हलगोरु पाल्ने १७८ किसानले पाए पोषण भत्ता, ८ लाख ९० हजार रुपैयाँ किसानको हातमा

काठमाडौं । बागलुङको काठे खोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई पोषण भत्ता वितरण गरेको छ । गाउँपालिकाले ‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ नीति तथा कार्यक्रम अन्तर्गत १७८ हलगोरु पाल्ने किसानलाई ५ हजार रुपैयाँका दरले पोषण भत्ता वितरण गरेको हो । परम्परागत तरिकाले खेतबारी जोत्नका लागि प्रयोग गरिने गोरुलाई संरक्षण गर्दै किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले ८ लाख ९० हजार रुपैयाँ पोषण भत्ता सोझै किसानको हातमा पुर्‍याइएको अध्यक्ष राजु थापाले बताए ।  गाउँपालिकाभित्र हलगोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गरेर १७८ जनालाई ५ हजार रुपैयाँका दरले पोषण भत्ता प्रदान गरिएको उनको भनाइ छ ।  ‘हलगोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षणका लागि कार्यक्रम अघि बढाएका थियौँ, हाल १७८ किसानले लाभ उठाउनुभएको छ । पालिकाले गोरु संरक्षण र मलमूत्रको उपयोगिता बढाउनुका लागि पहिलो पटक यो कार्यक्रम ल्याएको हो,’ अध्यक्ष थापाले भने, ‘गाउँपालिकाले यस कार्यक्रमलाई निरन्तरता दिन्छ, दूध उत्पादन गर्ने किसानले प्रति लिटर साढे दुई रुपैयाँका दरले अनुदानसमेत पाएका छन् भने वडा स्तरमा माइनर ल्याब स्थापना गरी पशु सेवा दिइएको छ ।’ आधुनिकताको नाममा मिनी टिलर हलो वितरण हुन थालेपछि परम्परागत गोरुपालक किसानलाई समस्यामा परेको महसुसपछि यस्तो कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ । ‘विभिन्न स्थानीय तहमा कृषिमा आधुनिकीकरणका नाममा मिनी टिलर हलो वितरण गर्ने लहड चलेको  तर हामीले गाउँ-गाउँमा परम्परागत खेती गर्नका लागि हलगोरु नै उपयुक्त देखेका छौँ । कृषिमा मलमूत्रको प्रयोग अपरिहार्य रहेकाले किसानलाई प्रोत्साहन गर्न यो अभियान सुरु गरेका हौँ’, अध्यक्ष थापाले भने ।  गाउँपालिका पशु शाखा प्रमुख होमबहादुर थापा गोरु पाल्दा वातावरणमा सकारात्मक प्रभाव पर्ने भएकाले यसलाई जोगाई राख्नुपर्ने आवश्यकता रहेको बताउँछन् । त्यसकारण पालिका आफैंले यो अभियानको सुरुआत गरेको उनले बताए ।  गाउँपालिका-७ रेशका गोरुपालक किसान डम्मरबहादुर थापाले गोरु पाल्ने किसानले पहिलोपटक सहयोग पाउँदा सम्मानको महसुस गरेको बताए । उनले रेशमा आफूजस्ता हलगोरु पाल्ने पाँच जना किसानले अनुदान पाएको बताए । काठे खोला गाउँपालिकाले किसानलाई प्रोत्साहनका लागि दूधमा समेत अनुदान दिन थालेको प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले जानकारी दिए ।  यस्तै, किसानलाई निःशुल्क रूपमा पशुलाई औषधि वितरण र ९२ वटा गाई भैँसीको नस्ल सुधारका लागि कृत्रिम गर्भाधान गराइएको उनले बताए । पालिकाले नयाँ बाख्रा पकेट विकास कार्यक्रममार्फत अनुदान र पशुपक्षी फार्म यन्त्रिकीकरणमा सहयोग गरिरहेको छ ।  

स्थानीयले चन्दा सङ्कलनबाट बस किने, गाउँपालिकाका अध्यक्षले विद्यालयलाई हस्तान्तरण गरे

काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ मा रहेको जामिया इस्लामिया मदर्शालाई बस हस्तान्तरण गरिएको छ । बुधबार एक कार्यक्रमबीच विद्यालय प्रशासनलाई औपचारिक रूपमा बस हस्तान्तरण गरिएको गाउँपालिका-२ का वडाध्यक्ष आलम अन्सारीले जानकारी दिए।  स्थानीयवासीले चन्दा सङकलन गरी खरिद गरिएको बस विद्यालयलाई हस्तान्तरण गरिएको उनले बताए । गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजादले विद्यालयका प्रधानाध्यापक समिमअख्तर फलाहीलाई बसको साँचो हस्तान्तरण गरे ।  स्थानीयवासीले विद्यालयलाई चन्दा सङ्कलन गरेर बस हस्तान्तरण गरेकोमा धन्यवाद दिँदै उनले शिक्षा यो प्रवर्द्धन तर्फको ऐतिहासिक कदम भएको धारणा राखे।  ‘हामीले गाउँपालिकालाई शिक्षामैत्री बनाउने प्रतिबद्धता गरेका छौँ । सोहीअनुसार सरकारी तथा निजी क्षेत्रबीचको सहकार्यमार्फत शैक्षिक गुणस्तर अभिवृद्धिमा यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ,’ अध्यक्ष आजादले भने ।  विद्यालयमा सवारीसाधन नहुँदा टाढाबाट आउने बालबालिकालाई समस्या हुँदै आएकामा अब केही राहत हुने विद्यालयका प्रधानाध्यापक फलाहीले बताए ।  ‘विद्यालयको आफ्नै सवारीसाधन नहुँदा टाढाबाट आउने विद्यार्थीले निजी, साथीसँगी वा सार्वजनिक सवारीको प्रयोग गरेर अध्ययनका लागि आउने गरेका थिए । अब केही राहत हुनेछ । यसका लागि सहयोग गर्ने सबैलाई धन्यवाद छ,’ उनले खुसी हुँदै भने । 

म्याग्दीको झिँमामा डेढ करोडको लागतमा वडा कार्यालय निर्माण

म्याग्दी । रघुगङ्गा गाउँपालिका- ५ झिँमा रु एक करोड ४८ लाखको लागतमा वडा कार्यालय भवन निर्माण भएको छ । आर्थिक वर्ष २०७९/८० मा सुरु भएको दुईतले सभाहलसहितको भवन निर्माण चालु आवमा सम्पन्न भएको हो ।  आव २०७९/८० मा ५० लाख लागतमा उपभोक्ता समितिमार्फत पाँचकोठे भवनको पहिलो तला ढलान भएको थियो । ७१ लाख ६६ हजार ४१५ मा २०८० चैतमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले एक सय २० जना क्षमताको सभाहल, रङरोगन, विद्युत्, पानी, फर्निचरको काम गरेको थियो । चालु आर्थिक वर्षमा विनियोजन भएको २७ लाख रुपैयाँ बजेटबाट घेराबार गरेर पूर्णता दिइएको वडाध्यक्ष मनबहादुर शेरपुञ्जाले बताए । भवन निर्माण गर्न ५९ लाख रुपैयाँ खर्चेर चार रोपनी जग्गा खरिद गरिएको थियो ।  भाडाको घरमा सञ्चालित वडा कार्यालय नयाँ भवनमा सारिएको छ । नयाँ भवन बनेपछि सेवा प्रवाह सहज भएको छ । भाडाका लागि भइरहेको खर्च बचत भएको वडाध्यक्ष शेरपुञ्जाले बताए । आठवटा वडा रहेको गाउँपालिकाले यसअघि पाखापानीमा वडा नं ६ र भगवतीमा वडा नं २ का लागि भवन निर्माण गरेको थियो । वडा नं ७ को कार्यालय साविक चिमखोला गाविसको भवनबाट सञ्चालन भइरहेको छ ।  वडा नं १ बेगखोला, वडा नं ३ पिप्ले, वडा नं ४ दग्नाम र वडा नं ८ कुइनेमङ्गलेको कार्यालय तत्कालीन गाविस, सामुदायिक विद्यालय भवनबाट सञ्चालित छन् । मौवाफाँटमा सभाहलसहितको भवन बनाएर कार्यालय सञ्चालन गरेको गाउँपालिकाले प्रशासकीय भवन निर्माणका लागि ठेक्का सम्झौता गरेको अध्यक्ष भवबहादुर भण्डारीले बताए । एक करोड १५ लाख ८६ हजार ४४७ कबोलेमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको हो । ठेक्का प्रक्रियामा १० वटा निर्माण कम्पनी सहभागी भएका थिए । आगामी वर्ष पनि बजेट विनियोजन गरेर भवन निर्माणलाई निरन्तरता दिने गाउँपालिकाले जनाएको छ ।