बुढानीलकण्ठ नगरपालिका र डोल्पाका दुई पालिकाबीच शैक्षिक साझेदारी

ठूलीभेरी (डोल्पा) । शैक्षिक सुधारको साझा प्रयासस्वरूप काठमाडौंको बुढानीलकण्ठ नगरपालिका तथा त्रिपुरासुन्दरी नगरपालिका र शे-फोक्सुण्डो गाउँपालिकाबीच त्रिपक्षीय शैक्षिक साझेदारीका लागि सम्झौता भएको छ ।  डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा आयोजित कार्यक्रममा तीनवटै पालिकाका प्रमुखहरुले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतामा त्रिपुरासुन्दरी नगरप्रमुख जनचन्द्र रोकाया, शे-फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावासम्दुक गुरुङ र बुढानिलकण्ठ नगरप्रमुख मिठाराम अधिकारीले हस्ताक्षर गरे ।  नगरप्रमुख अधिकारीले बुढानीलकण्ठले पछिल्लो तीन वर्षमा १४ प्रतिशत गुणस्तरीय शैक्षिक वृद्धि हासिल गरेको उल्लेख गर्दै असल अभ्यास अन्य पालिकासँग साझा गर्दै आएको बताए ।  कक्षा १० सम्मका विद्यार्थीलाई निःशुल्क खाजा कार्यक्रम, चार जीपीए ल्याउनेलाई पाँच लाख रुपैयाँसम्मको पुरस्कारको व्यवस्था तथा महिला शिक्षालाई प्राथमिकता दिने उक्त समझदारीपत्रमा उल्लेख छ । त्रिपुरासुन्दरीका नगरप्रमुख रोकायाले डोल्पा शैक्षिक रूपमा पछाडि परेको भए पनि गुणस्तरीय शिक्षा विकासमा सहयोग र सहकार्यले महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गरे ।  शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष गुरुङले सकारात्मक सोच र जनचेतनाले दुर्गम क्षेत्रको रूपान्तरण सम्भव रहेको बताए । बुढानिलकण्ठ नगरपालिकाकी  उपप्रमुख अनिता लामाले डोल्पाको दुःख, मर्म र सम्भावनाको गहिरो अनुभव गरिएको उल्लेख गर्दै भनिन्, 'यार्सागुम्बा मात्र होइन, डोल्पामा रहेका विविध उत्पादनले देशको अर्थतन्त्रमा योगदान दिन सक्छन् । प्रशासकीय र राजनीतिक शक्ति सक्रिय भए मात्र शिक्षा र अन्य क्षेत्रमा परिवर्तन सम्भव छ ।’ उपप्रमुख लामाले सबै वडामा शैक्षिक सर्वेक्षण गरेर कुनै पनि बालबालिका विद्यालय बाहिर बस्न नपरोस् भन्ने उद्देश्यले काम अघि बढाएको जानकारी दिइन् । 'डोल्पाको धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदा काठमाडौँका लागि नयाँ सम्भावनाको स्रोत हुन सक्छ,' उनले जोड दिइन् । बुढानीलकण्ठ नगरपालिकाका शिक्षा महाशाखा प्रमुख ललितविक्रम सिंहले आफू दुई दशकपछि डोल्पा फर्किएको अनुभव सुनाउँदै त्रिपक्षीय साझेदारी, अनुभव आदानप्रदान र असल अभ्यास अनुसरणमार्फत शिक्षा क्षेत्रमा गुणस्तरीय सुधार ल्याउने साझा उद्देश्य रहेको बताए । त्रिपुरासुन्दरी नगरपालिकाका प्रशासकीय अधिकृत भीम थापाले विकट क्षेत्रमा रहेका सामुदायिक विद्यालयको शैक्षिक विकासमा बुढानीलकण्ठको सहकार्यले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनका अनुसार त्रिपुरासुन्दरी नगरपालिकामा हाल २९ सामुदायिक विद्यालय सञ्चालनमा छन् भने न्यूनतम स्रोत-साधनको बाबजुद नगरपालिका शैक्षिक विकासमा लागिपरेको छ । बुढानिलकण्ठ नगरपालिकाले डोल्पाका सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न र जेहेन्दार विद्यार्थीका लागि स्टेसनरी सामग्री (कापी, झोला र कलम) समेत प्रदान गरेको छ । सहकार्यले डोल्पा र काठमाडौं उपत्यकाबीचको भावनात्मक सम्बन्ध सुदृढ गर्दै शिक्षामार्फत् समावेशी विकासमा योगदान पुर्याउनुका साथै दुर्गम क्षेत्रलाई गुणस्तरीय शिक्षामार्फत भावनात्मक रूपमा काठमाडौंसँग जोड्ने र देशभित्रै भविष्य खोज्न सकिने विश्वास निर्माण गर्न सघाउने अपेक्षा गरिएको छ ।   

अछाममा सिलिण्डर पड्किँदा २७ घर जले, साढे ७ करोडभन्दा बढीको क्षति

काठमाडौं । अछाममा सिलिण्डर पड्किँदा २७ घर जलेर नष्ट भएका छन् भने साढे ७ करोडभन्दा बढीको क्षति भएको छ ।  जिल्लाको बान्निगढी जयगढ गाउँपालिकामा रहेको जयगढ बजारमा मंगलबार राति साढे ७ बजेको समयमा सिलिण्डर पड्किएको हो । पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा पुरै बजारमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय, अछामले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय, अछामका सूचना अधिकारी तथा प्रहरी निरीक्षक जय पार्कीका अनुसार आगलागीबाट २७ वटा पसल र घर जलेका छन् भने अनुमानित ७ करोडभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ ।  उनले भने, ‘गएराति साढे ७ बजेतिर ग्यास पड्किएर आगलागी भएको हो । हामीले आगलागी भएको ५ घण्टापछि मात्रै आगो नियन्त्रणमा लिन सक्यौं । यो ठाउँमा बाटो सानो भएकाले दमकल ल्याउन सकिएन ।’ नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको उनको भनाइ छ । आगलागी भएको ठाउँमा ११ व्यापारीले व्यवसाय गर्दै आएका बताए । अहिले क्षतिको विवरण सङ्कलन गरिरहेको प्रहरीले जनाएको छ।

घुम्ती खाद्य प्रयोगशालामा २४ प्रकारका परीक्षण, महानगरपालिकाको अनुगमनमा सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले घुम्ती प्रयोगशालामा २४ प्रकारभन्दा धेरै परीक्षण क्षमता भएको जनाएको छ । यस प्रयोगशालामा बजारबाट संकलित खाद्य नमूनाहरूको तत्काल परीक्षण गरी गुणस्तर मापन गर्न सकिन्छ । घुम्ती खाद्य प्रयोगशाला सञ्चालनको उद्देश्य खाद्य बजारमा गुणस्तरीय सेवा सुनिश्चित गर्नु हो, र यो प्रयोगशाला हाल काठमाडौंका विभिन्न क्यान्टिनमा परीक्षण गर्दैछ । पहिलो प्रयोग क्यान्टिनमा गरिएपछि अब यो प्रयोगशाला खाद्य व्यवसाय सञ्चालन हुने स्थानहरूमा खाद्य स्वच्छता, गुणस्तर निरीक्षण, र स्थलगत परीक्षणका लागि प्रयोग हुनेछ । प्रयोगशालामा फलफूल र तरकारीमा विषादीको अवशेष, दूधमा चिल्लो पदार्थ, र पानीको पिएच, क्लोरिन, र एनोमिया जस्ता विभिन्न परीक्षणहरू गर्न सकिन्छ । संकलित खाद्य नमूनाहरूको तौल जाँचदेखि विभिन्न परीक्षण उपकरणहरू जस्तै वाटर एडल्टरेसन किट, ल्याक्टोमिटर, ग्राइन्डर, रिफ्राक्टोमिटर लगायतका अन्य उपकरणहरू प्रयोग गरिन्छ । यी उपकरणहरूले खाद्य पदार्थको गुणवत्ता तथा सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण भूमिका निभाउनेछन् । यस घुम्ती प्रयोगशालाले काठमाडौं महानगरपालिकालाई खाद्य पदार्थहरूको स्वच्छता र गुणस्तर सुधार्न महत्त्वपूर्ण सहकार्य प्रदान गर्ने उद्देश्य राख्दछ। प्रयोगशालामा खाद्य प्राविधिक, माइक्रोबायोलोजिस्ट, र अन्य विज्ञहरूको एक संयुक्त टोलीले अनुगमन गर्नेछ । महानगरपालिकाका खाद्य प्राविधिक भारती अधिकारीका अनुसार, यस अघि पनि संकलित खाद्य पदार्थको नमूना खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको राष्ट्रिय खाद्य रिफरेन्स प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ । यसको परिणाम आउने काम बाँकी रहेको जानकारी दिइएको छ ।