ।  पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक रवि शाक्यले स्वास्थ्य बीमा कार्यक्रममा समेटिएका नागरिकको ४० प्रतिशत प्रिमियम तिर्ने निर्णय महत्वपूर्ण निर्णय भएको बताए । ललितपुर महानगर पाटन अस्पतालको अभिभावक भएको बताउँदै पाटन अस्पतालको उतारचढाव र कठिनाइमा सँगै भएको बताए ।  राष्ट्रिय बीमा बोर्डका रघुराज काफ्लेले बीमा कार्यक्रमभित्र समेटिएका नागरिकको ४० प्रतिशत बीमा गरेर महानगर आफ्ना नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएको प्रमाणित भएको बताए ।   उनले भने, ‘यो अन्य सात सय ५२ स्थानीय तहको लागि अनुकरणीय काम हो ।’ विभिन्न क्षेत्रमा बीमा कार्यक्रमलाई कमजोर बनाउन खोजिए पनि अब कसैले चाहेर पनि यो कार्यक्रम कमजोर हुन नसक्ने बताए । बीमा कार्यक्रम भुइँ तहका नागरिकले स्वास्थ्य क्षेत्रमा प्राप्त गरेको महत्वपूर्ण उपलब्धि भएको बताए । बीमा कार्यक्रमका थुप्रै आरोह अवरोह भएको बताउँदै त्यसलाई पन्छाउँदै अघि बढेको प्रष्ट पारे । एक सय पाँच भन्दा बढी मुलुकको स्वास्थ्य बीमाको मोडलबारे छलफल भएर लागू गरेको बताए ।

छात्रवृत्तिमा पढ्न चाहनुहुन्छ ? काठमाडौं महानगरले फारम खुला गर्‍यो

काठमाडौं । काठमाडौं महानगरले कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहनेहरूका लागि आवेदन खुला गरेको छ । माध्यामिक शिक्षा परीक्षा एसईईमा ग्रेड भएका विद्यार्थीलाई मध्यनजर गर्दै महानगरले सूचना निकालेको हो । महानगरपालिका अन्तर्गतका संस्थागत शिक्षण संस्थामा अध्ययन गर्न चाहने विद्यार्थीले अनलाइन मार्फत आवेदन दिन सक्ने महानगरपालिकाले जनाएको छ । इच्छुक विद्यार्थीले यही असार १८ गतेदेखि २७ गते रातीसम्म फारम भर्न सक्ने महानगरले एक सूचना जारी गर्दै जानकारी गराएको हो । आवेदन भरेका विद्यार्थीहरूको परीक्षा साउन ३ गते बिहान ८ बजेदेखि १० बजेसम्म परीक्षा लिइने छ । परीक्षामा सोधिने प्रश्नका विषय र क्षेत्र माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित सयवटा वस्तुगत बहुवैकल्पिक प्रश्न हुने छन् ।  

वडैपिच्छे विपद् स्वयंसेवक समूह बनाउँदै ललितपुर महानगर

ललितपुर । ललितपुर महानगरले वडैपिच्छे विपद् स्वयंसेवक समूह बनाउने भएको छ । सशस्त्र प्रहरी बलले ललितपुर महानगरसँग समन्वय गरी आयोजना गरेको समुदाय विपद् स्वयंसेवक तालिमको समापन समारोहमा वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक नारायण लाल अवालेले आगामी आर्थिक वर्षमा महानगरको सबै वडामा विपद् व्यवस्थापनको बारेमा ज्ञान र सीप भएको स्वयंसेवकको समूह बनाउने बताए । उनले भने, ‘३० –३५ जनाको ग्रप बनाउँछौँ, उहाँहरूलाई तालिम दिन्छौँ ।’ तालिम प्राप्त स्वयंसेवक समूहले विपद्को बारेमा ज्ञान बाड्ने र विपद् भइहाले उद्धारको काममा खटिने बताए । महानगर प्रमुख चिरी बाबु महर्जनले महानगरको कर्तव्य नगरबासीको सुरक्षा गर्नु भएको बताए । विपद् व्यवस्थापनको क्षेत्रमा महानगरले धेरै काम गरे जस्तो लागे पनि असोज दोस्रो साताको बाढीले धेरै काम गर्न बाँकी देखाएको बताए । उनले भने, ‘ त्यसैले ४ वटा डुंगा किन्यौँ , अब १ वटा थप्दैछौँ ।’स्वयम्सेवकको समूह बनाएर उनीहरुलाई तामिल दिने , विपद्सम्बन्धी ज्ञान र विपद् व्यवस्थापनको सीपबारे बुझाउन समुदायमा स्वयंसेवक तयार पार्ने धारणा राखे ।  ललितपुर जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रमेश ढकालले समुदायलाई विपद्का बारेमा ज्ञान र सीप सिकाउनु महत्वपूर्ण भएको बताउँदै सिकेका कुरालाई भविष्यमा हुनसक्ने विपद्का बेलामा प्रस्तुत गर्नु महत्वपूर्ण भएको बताए । नेपाली सेना राजदल गण लगनखेलका गणपति प्रमुख सेनानी स्वर्ण बहादुर चन्दले समुदायसँग जोडिएर विपद्बारे जान दिएर स्वयमसेवक तयार पार्नु भविष्यमा आइ पर्नसक्ने विपद्को पूर्वतयारी भएको बताए ।  ललितपुर महानगरसँगको समन्वयमा सशस्त्र प्रहरी बलले २८ जना स्वयंसेवकलाई १८ दिने तालिम दिएको हो । तालिममा प्रशिक्षार्थीहरुलाई विपद्को परिचय, नेपालमा हुन सक्ने विपदका घटना, सरोकारवाला निकायसँग गरिने समन्वय, भत्केका संरचनामा गरिने खोज तथा उद्धार, जलोत्पन्न विपद्, त्यसमा गरिने उद्धार, डोरीबाट गरिने उद्धारलगायतका विषयमा तालिम दिइएको थियो । यसैगरी महानगर प्रहरीलाई  उक्त गणले नगर प्रहरीलाई पनि विपद् उद्धारसम्बन्धी पेशागत तालिम दिइएको थियो । उक्त तालिममा २४ जना नगर प्रहरी सहभागी थिए । उनीहरुलाई ‘¥याफ्ट वोट ह्याण्डलिङ ’तथा वाटर रेस्क्यू तालिम दिइएको थियो । कार्यक्रममा तालिमप्राप्त प्रशिक्षार्थीले आगलागी नियन्त्रण गर्दाको डेमो, नदीमा डुबेकाको उद्धार, भारी वर्षाका कारण नदीमा आएको बाढीले उद्धारमा अवरोध भएपछि डोरीको माध्यमबाट गरिएको उद्धार र बाढी प्रभावितको उद्धार गर्न जाँदा नदीमा पल्टिएको डुङ्गामा सवारको उद्धारको डेमो प्रस्तुत गरेका थिए ।  तालिममा सहभागी भएकाले तालिम जीवनको महत्वपूर्ण मोड भएको बताउँदै तालिमले आत्मविश्वास र आत्मबल बढाएको बताए । उनीहरुले भने, ‘तालिमले समाजप्रतिको कर्तव्य बोध पनि भएको छ । ’ कार्यक्रममा तालिममा सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।