बालेन र जापानी राजदूत तोरुबीच सहरी विकास र सेवा वितरणबारे छलफल
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि जापानका राजदूत मायादा तोरुले शिष्टाचार भेट गरेका छन् । बुधबार प्रमुख शाहको कार्यकक्षमा भेटघाट भएको हो । भेटमा सहरी विकास निर्माण, विकास व्यवस्थापन र सुविधा वितरणका आपसी अभ्यास र सिकाइका विषयमा कुराकानी भएको थियो । कुराकानीका क्रममा प्रमुख शाहले, काठमाडौंको सांस्कृतिक पहिचान अद्वितीय रहेको उल्लेख गरे । सांस्कृतिक मूर्त सम्पदा र मौलिक खानेकुरासँग सामाजिक तथा सांस्कृतिक जीवनको सम्बन्धका विषयमा जानकारी गराए । राजदूत तोरुले, काठमाडौं र जापानका सहरहरुका बिचमा सहरी आचरण सम्बन्धी आपसी ज्ञान र सिप आदानप्रदानको प्रशस्त सम्भावना रहेको उल्लेख गरे ।
सिञ्जा गाउँपालिकाले साढे २ हजार घरको बीमा गर्ने, २० लाख रुपैयाँ बीमाङ्क
काठमाडौं । जुम्लाको सिञ्जा गाउँपालिकाले २ हजार ४०० घरको घर बीमा गर्ने भएको छ । कर्णाली प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको चालु आर्थिक वर्षको स्वीकृत विपद् जोखिम बीमा कार्यक्रममा छनोट भएपछि घरको बीमा गर्न लागिएको हो । गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले सोही कार्यक्रमअनुसार २ हजार ४०० घरको बीमा गर्न लागिएको जानकारी दिए । गत चैत २५ गते उक्त कार्यक्रमका लागि मन्त्रालयले स्थानीय तहलाई १५ दिनको समय दिएर बीमा गर्ने विषयमा सहभागी हुन सूचना प्रकाशन गरेकामा सिञ्जा तोकिएको मापदण्डअनुसार छनोटमा परेको उनले बताए । अध्यक्ष धितालले भने, ‘कार्यक्रमका लागि मन्त्रालयले अधिकतम प्रतिघर २० लाख रुपैयाँको बीमाङ्क बराबरको जोखिम मूल्याङ्कनबाट हुन आउने बीमाशुल्क बापतको रकम भुक्तानी गरिदिने व्यवस्था गरेको छ । बीमा लागू भएपछि भूकम्प, आगलागी, बाढी तथा डुबान, हावा हुरीलगायत विपद्बाट क्षतिग्रस्त भएका घरको बीमामार्फत क्षतिपूर्ति पाउने छन् । एक परिवारका लागि एक घरको बीमा शुल्क प्रदेश सरकारले भुक्तानी गरिदिने व्यवस्था गरिएको छ ।’ कर्णालीका निजी तथा आवासीय घरमा विभिन्न विपद्बाट हुने क्षतिबाट बचाउन प्रदेश सरकारले घर बीमा कार्यक्रम सुरु गरेको हो । जसका लागि घर बीमा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०८१ कार्यान्वयनमा ल्याइएको छ । चालु आवमा बीमाका लागि प्रदेश सरकारले ४ करोड ७५ लाख रुपैयाँ बजेट छुट्याएको कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
निजी विद्यालयलाई छात्रवृत्ति विवरण पेस गर्न काठमाडौं महानगरको निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिकाले मातहतका निजी विद्यालयहरूलाई जेठको पहिलो सातासम्म छात्रवृत्तिको विवरण पेस गर्न निर्देशन दिएको छ । निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०५८ र काठमाडौं महानगर शिक्षा ऐन, २०६८ अनुसार, विद्यालयले कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने कानुनी व्यवस्था अनुरूप यो निर्देशन जारी गरिएको हो । महानगरको शिक्षा विभागले जारी गरेको सूचनामा कक्षा १ देखि १० सम्म अध्ययनरत जेहेन्दार, विपन्न, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द्वपीडित तथा शहीद परिवारका विद्यार्थीहरूलाई प्राथमिकता दिन विद्यालयहरूलाई आग्रह गरिएको छ । छात्रवृत्तिका लागि विद्यालयस्तरमै समिति गठन गर्न भनिएको छ, जसमा वडा अध्यक्ष (वा प्रतिनिधि), प्रधानाध्यापक, शिक्षा निरीक्षक र एक जना अभिभावक प्रतिनिधि रहनेछन् । विद्यालयले छात्रवृत्तिको विवरण महानगरको वेबसाइटमार्फत पठाउनु पर्ने छ । साथै विद्यालयहरूलाई सूचना पाटीमा छात्रवृत्तिसम्बन्धी सूचना टाँस गर्न र इच्छुक विद्यार्थी तथा अभिभावकलाई आवेदन दिन सक्ने व्यवस्था गर्न पनि भनिएको छ ।