पिउने पानीको जारमा किरा भेटिएपछि ललितपुर महानगरले तिरायो २५ हजार जरिवाना
काठमाडौं । ललितपुर महानगरपालिकाले केएम मिनिरल वाटर एण्ड बेभरेज प्रालिलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । कम्पनीले उत्पादन गरेको पानीको जारमा किरा भेटिएपछि जरिवाना गरिएको हो । ललितपुर महानगर प्रहरी बलका प्रमुख सिताराम हाछेथूका अनुसार पशु सेवा तालिम केन्द्र, ललितपुरमा पिउन ल्याइएको पानीको जारमा किरा देखिएको गुनासो आएपछि तत्काल निरीक्षण गरी कारबाही गरिएको हो । 'गुनासो आएलगत्तै हाम्रो टोली त्यहाँ पुगेको थियो,' हाछेथूले भने, 'निरीक्षणपछि कम्पनीलाई २५ हजार जरिवाना गरिएको छ ।' हाल उपत्यकाभर नगरपालिकाहरूले पिउने पानीका जार र बोतलमा बढ्दो गुनासोहरूपछि कडाइका साथ अनुगमन र निगरानी गरिरहेका छन् । गुणस्तरहीन पानी वितरण गर्नेहरूमाथि महानगरहरूले तत्काल कारबाही सुरु गरेका छन् ।
च्यासल-बालकुमारी क्षेत्रका कवाडी संकलन केन्द्रमा चल्यो डोजर, दुई मजदुर पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले च्यासल पुलदेखि बालकुमारी पुल क्षेत्रसम्म अव्यवस्थित रूपमा सञ्चालनमा रहेका कवाडी संकलन केन्द्रहरू डोजर लगाएर हटाएको छ । महानगर प्रहरी बलका प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार ती केन्द्रहरू आवासीय क्षेत्रमा नियमविपरीत सञ्चालन भइरहेका थिए । पटक-पटक सूचना दिँदासमेत अटेर गरेपछि आज डोजरसहितको टोली परिचालन गरी केन्द्र हटाइएको उनले जानकारी दिए । डोजर प्रयोग गरी संरचना हटाउने क्रममा विरोधस्वरूप दुई मजदुरले ढुंगामुढा गरेको र त्यस क्रममा डोजरको सिसा समेत फुटेको अर्यालले बताए । उक्त घटनापछि ढुंगा प्रहार गर्ने दुई जनालाई नियन्त्रणमा लिइएको छ । कारबाहीका लागि महानगरपालिकाले दर्जनौं नगर प्रहरी र सुरक्षाकर्मी परिचालन गरेको थियो । महानगरपालिकाले आवासीय क्षेत्रलाई व्यवस्थित गर्न र अव्यवस्थित व्यापारिक गतिविधिमा नियन्त्रण गर्न निरन्तर अनुगमन र कारबाही जारी राख्ने जनाएको छ ।
एभरेष्ट अस्पताललाई फोहोर व्यवस्थापन नगरेको भन्दै महानगरले तिरायो ५० हजार जरिवाना
काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापनमा लापरबाही गरेको भन्दै नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पताललाई ५० हजार रुपैयाँ जरिवाना तिर्न आदेश दिएको छ । महानगरको वातावरण व्यवस्थापन विभागले अस्पतालबाट हानीकारक फोहर उचित तरिकाले व्यवस्थापन नगरेको, पटक–पटकको सूचनालाई बेवास्ता गरेको भन्दै ‘काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७’ अनुसार जरिवाना गर्ने निर्णय गरेको हो । विभाग प्रमुख सरिता राईका अनुसार अस्पतालबाट निस्कने रासायनिक, औद्योगिक, स्वास्थ्यजन्य तथा अन्य जोखिमपूर्ण फोहर असावधानीपूर्वक व्यवस्थापन गरिएको भेटिएको थियो । ऐनको व्यवस्था अनुसार पहिलो पटक जथाभावी फोहर फाल्ने, राख्ने वा निष्कासन गरेमा ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिन्छ । सोही अपराध दोहोरिएमा पहिलेको जरिवानाको दोब्बर गरी कानुनी प्रक्रिया अघि बढाउने र अस्पतालको इजाजतसमेत खारेज गर्न सकिने प्रावधान छ । काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापनमा संवेदनशीलता अपनाउन सबै अस्पताल र स्वास्थ्य संस्थाहरुलाई सचेत गराउँदै पटक–पटक अवज्ञा भएमा कडाभन्दा कडा कारबाही गरिने चेतावनी दिएको छ ।