ललितपुर महानगर उज्यालो शहरको रूपमा स्थापित हुनेछ : मेयर महर्जन

ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नगरवासीको सुविधाका लागि अपाङ्गतामैत्री पुल निर्माण र सडक बत्ती जडानलाई महानगरको मुख्य प्राथमिकतामा राखिएको बताएका छन् । बिहीबार ललितपुर महानगरपालिका वडा नम्बर १४, २५ र २६ जोड्ने नख्खु खोलामा निर्मित नयाँ पुल उद्घाटन गर्दै मेयर महर्जनले पछिल्लो समय महानगर पुलमय भएको बताए । उनले कुसुन्ती क्षेत्रमा सडक पार गर्ने क्रममा पुलको अभावमा हालसम्म १६ जनाको ज्यान गइसकेको उल्लेख गर्दै दुर्घटना न्यूनीकरणका लागि महानगरले पुल निर्माण र सडक बत्ती जडानलाई तीव्रता दिएको जानकारी दिए । मेयर महर्जनका अनुसार चक्रपथ क्षेत्रको कुसुन्तीमा पैदल यात्रुका लागि अपाङ्गतामैत्री पुल निर्माण भइरहेको छ । साथै, सो क्षेत्रमा रातिको समयमा दुर्घटना रोक्न सडक बत्ती जडान गर्ने काम अन्तिम चरणमा पुगेको उनले बताए । ‘त्यहाँ पुल नभएकै कारण १६ जनाले ज्यान गुमाइसकेका छन् । यो हामी सबैका लागि दुःखद विषय हो। त्यसैले महानगरले चक्रपथ पार गर्न सुरक्षित बनाउने उद्देश्यले अपाङ्गमैत्री पुल निर्माण गरिरहेको छ । साथै, सडक बत्ती नहुँदा रातिको समयमा दुर्घटना बढ्ने भएकाले दशैँसम्म सम्पूर्ण बत्ती जडान सम्पन्न गरिसक्ने योजना बनाएका छौँ,’ मेयर महर्जनले भने । मेयर महर्जनले रात्रीकालीन समयमा हवाईजहाजबाट काठमाडौं उपत्यका छिर्दा सबैभन्दा उज्यालो देखिने क्षेत्र ललितपुर महानगरपालिका बनाउने लक्ष्यका साथ बत्तीको व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको उल्लेख गरे । ‘अबको केही महिनाभित्र ललितपुर महानगर उज्यालो शहरको रूपमा चिनिनेछ,’ उनले भने।

ललितपुर महानगरले ३९ करोड वित्तीय समानीकरण अनुदान पाउँदा अन्य पालिकाले कति पाए ?

काठमाडौं । ललिपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३९ करोड ७२ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान पाउने भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले ललितपुर महानगरलाई ३९ करोड ७२ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान दिन प्रस्ताव गरेको हो । आयोगले ललितपुर महानगरलाई ७ करोड ७५ लाख रुपैयाँ न्यूनतम, ३१ करोड ३४ लाख रुपैयाँ शूत्रमा आधारित र ६३ लाख रुपैयाँ कार्यसम्पादनमा आधारित अनुदान दिने प्रस्ताव गरेको हो । ललितपुरकै गोदावरी नगरपालिकाले १८ करोड ९० लाख रुपैयाँ अनुदान पाउने भएको छ । यता महालक्ष्मी नगरपालिकाले १७ करोड ८८ लाख रुपैयाँ अनुदान पाउने भएको छ । त्यस्तै, बागमती गाउँपालिकाले ७ करोड ७८ लाख रुपैयाँ , कोञ्ज्योसोम गाउँपालिकाले ७ करोड १४ लाख रुपैयाँ समानीकरण अनुदान पाउने भएका छन् । महांकाल गाउँपालिकाले सबैभन्दा कम ६ करोड ८७ लाख रुपैयाँ अनुदान पाउने भएको छ ।

सरकारलाई बालेनको चुनौती-‘मलाई जेल हाल’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले आफूलाई जेल हाल्न सरकारलाई चुनौती दिएका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध आफ्नै कर्मचारीहरूलाई बनाउन लगाएको राय प्रतिवेदन सार्वजनिक गर्दै उनले यस्तो चुनौती दिएका हुन् । उनले सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार अनि हामीले सुशासनको कुरा चाहिं भाषणमा सुन्नुपर्ने र माथिको कुरा गलत भए मलाई जेल हाल ।’ बालेनले स्टाटस लेख्दै गुरागाईंलाई भ्रष्टाचारीको संज्ञा दिएका छन् । प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानविन गर्न बालेनले बनाएको छानविन समितिले काठमाडौं टावरको नक्सा पास प्रक्रियामा गुरागाईंको गल्ती नभएको प्रतिवेदन दिएपछि बालेनले उक्त प्रतिवेदन नै बुझ्न मानेका थिएनन् । त्यसपछि बालेनले महानगरकै तीन विभागीय प्रमुखहरूलाई लेख्न लगाएको प्रतिवेदन आज फेसबुकमार्फत सार्वजनिक गरेका हुन् ।