९ महिनामा काठमाडौं महागनरको आम्दानी ७ अर्ब १६ करोड, अधिकांश शीर्षकमा खुम्चियो

काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को चैत्र मसान्तसम्म्को अवधिमा काठमाडौं  महानगरपालिकाको आम्दानी ९ प्रतिशतले बढेको छ । महानगरले उपलब्ध गराएको तथ्यांकअनुसार गत आवको ९ महिनाको तुलनामा चालु आवको सोही अवधिमा महानगरको आम्दानी ९.२० प्रतिशतले बढेको हो । चालु आवको चैत्रसम्ममा महाननगरले कुल ७ अर्ब १६ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको यही अवधिमा महानगरले ६ अर्ब ५६ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको थियो ।  चैत्र महिनामा मात्रै महानगरले ८९ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ६.९३ प्रतिशतले बढी हो । आव २०८१/८२ मा महानगरले १२ अर्ब ९० करोड ६३ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ । काठमाडौं महानगरले तीन शीर्षकमा आम्दानी गर्दै आइरहेको छ । महानगरले आन्तरिक राजश्व, बाँडफाँडबाट प्राप्त राजश्व र आन्तरिक अनुदान गरी तीन शीर्षकमा आम्दानी गर्दै आएको हो ।  तथ्यांकअनुसार यस अवधिमा महानगरले आन्तरिक राजश्व शीर्षकमा ४ अर्ब २५ करोड ६७ लाख १६ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन गत आवको तुलनामा न्यून वृद्धि अर्थात ३.९९ प्रतिशतले वृद्धि हो ।  बाँडफाँट प्राप्त राजश्वबाट महानगरले गत आवको तुलनामा ५६.९० प्रतिशतले वृद्धि गरेको छ । गत आवमा यस शीर्षकबाट ९७ करोड ८८ लाख ३२ हजार रुपैयाँ आम्दानी गरेको थियो ।  चालु आवमा महानगरलाई प्राप्त हुने आन्तरिक अनुदानसमेत घटेको छ । गत आवको तुलनामा चालु आवको ९ महिनामा आन्तरिक अनुदान ७.८७ प्रतिशतले घटेर १ अर्ब ३७ करोड ६७ लाख रुपैयाँ प्राप्त गरेको छ । गत आवमा महानगरले १ अर्ब ४९ करोड २९ लाख रुपैयाँ आम्दानी गरेको थियो । घरबहाल करबाट २ अर्बभन्दा बढी आम्दानी महानगरले सबैभन्दा बढी घरबहाल करबाट आम्दानी गरेको छ ।  चालु आवको ९ महिनामा महानगरले घरबहालबाट २ अर्ब ९ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेको तथ्यांक छ । यो आम्दानी गत आवको सोही अवधिको तुलनामा १४.६२ प्रतिशतले बढी हो । गत आवको ९ महिनामा महानगरले १ अर्ब ८२ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको थियो । महानगरले चैत्र महिनामा मात्रै यो शीर्षकबाट १६ करोड ४१ लाख रुपैयाँ संकलन गरेको छ । ९ महिनाको अवधिमा महानगरले सम्पति करबाट ९४ करोड ४५ लाख ७६ हजार रुपैयाँ उठाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा १९.७६ प्रतिशतले बढी हो । यस अवधिमा पर्यटन शुल्क गत आवको भन्दा ११.९२ प्रतिशतले बढेको छ । महानगरका अनुसार यस शीर्षकमा १५ करोड १३ लाख ७८ हजार रुपैयाँ संकलन भएको छ ।  महानगरको बेरुजु भने २९.६६ प्रतिशतले बढेको छ । गत वर्ष १ करोड ८० लाख १० हजार रुपैयाँमा रहेको बेरुजु यो वर्ष २ करोड ३३ लाख ५२ हजार रुपैयाँ पुगेको छ । यस्तै, प्रशासनिक दण्ड, जरिवाना र जफत १९ प्रतिशतले बढेको छ । तथ्यांकअनुसार शिक्षा क्षेत्रको आम्दानी १८.३६ प्रतिशतले बढेको छ । चालु आवको ९ महिनामा महानगरले यस शीर्षकबाट ५४ लाख ९९ हजार रुपैयाँ आम्दानी गरेको छ । यसबाहेक, घरजग्गा घरजग्गा रजिस्ट्रेसन दस्तुर १३६.६३ प्रतिशतले बढेको छ । उक्त शीर्षकबाट चालु आवको ९ महिनामा महानगरले १ अर्ब ५ करोड ३ लाख २८ हजार रुपैयाँ आम्दानी गरेको छ । बाँडफाँड भई प्राप्त हुने मूल्य अभिवृद्धि कर १४.१२ प्रतिशतले बढेर ७ करोड २२ लाख ७० हजार रुपैयाँ संकलन भएकाो तथ्यांक छ ।  बाँडफाँडबाट प्राप्त हुने अन्त शुल्क गत वर्षको तुलनामा १४.१२ प्रतिशतले बढेको छ । नेपाल सरकारबाट प्राप्त हुने सशर्त अनुदान चालु ५६.३२ प्रतिशतले बढेको छ । चालु आवको ९ महिनामा उक्त शीर्षकमा महानगरलाई ७९ लाख ३० हजार रकम प्राप्त भएको छ । नेपाल सरकार सशर्त अनुदान पुँजीगत २६५.५१ प्रतिशतले बढेको महानगरको तथ्यांक छ । यी शीर्षकमा घट्यो आम्दानी अन्य प्रशासनिक सेवा शुल्क शीर्षकमा महानगरको आम्दानी ८६.५७ प्रतिशतले घटेको छ । गत आवको ९ महिनामा ३ करोड ५ लाख रुपैयाँ राजश्व संकलन गरेको महानगरले चालु आवको यही अवधिमा ४१ लाख रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै, नक्सापास दस्तुरमा पनि महानगरको आम्दानी ४० प्रतिशतले खुम्चिएको छ । गत आवको यही अवधिमा ४९ करोड २८ लाख रुपैयाँ आम्दानी गरेको महानगरले चालु आवको सोही अवधिमा २९ करोड ११ लाख ८१ हजार रुपैयाँ आम्दानी गरेको महानगरको तथ्यांक छ । चैत्र मसान्तसम्मको तथ्यांकअनुसार महानगरले उठाउँदै आएको अन्य बिक्रीबाट प्राप्त रकम ५१ प्रतिशतले घटेको छ । गत वर्षको यही अवधिमा १ करोड २७ लाख ५२ हजार रुपैयाँ आम्दानी गरेको महानगरले चालु आवको सोही अवधिमा ६२ करोड ४० हजार रुपैयाँ मात्रै आम्दानी गरेको हो । यसपछि नाता प्रमाणित दस्तुर ९.५२ प्रतिशतले घटेको छ । बाँडफाँटबाट प्राप्त हुने सवारी साधन कर २३.९१ प्रतिशत, बाँडफाँटबाट प्राप्त हुने रोयल्टी ३९.४३ प्रतिशत, त्यस्तै नेपाल सरकार समानीकरण अनुदान ३३.८३ प्रतिशत घटेको छ । प्रदेश समानीकरण अनुदान ४५.९७ प्रतिशतले घटेको छ । प्रदेश शसर्त अनुदान पुँजीगत ७.८८, अन्य व्यक्तिगत आन्तारिक अनुदान २८.७० प्रतिशतले घटेको छ । यी शीर्षकमा महानगरको शून्य आम्दानी महानगरले उठाउँदै आएको पार्किङ शुल्क १०० प्रतिशतले घटेको छ ।  गत वर्षको यही अवधिमा महानगरले पार्किङ शुल्कबाट १ करोड २१ लाख ४८ हजार रुपैयाँ आम्दानी गरेको थियो । महानगरले चालु आर्थिक वर्षबाट महानगरभित्रका सार्वजनिक स्थानमा पार्किङ गर्दा निःशुल्क बनाएसँगै यस शीर्षकमा आम्दानी नभएको महानगरलले जनाएको छ । त्यस्तै, बाँडफाँटबाट प्राप्त हुने मनोरञ्जन कर र विज्ञापन करबाट पनि महानगरले ९ महिनामा शून्य आम्दानी गरेको छ । 

५ महिनापछि सिरहा नगरपालिकाले पायो प्रमुख प्रशासकीय अधिकृत

सिरहा । सिरहा नगरपालिकाले झन्डै पाँच महिनापछि प्रमुख प्रशासकीय अधिकृत पाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतका रूपमा नगरपालिकाकै स्वास्थ्य शाखा प्रमुख मोहम्मद इद्रिस राइनलाई जिम्मेवारी तोकेर कामकाजमा खटाएपछि आजदेखि उनी हाजिर भएका हुन् । यसअघि नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवको गत माघमा आर्थिक तथा प्रशाासनिक जिम्मेवारी खोसिएपछि नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको थियो । जसले गर्दा कार्यालयको दैनिक कामकाज प्रभावित भएको थियो । नयाँ प्रमुख प्रशासकीय अधिकृत राइनलाई आज नगर प्रमुख डा नवीनकुमार यादवले चादर ओढाएर डायरी र कलम दिँदै एक कार्यक्रमबीच नगरपालिकामा स्वागत गरेका छन् । स्वागत गर्दै नगर प्रमुख यादवले अधिकृत राइनलाई नगरपालिकाको हरेक गतिविधिहरू जनताको पक्षमा गर्न निर्देशन दिए । उनले नगरको सकारात्मक परिवर्तनका लागि कर्मचारीको कुशल नेतृत्व गर्न प्रमुख प्रशासकीय अधिकृतलाई आग्रह गरे । यस क्रममा प्रमुख प्रशासकीय अधिकृत मोहम्मद राइनले कुशल कार्यशैली अपनाएर जनमैत्री सेवा प्रवाह गर्न आफूले सकेको भूमिका निर्वाह गर्ने भन्दै सोही अनुरुप मातहतका कर्मचारीले पनि सकारात्मक सहयोग गर्नुपर्ने बताए । लामो समय प्रमुख प्रशासकीय अधिकृत नतोकिँदा नगरपालिकाले तर्जुमा गरेको चालु आर्थिक वर्षको योजना सञ्चालनमा अवरोध पुगेको थियो । त्यसैगरी, सम्पन्न भएका योजनाको भुक्तानी हुन नसक्दा सेवाग्राहीलाई समस्या भएको थियो भने ज्येष्ठ नागरिक, एकल महिला, पाँच वर्षमुनिका बालबालिकाले सामाजिक सुरक्षा भत्ता र बालपोषणको रकम पाउनबाट तथा कर्मचारी पारिश्रमिक पाउनबाट वञ्चित भएका थिए । रासस

काठमाडौं महानगरको मेलमिलाप संयन्त्र युरोपेली देशका लागि अनुकरणीय अभ्यास हो : उपप्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको मेलमिलाप संयन्त्र र त्यसबाट भएका अभ्यास युरोपेली देशहरूका लागि अनुकरणीय र सिकाइ योग्य बनेको उपप्रमुख सुनिता डंगोलले बताएकी छन् । वेल्जियम भ्रमण सम्पन्न गरी स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा उपप्रमुख डंगोलले भ्रमणका उपलब्धिबारे जानकारी दिइन् । 'स्थानीय तहबाट मेलमिलाप संयन्त्र सञ्चालन गर्ने प्रक्रिया उहाँहरूका लागि नौलो अनुभव रह्यो,' डंगोलले भनिन्, 'युरोपेली युनियनको वैकल्पिक विवाद समाधान अभ्यास अवलोकनपछि मैले काठमाडौं महानगरपालिकामा न्यायिक समितिमार्फत सञ्चालित वडा स्तरीय मेलमिलाप केन्द्र, महिला सञ्जालको गठन, निःशुल्क कानुनी सेवा र विपन्नका लागि अदालतमा कानुनी सहायता जस्ता प्रयासबारे प्रस्तुतिकरण गरेँ ।' उनका अनुसार प्रस्तुतिपछि सहभागी युरोपेली प्रतिनिधिहरूले काठमाडौं महानगरपालिकाको अभ्यास केही युरोपेली देशहरूको भन्दा प्रभावकारी भएको प्रतिक्रिया दिएका थिए । 'उक्त प्रतिक्रियाले खुशीसहित थप जिम्मेवारीको अनुभूति गराएको छ,' डंगोलले भनिन् । महानगरपालिकाले पछिल्लो समय स्थानीय तहमा न्यायसम्मत विवाद समाधानलाई सुदृढ बनाउने उद्देश्यले मेलमिलाप संयन्त्रलाई संस्थागत बनाउँदै आएको छ ।