पुस मसान्तसम्ममा कर बुझाउनेलाई १० प्रतिशत छुट दिने महानगरको घोषणा
काठमाडौं । काठमाडौं महानगरले पुस मसान्तसम्ममा कर बुझाउने करदातालाई १० प्रतिशत कर छुट दिने घोषणा गरेको छ । महानगरले आगामी आव २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रमुख सुनिता डंगोलले करको दायरमा नआएकाहरुलाई करको दायरमा ल्याउने महानगरले सो छुट दिएको बताइन् । उपप्रमुख डंगोलले आगमी आवमा आन्तरिक आयतर्फ महानगरले लक्ष्यअनुसार प्रगति हासिल गर्न राजस्व असुलीका लागि प्रभावकारी बनाउनको लागि व्यवसायीकरणमा नयाँ करदाता पहिचान गर्ने बताइन् । करदातलाई व्यवसाय कर कारोबार हुने स्थलमै गएर सहजीकराग गर्नेमा महानगरले प्राथामिकतामा राखेको छ ।
काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड
काठमाडौं । काठमाडौं महानगरले आर्थिक वर्ष २०८२/८३ का २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । महानगरका उपप्रमुख सुनिता डंगोलले उक्त रकम बराबरको बजेट प्रस्तुत गरेकी हुन् । महानगरले नीति तथा कार्यक्रमलाई साकार पार्नको लागि आव २०८२/८३ को लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार सञ्चित कोषमा व्ययभार पर्नेगरी र ६५ करोड अन्य बाह्य व्ययभार हुनेगरी सो रकम बराबरको बजेट ल्याएको बताइन् । आगामी आर्थिक वर्षको लागि सञ्चित कोषमा २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार जम्मा हुने देखिएको छ । जसमध्ये काठमाडौं महानगरको आन्तरिक आय र बैंक मौज्दात गरी कुल २० अर्ब १२ करोड ६४ लाख रुपैयाँको स्रोत व्यवस्था हुने अनुमान गरेको छ । नेपाल सरकार, प्रदेश सरकारबाट सशर्त समानीकरण राजस्व बाँडफाँट प्राप्त हुने अनुदान ४ अर्ब ९८ करोड ७९ लाख ४१ हजारको स्रोत सुनिश्चित भएको प्रमुख डंगोलले बताइन् ।
काठमाडौं महानगरको बजेट खर्च ५२ प्रतिशत
काठमाडौं । काठमाडौं महानगरले चालु आव २०८१/८२ को असार २५ गतेसम्ममा कुल १३ अर्ब ३ करोड ७४ लाख ६० हजार रुपैयाँ खर्च गरेको छ । जुन कुल बजेटको ५२.१३ हो । महानगरले चालु आवको लागि बजेट कार्यान्वयनतर्फ कुल २४ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । महानगरले असारसम्ममा पुँजीगत तर्फ १५ अर्ब ६ करोड ५६ लाख १ हजार रुपैयाँ विनियोजन भएकोमा ६ अर्ब ७३ करोड ८० लाख रुपैयाँ पुँजीगत खर्च गरेको छ । जुन कुल बजेटको ४४.७२ प्रतिशत हुन आउँछ । चालुतर्फ ९ अर्ब ८२ करोड २० लाख ५० हजार विनियोजन भएकोमा ६ अर्ब २२ करोड ९९ लाख रुपैयाँ खर्च गरेको छ । जुन कुल बजेटको ६३.४२ प्रतिशत हो ।