महानगरहरूमा सबैभन्दा बढी बेरुजु काठमाडौंमा, सबैभन्दा कम विराटनगरमा
काठमाडौं । देशभरका ६ वटा महानगरपालिकामध्ये सबैभन्दा बढी बेरुजु रकम काठमाडौं महानगरपालिकामा देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवेदनमा काठमाडौं महानगरको २.४७ प्रतिशत बेरुजु देखिएको हो । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०र८१ मा काठमाडौं महानगरको २७ अर्ब ५२ करोड ४४ लाख रुपैयाँको लेखा परीक्षण हुँदा जम्मा ६८ करोड २ लाख बेरुजु रहेको छ । यस्तै, पोखरा महानगरको ५० करोड ४३ लाख रूपैयाँ बेरुजु देखिएकोमा छ भने यस महानगरमा १३ अर्ब ४६ करोड ७२ लाखको लेखा परीक्षण गरिएको थियो । वीरगञ्जमा २२ करोड ७५ लाख बेरुजु देखिएको छ भने अन्य तीन महानगरको १ प्रतिशतभन्दा कम बेरुजु रहेको छ । भरतपुर महानगरपालिकाको बेरुजु १० करोड २ लाख रूपैयाँ छ । ललितपुरको बेरुजु ५ करोड ५५ लाख देखिएको छ । यस्तै, प्रतिशत र रकम दुवैका हिसाबले सबैभन्दा कम बेरुजु विराटनगर महानगरपालिकाको देखिएको छ । यस महानगरमा २ करोड ८ लाख ५७ हजार बेरुजु देखिएको छ । जुन ०।३२ प्रतिशत हो । यस महानगरको आर्थिक वर्ष २०८०र८१ मा ६ अर्ब ४४ करोड ७६ लाख रुपैयाँको लेखा परीक्षण गरिएको थियो ।
गोन्द्राङमा साढे २ करोड बढी लागतमा राईनो पार्क बन्दै, मेयर दाहालद्धारा शिलान्यास
चितवन । भरतपुर–१२ को गोन्द्राङमा नगर स्तरीय पार्क निर्माण हुने भएको छ । साढे २ करोड बढी लागतमा निर्माण हुने राईनो पार्क तथा खुला चिडियाखानाको एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिलान्यास गरिन् । उनले भरतपुर महानगरपालिकाको एक वडा, एक पार्कको नीति अनुसार राजमार्गसँग जोडिएको यस ठाँउमा पार्क निर्माण गर्न लागिएको बताइन् । उनका अनुसार यो पार्कमा विभिन्न पर्यटकीय पूर्वाधारहरु निर्माण र सौन्दर्यकरणको काम हुनेछ । राईनो पार्क भरतपुर आउने पर्यटकलाई नजिकै छोटो समय घुमघाम गर्न उपयुक्त स्थान बन्ने विश्वास व्यक्त गरिन् । बेलशहर सामुदायिक वन क्षेत्रमा पर्ने पार्क ८ विघा क्षेत्रफलमा निर्माण हुनेछ । गौतम मोर्डन जेभीले २०८२ कात्र्तिक ७ गतेभित्र निर्माण सम्पन्न हुने गरी मूल्य अभिवृद्धि करसहित रु २ करोड २३ लाख ८ हजार ६५४ रुपैयाँमा पार्कको निर्माण गर्नेछ । भरतपुर महागनरपालिकाका सिनियर डिभिजनल ईन्जिनियर सन्तोष आर्चायले यो रकमबाट वन्यजन्तु उद्धार भवन, गोही, सर्प, माछा, कछुवाको लागि पोखरी, म्युजियम, फुटपाथ, घेराबारसहितको खुला चिडियाखाना र विश्रामका लागि गोलघर निर्माण हुनेछ । कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले पार्क निर्माणले पर्यापर्यटनलाई सहयोग पुराउने उल्लेख गरिन् । यस्तै महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले पार्कमा ठेक्कामा उल्लेख भएका सबै संरचना बन्दा निकै आर्कषक पार्क निर्माण हुने विश्वास व्यक्त गरिन् । कार्यक्रम भरतपुर महानगरपालिका वडा नम्बर–१२ का अध्यक्ष लेखराज पन्तको अध्यक्षतामा भएको थियो ।
वीरगञ्जमा बेवारिसे सवारी हटाउन अभियान सुरु, सडक र फुटपाथ अब सफा र खुला हुने
वीरगञ्ज । वीरगञ्ज महानगरले सार्वजनिक स्थानमा असरल्ल राखिएका बेवारिसे सवारीसाधन तथा उपकरण हटाउन अभियान थालेको छ । महानगरले सडक, फुटपाथ, अन्य सार्वजनिक स्थानलाई स्वच्छ र हराभरा बनाउन सडकमा बेवारिसे अवस्थामा रहेका सवारीसाधनको व्यवस्थापन गर्न लागेको हो । महानगरले आज वडा नं– २२ जगरनाथपुरमा सडकको फुटपाथमा झण्डै दुई वर्षदेखि बेवारिसे राखिएको पुरानो रोलर मेसिन हटाएको छ । नगर प्रहरी र सरसफाइ शाखाको टोलीले दुई क्रेनको सहायताले रोलर हटाइएको नगर प्रहरी इन्चार्ज हरि भुसालले जानकारी दिए । महानगरले बसपार्क क्षेत्रमा सञ्चालनमा नआएको एक बस र एक ट्रकलाई पनि हटाएको छ । ती दुवै सवारीसाधनलाई डम्पिङ साइटमा पु¥याइएको छ । महानगरले गत बुधबार पनि वीरगञ्ज बसपार्क क्षेत्रमा दुई बेवारिसे बस हटाएको थियो । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले महानगरले पटक–पटक सार्वजनिक सूचना जारी गरेर हटाउन आह्वान गर्दा पनि नहटाएपछि महानगर आफैँले हटाउने अभियान थालेको बताए । महानगरले सडक, फुटपाथ, चोक, उद्यान, बसपार्क र अन्य सार्वजनिक स्थानमा अव्यवस्थित रूपमा राखिएका वा प्रयोगमा नरहेका सवारीसाधन तथा संरचनाले नगरको सौन्दर्य र नागरिक आवागमनमा बाधा पुगेका कारण ती सवारीसाधन हटाउने कार्य अघि बढाएको हो । प्रमुख सिंहले वीरगञ्जलाई सफा, सुरक्षित, सुन्दर र आधुनिक सहरका रुपमा रूपान्तरण गर्ने अभियान थालेको हो । 'सहर हामी सबैको साझा घर हो । नागरिकले नियम पालन गरेमा हामी वीरगञ्जलाई व्यवस्थित महानगरमा रूपान्तरण गर्न सक्छौँ', उनले भने । महानगरले यात्रु, पैदलयात्री, साना व्यवसायी, ट्राफिक प्रहरी, यातायात व्यवसायी तथा स्थानीय बासिन्दासँगको सहकार्यमा उक्त अभियान थालेको हो । रासस