प्रमुखका पाहुनालाई मासिक २० हजारको सत्कार, प्रशासकीय अधिकृतलाई ७० लाखको गाडी
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहले गर्ने अथितिसत्कार र बैठक भत्ताको सीमा तोकिदिएको छ । पालिकाहरुले प्रदान गर्ने बैठक भत्ता तथा अथिति सत्कार खर्चलाई एकरुपता प्रदान गर्न सीमा तोकिएको हो । यसका लागि मन्त्रालयले सबै पालिकाहरुलाई नमुना कानुन पठाएको छ । नमुना कानुनमा नगरपालिकाका प्रमुखले मासिक २० हजार रुपैयाँसम्म र उपप्रमुखले मासिक १५ हजार रुपैयाँसम्म अतिथि सत्कारमा खर्च गर्न पाउने सीमा तोकिएको छ । यस्तै, गाउँपालिकाका अध्यक्षले मासिक १५ हजार रुपैयाँ र उपाध्यक्षले मासिक १० हजार रुपैयाँ अतिथि सत्कारमा खर्च गर्न पाउने व्यवस्था मन्त्रालयले गरिदिएको छ । यस्तै, गाउँपालिका र नगरपालिका कार्यालयले मासिक १० हजार रुपैयाँसम्म र वडा कार्यालयहरुले मासिक ५ हजार रुपैयाँसम्म अतिथि सत्कारमा खर्च गर्न पाउने सीमा तोकिएको छ । बैठक भत्ता गाउँ, नगरपालिकामा हुने बैठकमा भत्ता दिन पाइने भएको छ । नमुना कानुन अनुसार गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखको अध्यक्षतामा हुने बैठकमा प्रतिबैठक प्रतिव्यक्ति १ हजार ५ सय रुपैयाँ बैठक भत्ता दिन पाइने भएको छ । अन्य पदाधिकारीको अध्यक्षतामा हुने बैठकमा १ हजार २ सय रुपैयाँसम्म प्रतिव्यक्ति भत्ता पाइनेछ । उक्त बैठकमा एक व्यक्तिले एक दिनमा बढीमा दुई ओटा बैठकको मात्र भत्ता पाउने छन् । दैनिक भत्ता तथा भ्रमण खर्च स्थानीय तहका जनप्रतिनिधि तथा कार्मचारीको भ्रमण भत्ताको पनि व्यावस्था मिलाएको छ । यस्तो भ्रमणमा प्रदेश कानुन र संघीय सरकारको भ्रमण सम्बन्धी व्यवस्था अनुसार भत्ता पाइने नमुना कानुनमा उल्लेख गरिएको छ । जनप्रतिनिधिलाई सीमा छैन, प्रमुख प्रशासकीय अधिकृतलाई ७० लाखसम्मको गाडी नमुना कानुनमा स्थानीय तहका जनप्रतिनिधि (नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र वडा अध्यक्ष) हरुलाई कति मूल्य बराबरको सवारी साधान उपलब्ध गराउने भन्ने विषयमा नमुना कानुन मौन छ । तर, मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतले पाउने गाडीको मूल्य सीमा निर्धारण गरेको छ । मन्त्रालयका अनुसार विशिष्ट श्रेणीको प्रमुख प्रशासकीय अधिकृतले ७० लाख रुपैयाँ सम्मको सवारी साधन खरिद गरी प्रयोग गर्न पाउने छ । यस्तै, राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतलाई ६० लाख रुपैयाँसम्मको सवारी किन्न सकिने भनिएको छ । कर्मचारीहरुलाई उनीहरुको श्रेणीअनुसार २०० सीसीसम्म इन्जिन क्षमताको मोटरसाईकल किन्न सकिने भनिएको छ । सवारी साधन मर्मत सम्भारको लागि चार पांग्रे गाडीको लागि वार्षिक ५० हजार रुपैयाँसम्म र मोटरसाईकल स्कुटरको लागि वार्षिक १० हजार रुपैयाँसम्म खर्च स्थानीय तहले प्रदान गर्न पाउने भएका छन् । सञ्चार, पोशाक, प्रोत्साहान भत्ता स्थानीय तहका कर्मचारीलाई सञ्चार, पोशाक, तथा अन्य भत्ताको पनि व्यावस्था गरिएको छ । नमुना कानुनमा स्थानीय तहका कर्मचारीलाई संघीय सरकारले प्रदान गर्ने सरहको पोशाक भत्ता प्रदान गरिने भएको छ । नमुना कानुनमा जनप्रतिनिधि तथा पदाधिकारीलाई पत्रपत्रिका खरिद गरी उपलब्ध गराउने र प्रमुख प्रशासकीय अधिकृतलाई मासिक १५ सय रुपैयाँ बराबरको मोबाइल खर्च दिने व्यवस्था गरिएको छ । प्रमुखको पीएलाई ३० हजारको जागिर अध्यक्ष, प्रमुख, उपाध्यक्ष र उपप्रमुखले निजी सचिवालयमा सहयोगी राख्न पाउने व्यवस्था छ । नमुना कानुन अनुसार महानगरपालिकाको प्रमुखले मासिक ३० हजार रुपैयाँ प्रदान गर्ने गरी सचिवालयमा कर्मचारी राख्न पाउने छन् । यस्तै, उपमहानगरपालिका प्रमुखको लागि २५ हजार रुपैयाँ, नगरपालिका प्रमुखको लागि २० हजार रुपैयाँ, गाउँपालिकाको अध्यक्षको लागि १८ हजार रुपैयाँ खर्च गर्न पाइने छ । महानगरका उपप्रमुख, उपमहानगरका उपप्रमुख, नगरपालिकाका उपप्रमुख र गाउँपालिकाका उपाध्यक्ष्यको लागि मासिक क्रमशः २५ हजार २० हजार, १८ हजार र १५ हजार रुपैयाँका दरले खर्च गर्न पाउने भनिएको छ । प्रमुख प्रशासकीय अधिकृतलाई मासिक ८० लिटर इन्धन प्रमुख प्रशासकीय अधिकृतको चारपाङ्ग्रे सवारी भएमा महानगगरपालिकाले ८० लिटर, उपमहानगरपालिका ८० लिटर, नगरपालिका ६० लिटर, गाउँपालिकाकाले ५० लिटरसम्म इन्धन पाउने व्यवस्था छ । दशौं र एघारौं स्तरका अधिकृत चारपाङ्ग्रे सवारी भएमा महानगरपालिकाका र उपमहानगर पालिकाका कार्मचारीले ६० लिटर, नगरपालिकाका कर्मचारीले ५० लिटरसम्म इन्धन पाउने व्यावस्था रहेको छ । आठौं र नवौं स्थरका अधिकृतको चारपाङ्रे सवारी भएमा महानगरपालिका,उपनगर पालिका,नगरपालिका र गाउँपालिका कर्मचारीले ४० लिटरसम्म इन्धन पाउने व्यवस्था छ । [pdf id=263873]
देशका २४ पालिकाः विकासको जग बसालिदै, यी हुन् ठूला योजना
काठमाडौं । २०७२ को संविधानले नेपालको एकात्मक राज्य संरचनालाई परिवर्तन गरेर संघीय व्यवस्थामा परिणत गर्यो । देश संघीय संरचनामा गएपछि सरकार पनि तीन तह (संघीय, प्रदेश र स्थानीय) का भए । यी तीनै तहका सरकारको जिम्मेवारी पनि संविधानले नै तोक्यो । आफ्नो क्षेत्रभित्रका विकास निर्माणका काम गर्ने जिम्मेवारी अनुसार विभिन्न स्थानीय तह (पालिका) हरुले योजना तर्जुमा गरी काम गरिरहेका छन् । यसै सन्दर्भमा विभिन्न पालिकाहरुले विकास आयोजनाहरुलाई कसरी अगाडि बढाइरहेका छन् भनेर हामीले खोजिगरेका छौं । थाक्रे गाउँपालिका यो गाउँपालिका बागमती प्रदेश अन्तर्गत धादिङ जिल्लामा पर्छ । योजना र बजेट गाउँपालिकाको गौरवको आयोजनाको रुपमा रानिघर क्यनानुङ योजना छ । यस ठाउँमा टे«निङ्ग सेन्टरको पनि निर्माण भइरहेको छ । थाक्रेको वडा नम्बर ९ सेरापाखा भन्ने ठाउँमा नेपालको सबैभन्दा अग्लो ४० फिट उचाइ भएको सरस्वतीको मुर्ती बनिरहेको छ । ९३ लाख रुपैयाँको लागतमा यो मुर्तीको निर्माण भइरहेको छ । के गर्दैछ पालिका ? गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य गाउँपालिकाको लेखमा शिवजीले ध्यान गर्दै गरेको मुर्ती बनाउने योजना बनाएको र यस ठाउँभन्दा ५ सय मिटर तलसम्मसडक पनि पुर्याइसकेको बताउँछन् । खानेपानीका योजना, सडक निर्माण, पुर्वाधारको विकासमा जोड दिइएको उनको भनाइ छ । आँधिखोला गाउँपालिका आँधिखोला गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत स्याङ्जा जिल्लामा पर्छ । योजना र बजेट गाउँपालिकाकै ठूलो योजनाको रुपमा सडक निर्माणको कामलाई लिन सकिन्छ । ११ कारोड रुपैयाँ बराबरको बजेटमा सडक निर्माणको काम अगाडि बढि रहेको छ । ‘एक घर एक धारा’को अभियान पालिकासले संचालन गरिरहेको छ । गाउँपालिका भित्रका धेरै घरमा खानेपानी पुग्न लागेको छ । सिँचाई सम्बन्धि कामहरु भइरहेको छ । के गर्दैछ पालिका ? पूर्वाधारको विकासमा पनि गाउँपालिकाले जोड दिएको छ । गाउँपालिकामा पुल निर्माण सम्बन्धि काम पनि भइरहेको छ । गाउँपालिकाका सम्पूर्ण वडामा सडक अनि बिजुली पुर्याउने काम भइरहेको छ । यस्तै, अस्पताल, विद्यालय भवनहरु निर्माण सम्पन्न भइसकेको र केही स्थानमा निर्माण कार्य भइरहेको गाउँपालिकाका अध्यक्ष सुधिर कुमार पौडेलले जानकारी दिए । विगु गाउँपालिका यो गाउँपालिका बागमती प्रदेश अन्तर्गत दोलखा जिल्लामा पर्छ । योजना र बजेट गाउँपालिकाको ठूलो योजनाको रुपमा विकास निर्माणका केही काम छन् । डीपीआर गरेर करीब ७ करोड रुपैयाँको बजेटमा गाउँपालिकाको भवन निर्माण भइरहेको छ । यहाँका ३ ओटा वडालाई पुग्ने गरी खानेपानी व्यवस्थापनको काम भइरहेको छ । खानेपानीको निर्माणाधीन ट्याङ्की व्यवस्थापन गर्ने तथा पाइप लाइनका कामहरु पनि भइरहेको छ । पुल निर्माणको काम पनि रहेका छ । ५ नं वडामा २ करोड रुपैयाँको बजेटमा सडक निर्माणको काम भइरहेको छ भने ८ नं. वडामा पनि सडक निर्माणको लागि २ करोड रुपैयाँ बराबरको बजेट गाउँपालिकाले छुट्टयाएको छ । ४ नं. वडाबाट गाउँपालिकाको केन्द्रसम्म जाने सडक निर्माणको कामका लागि ५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । यस योजनामा प्रदेश सरकारको पनि सहयोग रहेको छ । के गर्दैछ पालिका ? विकास निर्माणका कामहरु भइरहेको र अबको ५ वर्षपछि अन्य गाउँपालिकालाई कर्जा दिन समक्ष हुने अध्यक्ष युधिष्ठिर खड्काले बताए । लालबन्दी नगरपालिका लालबन्दी नगरपालिका प्रदेश–२ अन्तर्गत सर्लाही जिल्लामा पर्छ । योजना र बजेट ठुलो योजनाको रुपमा पुल निर्माणको काम रहेको छ । नगरपालिकाले १३ करोड रुपैयाँ बराबरको लगानीमा पुल निर्माणको काम गरेको छ भने यसमा ५ करोड रुपैयाँ बजेट संघीय सरकारको सहयोगका रुपमा रहेको छ । नारायण डाँडामा १ करोड रुपैयाँभन्दा माथिको लगानीमा भ्यूटावरको निर्माण भइरहेको छ । नगरपालिकामा धेरै उद्योग पनि सञ्चालन भएका छन् । के गर्दैछ पालिका ? नगरपालिकाको आयश्रोत वृद्धि गर्नको लागि ठुलाठुला भवन निर्माण गरेर भाडा लगाउने काम भइरहेको मेयर मानवहादुर खड्काले जानकारी दिए । ६० लाखसम्म भाडा आउने गरेर भवनको निर्माण गरिने र त्यसबाट आएको रकमको २० प्रतिशत आर्थिक वृद्धका लागि लगानी गर्ने, ५० प्रतिशत रकम वडाहरुका ससाना कामका लागि वितरण गर्दै आइरहेको र बचेको ३० प्रतिशत बजेटबाट नगरपालिकाको ठुलाठुला आयोजना अथवा गौरवको आयोजनाका काम गर्ने गरेको मेयर खड्काको भनाइ छ । यद्यपि, ७० प्रतिशत घरमा बिजुली पुगिसकेको र नगरपालिकाको बाँकी रहेको २ ओटा वडामा पनि यसै कार्यकालको अवधिमा बिजुली पुगिसक्ने मेयर खड्काले बताए । रामेछाप नगरपालिका यो नगरपालिका बागमती प्रदेश अन्तर्गत रामेछाप जिल्लामा पर्छ । योजना र बजेट ठुलो योजनाको रुपमा नगरपालिका र संघीय सरकारको साझेदारीमा सडक कालोपत्रे गर्नका लागि डीपीआर गरेर काम अगाडि बढिरहेको छ । ४ करोड रुपैयाँ बराबरको बजेटमा सडक कालेपत्रे भइरहेको छ । संघीय सरकार र नगरपालिकाको ५०–५० प्रतिशत समपुरक बजेटमा हल निर्माणको काम अगाडि बढिरहेको छ । ५ करोड रुपैयाँको बजेटमा टेन्डर प्रक्रियाबाट सो काम अगाडि बढिरहेको छ । गौरबको आयोजनाका रुपमा नगरपालिकाको आम्दानीबाट ८ मिटर चौडाईको सडक निर्माण भइरहेको छ । पुल निर्माणको कामहरु पनि सुरु भइसकेको छ । नगरपालिका भित्र भ्युटावरको पनि निर्माण भइरहेको छ । २ करोड रुपैयाँको बजेटमा भ्युटावरको निर्माण भइरहेको हो । लिफ्ट तथा खानेपानी योजनाहरु पनि संघीय सरकारको सहयोगमा अगाडि बढेको छ । के गर्दैछ पालिका ? यो वर्ष कोरोनाको कारणले राजश्व बाँडफाँडको बजेट आउन नसकेको र ५ वर्षको कार्यकालमा जेजति काम गर्ने लक्ष राखिएको थियो, सो अनुसार काम हुन नसकेको मेयर नरबहादुर थापामगरले बताए । नौकुण्ड गाउँपालिका यो गाउँपालिका बागमती प्रदेश अन्तर्गत रसुवा जिल्लामा पर्छ । योजना तथा बजेट गाउँपालिकाको ठुलो योजनाको रुपमा नौकुण्ड खानेपानी योजना रहेको छ । यो योजनाको डीपीआरको काम अगाडि बढिसकेको छ । स्याउवारी–गोसाईकुण्ड सडकखण्डको डीपीआर भइसकेको छ । प्रदेशबाट घोरल्लो चोकसम्म जाने सडक पिच हुन लागेको छ । ५० लाख रुपैयाँ बराबरको बजेटमा यो सडक पिच हुन लागेको हो । पुल निर्माणको काम पनि सुरु भएको छ । के गर्दैछ पालिका ? गाउँपालिकाको सामान्य विकास निर्माणको काम भइरहेकोे अध्यक्ष नोर्बु स्याङ्वो घलेले बताए । यसका साथै अस्पताल भवनहरु निर्माण हुने क्रममा रहेका छन् । नेत्रावती डबजोङ गाउँपालिका बागमती प्रदेश अन्तर्गत धादिङ जिल्लामा यो गाउँपालिका पर्छ । योजना तथा बजेट गाउँपालिकामा १५ सय बेडको अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको छ । ५ करोड रुपैयाँ बराबरको बजेटमा सो अस्पतालको निर्माण भइरहेको छ । त्यसैगरी गाउँपालिकाको भवन बनिरहेको छ भने ३ करोड ३५ लाख रुपैयाँको बजेटमा वडा भवनको निर्माण हुन लागेको छ । यसका साथै स्वास्थ्य भवनहरु कतै निर्माण हुने क्रममा छन् भने कतै निर्माण भइसकेका छन् । त्यसैगरी, सडक निर्माणका कामलाई पनि तिव्रता दिएको छ । २ करोड रुपैयाँ बराबरका सडक निर्माणका कामहरु यहाँ धेरै छन् । पालिकाभित्र २ करोड रुपैयाँसम्मको खानेपानी योजनाहरु चलिरहेको छ । ठाउँठाउँमा विद्यालय भवनहरु निर्माण गर्ने काम पनि भइरहेको छ । के गर्दैछ पालिका ? गाउँपालिकामा विकास निर्माणको काम भइरहेको र सानो बजेटको आकार भएको कारण धेरै विकास निर्माणको गर्ने नपाएको अध्यक्ष दुर्गकुमार शाक्यले बताए । सभापोखरी गाउँपालिका प्रदेश नं १ अन्तर्गत संखुवासभा जिल्लामा यो गाउँपालिका पर्छ । योजना र बजेट गाउँपालिकाको ठुलो योजनाको रुपमा सडक नै रहेको छ । गाउँपालिकालाई सदरमुकामसँग जोड्ने सडकको स्तरोन्नतिका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । त्यस बाहेक गाउँपालिका भित्रका सडक निर्माणको लागि भनेर वार्षिक ६ करोड रुपैयाँ बजेट छुट्याउदै आएको छ । त्यसैगरी खानेपानी व्यवस्थापनको लागि पनि बजेट रहेको छ । यसका साथै गाउँपालिकाको भवन टेन्डर प्रक्रियाबाट ठेक्का लगाएर निर्माण भइरहेको छ । २ करोड ८६ लाख रुपैयाँ बराबरको बजेटमा गाउँपालिकाको भवन निर्माण भइरहेको छ । यतिवेला ४ र ५ नं वडामा मात्र विद्युत पुग्न बाँकी छ भने सडक सबै वडामा पुगिसकेको छ । के गर्दैछ पालिका ? २ ओटा वडामा विद्युत पु¥याउन ठेक्का लगाएको अध्यक्ष रतन बहादुर सुब्बाले बताए । गाउँपालिकाको विकास निर्माण कामबाट धेरै युवाले रोजगार पनि पाएको अध्यक्ष सुब्बाले जनाए । मनहरी गाउँपालिका यो गाउँपालिका बागमती प्रदेश अन्तर्गत मकवानपुर जिल्लामा पर्छ । योजना र बजेट गाउँपालिका भित्र ५ ओटा पुलको निर्माण भइरहेको छ । ५३ करोड रुपैयाँ बराबरको टेन्डर प्रक्रियाबाट ठेक्का लगाएको छ । यो ५ ओटा पुल निर्माण हुँदा गाउँपालिकाको ४ ओटा वडाका नागरिकले ठुलो लाभ प्रप्त गर्नेछन् । पुल निर्माण नहुँदा पानी परेको समयमा विद्यार्थीहरु विद्यालयमा बस्नु पर्ने अवस्था थियो । यातायात सञ्चालन हुन पनि कठिन अवस्था थियोे । खानेपानीको योजना पनि गाउँपालिकामा रहेको छ । पालिकाभित्र ८ करोड रुपैयाँसम्मका खानेपानी योजनाहरु चलिरहेका छन् । ४ हजार घरधुरीका नागरिकले शुद्ध खानेपानी पाउने छन् । यो सेवा लिनको लागि नगरिकले सामान्य विद्युत र मिटरको पैसा तिर्नुपर्ने हुन्छ । गाउँपालिकामा धेरै सडकहरु कालोपत्रे हुन थालेका छन् । सडक विकासको सवालमा गाउँपालिका निकै अगाडि बढेको छ । प्राथमिक स्वास्थ्य केन्द्र सबै वडामा सञ्चालन भएको छ भने गाउँपालिकामा ५३ जना स्वास्थ्यकर्मी रहेका छन् । १५ सय बेडको अस्पातल निर्माणको लागि टेन्डर प्रक्रिया अगाडि बढिरहेको छ । अस्पताल निर्माणको लागि १५ करोड रुपैयाँ बजेट रहेको छ । विद्यायलको भवन निर्माण गर्ने काम पनि भइरहेका छ । ५४ करोड रुपैयाँ बराबरको मदन भण्डारी स्मृती खेल मैदान निर्माण गर्ने भनेर २० बिघा जमीनलाई संरक्षण गरिरहेको छ भने यसमा प्रदेश र केन्द्रको सहयोग रहेको छ । के गर्दैछ पालिका ? नेपालको ४ सय ६० गाउँपालिका मध्ये आफ्नै स्रोतबाट ५ वटा पुल एकैपटक ठेक्का लगाउने एक मात्र गाउँपालिकाका मनहरी नै हो भनेर चिनिएको गाउँपालिका अध्यक्ष एकराज उप्रतीले बताए । गोकुलगंगा गाउँपालिका बागमती प्रदेश अन्तर्गत रामेछाप जिल्लामा यो गाउँपालिका पर्छ । योजना र बजेट ४ सय किलोमिटर बराबरको सडक निर्माण भइरहेको छ । गाउँपालिकाबाट वार्षिक ८ करोड रुपैयाँ बराबरको बजेट सडक विकासको लागि छुट्याएको छ । ‘एक घर एक धारा’ अभियान पनि गाउँपालिकामा रहेको छ । यो आर्थिक वर्षभित्र १७ सय ५० धाराको निर्माण हुँदैछ । करिब २ करोड रुपैयाँको बजेटमा गाउँपालिकाको भवन निर्माण भएको छ । वडा कार्यालय भवन कतै निर्माण हुने क्रममा छ भने कतै निर्माण भइसकेको छ । के गर्दैछ पालिका ? गाउँपालिकामा ठुला योजनाहरु खासै धेरै नभएको साना साना योजनाको काम, पुर्वाधार विकासको काम, कृषि विकासको काम गर्ने गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले बताए । टेन्डर प्रकियाबाट सडकको निर्माण गर्ने काम गाउँपालिकामा भइरहेको तथा १ करोड रुपैयाँ बराबरको विकास निर्माणको काम उपभोक्ता समितिद्वारा गर्ने र प्रदेश, संघको सहयोगमा गाउँपालिकाको ठुला विकास निर्माणको काम गर्ने पनि अध्यक्ष सुुनुवारले जनाए । अजिरकोट गाउँपालिका नेपालको गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यो गाउँपालिका पर्छ । योजना तथा बजेट गाउँपालिकाको भवन निर्माण भएको छ । २ करोड रुपैयाँको बजेटमा वडा भवन निर्माण भएको छ । सबै वडा कार्यालय भवनको निर्माण भएको छ । टोलटोल सामुदायिक बस्तीमा ३५ ओटा भवनको निर्माण पनि भएको छ । गाउँपालिका भित्र रहेका सबै टोलमा सडक पुगेको छ । के गर्दैछ पालिका ? गाउँपालिकामा विकास धेरै गर्ने योजना छ । गाउँपालिकामा वर्षिक बजेटले धेरै विकास निर्माणको काम गर्न नसक्ने र आन्तरिक आय स्रोत कमी रहेको हुनाले प्रदेश र संघको सहयोगमा विकास निर्माणको काम अगाडि बढाई रहेको अध्यक्ष फणिन्द्र प्रसाद धितालले बताए । दुधपोखरी गाउँपालिका यो पालिका गण्डकी प्रदेश अन्तर्गत लमजुङ जिल्लामा पर्छ । योजना तथा बजेट गाउँपालिका भित्र ठुलो योजनाको रुपमा खानेपानी योजना रहेको छ । ३ करोड रुपैयाँ बराबरको बजेटमा यो योजनाको काम भइरहेको छ । विद्युतको योजना पनि छ । करिब २ करोड रुपैयाँको बजेटमा विद्युतको काम पनि भइरहेको छ । शैक्षिक विकासको लागि १ करोड रुपैयाँ बजेट छ भने स्वास्थ्य क्षेत्रमा १ करोड २० लाख रुपैयाँ बजेट छ । के गर्दैछ पालिका ? गाउँपालिका बढी ग्रामीण क्षेत्र भएकोले विकास निर्माणको काम धेरै हुन सकेको छैन । ग्रामीण क्षेत्र भए पनि विकास निर्माणको कामलाई प्राथमिकता राखेर नै अगाडि बढिरहेको अध्यक्ष छुपीमाया गुरुङले बताइन् । बाह्रविसे नगरपालिका बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा यो नगरपालिका पर्छ । योजना र बजेट नगरपालिकामा १ सय २ मेगावटको हाइड्रो सञ्चालनमा छ । १७ अर्ब रुपैयाँ बराबरको बजेटमा यो हाइड्रो सञ्चालन भएको हो । धेरैजसो सडकहरु विकास निर्माणकै क्रममा रहेका छन् । ५० देखि ६० लाख रुपैयाँ बराबरको सडक निर्माण गर्ने योजना छ । आँखा अस्पतालको पनि निर्माण सम्पन्न भइसकेको छ । के गर्दैछ पालिका ? नगरपालिकामा विकास निर्माणको काम भइरहेको छ । नगरपालिकामा विकास निर्माणको कामलाई तिव्रता दिइरहेको मेयर निमाफुन्जो शेर्पाले बताए । खाँडादेवी गाउँपालिका यो गाउँपालिका बागमती प्रदेश अन्तरगत रामेछाप जिल्लामा पर्छ । योजना र बजेट मन्थलीबाट गाल्बा जाने सडक ११ किमि र त्यसैगरी दोलखा जोडिने सडक पनि ११ किमि नै कालोपत्रे गर्ने कार्य भइरहेको छ । यी सडकमध्ये एउटा ३४ करोडको लागतमा र अर्काे सडक भने ३६ करोड रुपैयाँको लागतमा कालोपत्रे भइरहेको छ । त्यसैगरी खैरेनीबाट गाल्बा जाने सडक ३ किमि कालोपत्रे भइसकेको छ । गाउँपालिकामा धेरै सुख्खा क्षेत्रमा पर्छ । खोलाको पानीलाई ड्याम बनाएर सिँचाइयोग्य बनाउनका लागि डिपिआरको काम अगाडी बढिरहेको छ । ४ करोड ८० लाख रुपैयाँ बराबरको भ्युटावर गाउँपालिकाका भित्र निर्माण भईरहेको छ । गाउँपालिकाको माथिपट्टि १३ फिट अग्लो शिव र बुद्धको मन्दिर निर्माण पनि भइरहेको छ । प्रदेश र संघको साझेदारीमा १५ करोड रुपैयाँ बराबरको अस्पताल निर्माण भइरहेको छ । के गर्दैछ पालिका ? गाउँपालिका भित्र रहेको सबै वडा भवनहरुको निर्माण भइसकेको र सेवा प्रवाहमा समस्या नभएको गाउँपालिकाका अध्यक्ष प्रेम वहादुर तामाङ्गले बताए । त्रिपुरासुन्दरी गाउँपालिका यो गाउँपालिका बागमती प्रदेश अन्तरगत सिन्धुपाल्चोक जिल्लामा पर्छ । योजना र बजेट यहाँको वडा नं. ३ बाट वडा नं. ४ हुँदै दोलखासम्म जाने सडकको निर्माण भइरहेको छ । २ करोड रुपैयाँ बराबरको बजेट यसका लागि छुट्याएको छ । ७ करोड रुपैयाँ बराबरको टेन्डरमा गाउँपालिकाको भवन निर्माण भएको छ । कालिन्चोक जाने सडक पनि निर्माणकै क्रममा छ । यहाँका ठूला योजनाका रुपमा सडक सञ्जाललाई नै लिन सकिन्छ । के गर्दैछ पालिका ? विकास निर्माणको काम तीव्र भइरहेको र यसलाई तिब्रता दिइएको गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठले बताए । शिवपुरी गाउँपालिका यो गाउँपाकालिका बागमती प्रदेश अन्तरगत नुवाकोट जिल्लामा पर्छ । योजना र बजेट ४ करोड रुपैयाँको लागतमा गाउँपालिकाको भवन निर्माण भएको छ । कोल्ड स्टोरको निर्माण अन्तिम चरणमा पुगेको छ । चिसो बनाउने मेशिन खरिद गर्नको लागि अहिले टेन्डरकै प्रकियामा रहेको छ । ठुलो योजनाको रुपमा शिवपुरी कृषि रिङ्गरोड बनिरहेको छ । गाउँपालिकाका कूल ७० किमिको रहने यो सडकको ९० प्रतिसत ट्रयाक खोलिसकेको छ । १ नं वडा पर्यटकीय स्थल हो, जसमा भ्यु टावर बनाउने योजना छ । स्वास्थ्य भवनको निर्माण भइरहेको छ । १० बेडको अस्पताकोे डिपिआर टेन्डर गरी भइसकेको छ । गाउँपालिका भित्र शिवपुरी रङ्गशालाको निर्माण भएको छ । यी विभिन्न योजानहरुमध्ये केही सम्पन्न भइसकेका छन् भने केहि सम्पन्न हुने क्रममा छन् । के गर्दैछ पालिका ? राम्रो काम गरेकै हुनाले जिल्लाबाट सम्मानित गरेको र सिंहदरवार गाउँ गाउँमा भएको अनुभव नगरिकलाई दिलाएको गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा बताउछन् । भिमसेनथापा गाउँपालिका यो गाउँपालिका गण्डकी प्रदेश अन्तरगत गोर्खा जिल्लामा पर्छ । योजना र बजेट कार्यालय निर्माणका लागि २ करोड रुपैयाँ बराबरको डिपिआर गर्न लागिएको छ । ८ ओटा वडालाई समेट्ने गरी ८ मिटर चौडाइको चक्रपथको कल्पना गाउँपालिकाले राखेको छ । यसको डिपिआर पनि तयार भइसकेको छ । योभन्दा वाहेक गाउँपालिकामा ४ वटा खानेपानीको ठुला योजनाहरु पनि रहेका छन् । ८ सय घरधुरीसम्मलाई पुग्ने गरी खानेपानी योजना सम्पन्न हुन लागेको छ । १ सय धारा, अर्काे १ सय ७० धारा र त्यसैगरी ४ सय धारा खानेपानी तर्फ १ करोड रुपैयाँ भन्दा माथिका योजनाहरु पनि काम भइरहेको छ । के गर्दैछ पालिका ? गाउँपालिका कार्यालय भवनको निर्माण भइरहेको छ । भवन निर्माण गर्न १० करोड रुपैयाँ लाग्छ भनेपनि त्यसलाई घटाएर ८ करोड रुपैयाँसम्म मै पनि तयार गर्ने प्रयासमा रहेको र ७ करोड रुपैयाँ बराबरको टेन्डर पनि निकालेको गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेले बताए । धाैलागिरी गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लामा यो गाउँपालिका पर्छ । योजना र बजेट ९ करोड रुपैयाँ बराबरको डिपिआर गरेर अस्पतालको निर्माण भइरहेको छ । सडकमा रहेका बालबालिकालाई पढाउनको लागि भनेर विद्यालयको निर्माण काम पनि रहेको छ । यसका लागि २० करोड रुपैयाँको डिपिआर भएको छ । सडक निर्माण र खानेपानीमा गौरवका योजनाहरु पनि गाउँपालिकामा रहेका छन् । के गर्दैछ पालिका ? ठुला योजना पूरा गर्न कन्सल्टेन्सी हायर गरेर डिपिआर तयार पारेको र टेन्डरको सुचना राष्ट्र दैनिक पत्रिकामा दिने गरेका गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताइन् । कमलामाई नगरपालिका बागमती प्रदेश अन्तर्गत सिन्धुली जिल्लामा यो नगरपालिका पर्छ । योजना र बजेट नगरपालिकाको ठुला योजनाहरुमा सिन्धुली गढी दरबारको योजना (बजेट ७ करोड रुपैयाँ), सिन्धुली गढी हिलिफीर योजना (बजेट ३ करोड रुपैयाँ), सिद्ध लाला मन्दिर भ्यू टावरको निर्माण (बजेट ३ करोड ५० लाख रुपैयाँ), नगरपालिका हुँदै चकमके जाने बाटोको योजना (५२ करोड रुपैयाँको), नगरपालिकाको वडा नं. ९ र १० जोड्ने पुलको निर्माण (१२ करोड रुपैयाँको योजना) लगायत छन् । के गर्दैछ पालिका ? नगरपालिका भित्रका साना तिना योजानाहरु त धेरै रहेको र नगरपालिकाम विकाको कामलाइै तीव्रता दिइरहेको मेयर खड्कवहादुर खत्रीले बताए । थाहा नगरपालिका बागमती प्रदेश मकवानपुर जिल्लामा यो नगरपालिका पर्छ । योजना र बजेट नगरपालिकामा १७ सय मेट्रिक टनको निर्माण गरेका भएको छ । यस आर्थिक वर्षभित्र सम्पन्न गर्ने योजना रहेको छ । कोरोनाले गर्दा पनि यसको काममा ढिलाई भएको छ । ११ करोड ४७ लाख रुपैयाँ बराबरको बजेटमा यो काम अघि बढिरहेको छ । २ ठुला पुल निर्माण भईरहेको छ । एउटा पुल ५ करोड रुपैयाँको लागतमा र अर्काे पुल ७ करोड ५० लाख रुपैयाँको लागतमा बनिरहेको छ । खानेपानीको एउटा योजना सम्पन्न भएर घरघरमा धारा पुगिसकेको छ । के गर्दैछ पालिका ? विकास नै गाउँपालिकाको समृद्ध बनाउने मुल आधार भएकोले विकास निर्माणलाई प्रथामिकता दिएर काम गरिरहेको नगरपालिकाका मेयर लवशेर विष्टले बताए । तीनपाटन गाउँपालिका बागमती प्रदेश सिन्धुली जिल्लामा यो गाउँपालिका पर्छ । योजना र बजेट प्रदेश सरकारको ४३ करोड रुपैयाँ बराबरको ठेक्का आव्हान गरेर २४ करोड रुपैयाँमा गाँउपालिका जानको लागि १४ किमि बाटोको पिच गर्ने काम सुरु भएको छ । के गर्दैछ पालिका ? गाँउपालिकामा धेरै खुद्रा काम थालिएकोले ठूला सडकको पिच गर्न सक्ने अवस्था नरहेको गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर मगरले बताए । कालिका गाउँपालिका बागमती प्रदेशको रसुवा जिल्लामा यो गाउँपालिका पर्छ । योजनार बजेट प्रदेशको साझेदारी कार्यक्रममा शित भन्डारण निर्माण कार्यक्रम रहेको छ । यसको करिब ७० प्रतिशत काम भइसकेको छ । गाँउपालिकामा १५ बेड अस्पतालको शिलान्यास भइसकेको छ । अस्पताको निमार्णको लागि करिब १५ करोडको योजना छ । स्याउबारी पिकनिक स्पट, बुद्धटार भ्यू टावर निर्माण यो योजनाको नाम रहेको छ । यसको लागि ९ कारोड रुपैयाँमा डीपीआर तयार भइसकेको छ । के गर्दैछ पालिका ? पर्यटकीय क्षेत्र बृहत बनाएर काम गर्ने भनेर पिकनिक स्पट निर्माण गर्न, भ्यूटावरको निर्माण गर्ने, पदमार्ग बनाएर गोसाइँकुण्डसम्म जाने बाटो बनाउने लगायतका योजना रहेको अध्यक्ष सीताकुमारी अधिकारीले जानकारी दिइन् । दोरम्बा गाउँपालिका बागमती प्रदेशको रामेछाप जिल्लामा यो गाउँपालिका पर्छ । योजना र बजेट गाउँपालिकाको तत्कालिन योजना भनेको खानेपानी रहेको छ । खानेपानीको लागि २ करोड रुपैयाँको बजेट रहेको छ । यसको लागि टेन्डर प्रकियाको सुरु भएको छ । गाँउपालिकामा अस्पताल निमार्णमा १५ बेड रहेको १८ करोड रुपैया बराबरको टेन्डर निकाली सकेको छ । अस्पताल निर्माणको काम २ वर्ष भित्र सक्ने योजना छ । के गर्दैछ पालिका ? गाँउपालिकामा रहेको ठुलो योजना भनेको सडकको स्तर वृद्धि र खानेपानी रहेको र यो बर्ष गत बर्षको जस्तो बजेट फ्रिज जाने नभएको गाउँपालिकाका अध्यक्ष कमानसिंह तामाङ्गले जनाए । सडक निर्माण गर्दा गाँउ जोखिम हुने हो कि भन्ने जनगुनासो आएको र सो विषयमा छलफल भइरहेको तथा गाँउपालिकाको भवन निर्माण गर्नको लागि काम अघि बढेको पनि अध्यक्ष तामाङ्गले जनाए ।
यो वर्ष गाउँपालिकाको सबै वडामा बिजुली बाल्न सफल हुन्छौं – अध्यक्ष पाण्डेसँगको कुराकानी
हुप्सेकोट गाउँपालिका नेपालको गण्डकी प्रदेश अन्तर्गत नवलपरासी जिल्लामा पर्ने एउटा सुन्दर गाउँपालिका हो । यो गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिकरुपले फरक विशेषता बोक्न सफल छ भने कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा पनि निक्कै चर्चित छ । १ सय ८९ वर्ग कि.मि क्षेत्रफलमा फैलिएको यस गाउँपालिकामा २५ हजार ६५ जनाको वसोवास रहेको छ । ६ ओटा वडा रहेको यस गाउँपालिकामा विभिन्न जातिहरू एकआपसमा मिलेर बसिरहेका छन् । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरू केके छन्, जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भइसकेपछि गाउँपालिकामा कस्ता खाले परिवर्तन आएका छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष लक्ष्मी देवी पाण्डेसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश । सर्वप्रथम कृषिकै कुराबाट सुरु गरौं, गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? हाम्रो गाउँपालिका कृषि क्षेत्रको लागि उर्भरशील भूमी हो । यहाँका धेरै नागरिकहरूले कृषि पेशानै अँगालेका छन् । निर्वाहमुखी कृषकलाई व्यावसायिक बनाउने काम हामिले गर्दै आएका छौं । ४ ओटा वडालाई तरकारी पकेट क्षेत्र छुट्याएका छौं भने गाउँपालिकामा कफी, धान आदिको पकेट क्षेत्र पनि छुट्याएका छौं । गाउँपालिकाबाट कृषकलाई अनुदान पनि दिने गरेका छौं । विभिन्न तरकारी फलफूलका बिरुवा ५० प्रतिशत अनुदानमा दिने गरेका छौं । गाउँपालिकामा पशु पकेट क्षेत्र पनि छुट्याएका छौं । कृषकहरूले गाउँपालिमा कुखुरापालन तथा बाख्रापालन पनि गरिरहेका छन् । गाउँपालिकामा कृषि र पशुपालनको लागि हामीले धेरै नै बजेट पनि छुट्याउँदै आएका छौं । गाउँपालिकामा कति प्रतिशत नागरिकहरु कृषि पेशामा आवद्ध रहेका छन् ? हुप्सेकोट गाउँपालिका एउटा ग्रामिण क्षेत्रका रूपमा रहेको हुनाले यहाँका धेरैजसो नागरिकहरू कृषि पेसामा आवद्ध छन् । प्रतिशतमै भन्नुपर्दा चाहिँ ६० प्रतिशत भन्दा बढि मानिसहरू कृषि पेसामा आबद्ध छन् भन्न सकिन्छ । हामिले राम्रो कृषि उत्पादन गर्ने कृषकलाई सम्मान र नगद दिएर पुरस्कृत पनि गर्ने गरेका छौं । गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरु के–के हुन् नि ? गाउँपालिकाका ठुला योजनाहरूका वारे भन्नुपर्दा हुप्सेकोट चक्रपथको निर्माण भइरहेको छ । ४ करोड रुपैयाँ बराबरको बजेटमा टेन्डर प्रकियाबाट चक्रपथको निर्माण भई रहेको हो । प्रदेश मार्ग भनेर प्रदेश राजधानी जाने सडक निर्माण भइरहेको छ । प्रदेशकै योजना अन्तर्गत ६ करोड रुपैयाँ बराबरको बजेटमा सडक कालोपत्रे गर्ने काम भइरहेको छ । गाउँपालिकाको केन्द्रबाट जिल्ला सदरमुकाम जाने सडक पनि पिच गर्ने कार्यक्रम सुरु भइरहेको छ । सञ्चालनमा आएका ठुला योजनाको रूपमा चाहिँ गाउँपालिकामा १३ करोड रुपैयाँ बराबरको बजेटमा विद्युत्तर्फ काम भइरहेको छ । हाम्रो गाउँपालिकालाई उज्यालो गाउँपालिका बनाउने उद्देश्यले डीपीआर गरेर केन्द्रमा पेश गरेका थियौं । यो वर्ष हामीले गाउँपालिकाको सबै वडामा वत्ति बाल्न पक्कै सफल हुन्छौं । गाउँपालिकामा खानेपानीको पनि योजना रहेको छ । पहाडी क्षेत्रमा रहेका २ ओटा वडामा गाउँपालिकाकै योजनाले खानेपानीको काम भइरहेको छ । ठुला योजनाको रूपमा शहरी खानेपानी आयोजना पनि रहेको छ । यो खानेपानीको काम पनि तीव्र गतिमा भइरहेको छ । गाउँपालिकाको प्रशासनिक भवन एक तला निर्माण भइसकेको छ भने ९ करोड ५० लाख रुपैयाँको बजेटमा गाउँपालिकाको भवन निर्माण भइरहेको छ । ६ ओटा वडा मध्ये ४ ओटा वडा भवनको निर्माण भइसकेको छ भने २ ओटा वडा भवनहरू बन्ने क्रममा रहेका छन् । गाउँपालिकामा स्वास्थ्य क्षेत्रको विकासका लागि कसरी काम गर्दै आइरहनु भएको छ ? स्वास्थ्य चौकी नभएको ठाउँमा आधारभूत स्वास्थ्य केन्द्र निर्माण गरेर यहाँका सबै नागरिकलाई प्राथमिक उपचार गर्नसक्ने वातावरण मिलाएका छौं । गाउँपालिकामा ३ ओटा ठाउँमा प्रजनन केन्द्रहरू सुचारु भइसकेका छन् । गाउँपालिकामा एउटा ठाउँमा प्रजनन् केन्द्र भवनको निर्माण भइरहेको छ भने यो पनि छिट्टै सुचारु हुनेछ । ६ ओटा वडामा बच्चा जन्माउनको लागि सङ्कट नहोस् भनेर अहिले हामीले प्रजनन केन्द्रको व्यवस्थापन गरेका छौं । अधारभुत स्वास्थ्य केन्द्र सहित गाउँपालिकामा ६ ओटा स्वास्थ्य चौकी रहेका छन् । हामीले हालै देउराली स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर प्राथमिक स्वास्थ्य अस्पताल भवनको निर्माण गर्ने योजना बनाएका छौं । अहिले हामीले गाउँपालिकाका सबै वडामा अधारभुत स्वास्थ्य चौकीको स्थापना गरेका छौं । सबै रोगको उपचार गर्नसक्ने अवस्था त छैन तरपनि डाक्टरको नियुक्ति चाहिँ गरेका छौं । शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आइरहेको छ ? शिक्षा विकासका लागि भनेर हामीले शिक्षा ऐनको निर्माण गरेका छौं । शिक्षा नियमावली, कार्यविधी तथा निर्देशिका बनाएका छौं । यो दायरा भित्र बसेर हामीले शिक्षाको गुणस्तरलाई माथि ल्याउनुपर्छ भनेर जोड पनि दिएका छौं । ग्रामीण क्षेत्रका बालबालिकालाई आफ्नै घरमा बसेर पढ्ने वातावरण बनाएका छौं । कम्तीमा आफ्नै गाउँपालिका भित्र १२ कक्षासम्म पढ्ने व्यवस्था मिलाउनु पर्छ भनेर सोचेर भूगोल अनुसारको मा.वि भएको ठाउँमा १२ कक्षासम्म सञ्चालन गर्ने अनुमति पनि दिएका छौं । भौतिक संरचना मात्र बनाएर हुँदैन भन्ने ठानेर शिक्षाको गुणस्तरलाई माथि ल्याउनका लागि विज्ञहरूलाई ल्याएर शिक्षकहरुलाई तालिम दिने व्यवस्था पनि मिलाएका छौं । विद्यालय शिक्षा सुधारको कार्यक्रम सञ्चालन भएको छ । १ सय पूर्णाङ्क स्थानीय पाठ्यक्रमको पनि निर्माण गरेका छौं । गाउँपालिका भित्र ४६ ओटा विद्यालय रहेका छन् । ती मध्ये निजी विद्यालयहरू चाहिँ ७ ओटा छन् । खेलकुद विकासको लागि गाउँपालिकाले के कसरी अनि कस्ता योजनाहरु बनाएको छ नि ? शिक्षा क्षेत्रको अभिन्न अङ्ग खेलकुद पनि हो । खेलकुद विकासको लागि पनि हामीले केही बजेट विनियोजन गर्दै आएका छौं । धेरै युवाहरू खेलकुदमा उत्सुक छन् । वडास्तरीय खेलकुद प्रतियोगिता पनि हुने गरेको छ । बक्सिङ्ग, भलिवल, टेबल टेनिस, कराँते, क्रिकेट, फुटबल लगायतका खेलहरू वेलावेलामा गाउँपालिकामा आयोजना गर्दै आएका छौं । खेलमैदान व्यवस्थापन गर्ने काम पनि हामीले गरिरहेका छौं । आफ्नो गाउँपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ ? हाम्रो गाउँपालिका त पर्यटनको खानी नै हो । पर्यटन विकासको लागि हामीले गुरुयोजना बनाएका छौं । हामीले गाउँपालिकामा पर्यटन क्षेत्रको पनि व्यापक प्रचारप्रसार गरिरहेका छौं । पर्यटन विकास गर्नका लागि भनेर नै हामीले पर्यटन समिति पनि बनाएका छौं । मठ मन्दिरको पनि निर्माण गरी रहेका छौं । ऐतिहासिक रुद्र प्रताप सेनको रुद्रपुर गढि दरवार, गोदलपोखरी शान्ति पार्क, मगर संग्रहालय, दबार थम्का, पौराणिक कालका मयुर पोखरी, श्री पोखरी आदि हाम्रो गाउँपालिकाका पर्यटकीय स्थलहरू हुन् । हामीले रोपेको ६ हजार लालिगुरासले पनि पर्यटकहरुलाई आकर्षित गर्ने गरेको छ । तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन हो ? हाम्रो गाउँपालिकामा ठुला उद्योगहरु त छैनन् नै । नेपालको सबै भन्दा ठुलो फलाम खानि हाम्रै गाउँपालिकामा छ । उद्योग ग्राम बनाउने भनेर उद्योग मन्त्रालयसँग समन्वय गरिरहेका छौं । गाउँपालिकामा एउटा क्षेत्रलाई उद्योग ग्राम बनाउने भनेर जग्गा व्यवस्थापन पनि गरिरहेका छौं । गाउँपालिकामा स्थानीय नागरिकले सञ्चालन गरेका साना तथा मझौला उद्योग भने केही मात्रामा छन् । पालिकामा बरु कृषि उद्योग धेरै संख्यामा छन् । कृषकहरूले कुखुरा पाल्ने, भैँसी पाल्ने लगायतका काम गर्दै आएका छन् । सबैभन्दा धेरै कर तिर्ने कम्पनी चाहिँ कुने हो नि ? गाउँपालिकामा ठुला उद्योगहरु नभइसकेपछि धेरै कर तिर्ने कम्पनी पनि हुने कुरै भएन । तरपनि निर्माण व्यवसायबाट भने राम्रै कर सङ्कलन हुने गरेको छ । तपाईं निर्वाचित हुनुभन्दा अघि र निर्वाचित भइसकेपछि गाउँपालिकामा आएका परिर्वतन बारे केही बताईदिनुस् न गाउँपालिकामा म जनप्रतिनिधिको रूपमा आइसकेपछि यहाँ व्यापक परिवर्तन आएको छ । पहिलाको तुलनामा देखिने खालका कामहरू धेरै नै भएका छन् । सुरुमा त नीति नियमनै बनाउन धेरै समय लाग्यो । सडक निर्माण सम्बन्धी राम्रै कामहरु भएका छन् । स्वास्थ्य तथा शिक्षा क्षेत्रमा पनि परिवर्तन आएको छ । सडकहरूको स्तरोन्नति भएको छ । सडकलाई पिच गर्ने काम भएको छ । खानेपानीको व्यवस्था हुन थालेको छ । सबै वडामा आधारभूत स्वास्थ्य केन्द्रको स्थापना भएको छ । यति हुँदाहुँदै पनि म के मा सन्तुष्ट छुइन भने जुन हिसाबले गाउँपालिकामा विकास निर्माणको कामहरू हुनु पथ्र्यो, त्यसमा, प्रदेश सरकारले गर्नुपर्ने कामहरूमा चहिँ स्थानीय सरकारलाई सहज गर्नुको साटो असहज गराइदिने, कर्मचारीहरुकै बीचमा विवाद गराइदिने, अनावश्यक रुपमा कर्मचारीको सरुवा गराई दिने, कामको खासै जानकारी नभएका व्यक्तिलाई स्थानीय तहमा पठाइदिने जस्ता कारणले गाउँपालिकामा समस्या पनि आउने गरेको छ । तपाईंले चाहेर पनि गर्न नसकेका विकास निर्माणका कामहरू के के होलान् नि ? हामीले यहाँ ठुला योजनाहरूतर्फ काम गर्ने सकेका छैनौं । गाउँपालिका समृद्ध हुने खालको योजना त बनायौं तर वार्षिक बजेटले एउटा योजनालाई पनि राम्रोसँग काम गर्न पुग्दैन । गाउँपालिकाका सडकहरुलाई आवश्यकतानुसार ग्राबेल अथवा पिच गर्न चाहिँ हामीले चाहेर पनि सकेका छैनौं । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनुभएको छ ? प्रदेश सरकारसँग जति समन्वय हुनुपर्ने थियो त्यति समन्वय भएको छैन । संविधानले स्थानीय तहलाई दिएका अधिकारहरू कटौती गर्न खोज्नु र केन्द्र सरकारले गर्नुपर्ने कामहरू सबै ठाउँमा समान रूपले नगर्नाको कारण हाम्रो समन्वय धेरै राम्रोसँग हुन सकेको छैन । नेपाल गाउँनै गाउँ भएको ठाउँ भएकाले गाउँ बनाउनको लागि विधिको शासन हुनुपर्याे तर छैन जस्तो महसुस भएको छ । स्थानीय तहमा काम गर्दा के–के समस्याहरू आई पर्छन् नि ? स्थानीय तहमा काम गर्दा सामान्य समस्याहरू आइपर्छन् । केही समय अघि कर्मचारीको अभाव थियो । बजेटको आकार पनि सानो थियो । अहिले भने यस्ता कुराहरूको समस्या समाधान हुँदै आएको छ । विकास निर्माणको काममा पनि यदाकदा समस्या देखापर्ने गर्छ । तर पनि यस्ता समस्यालाई समाधान गर्दै हामी अघि बढिरहेका छौं । गाउँपालिकामा नागरिकहरू प्रायः कस्ता समस्या लिएर आउँछन् ? गाउँपालिकामा मानिहरु विभिन्न किसिमका समस्या लिएर आउने गरेका छन् । कोही पूर्वधार विकास, खानेपानी, सडक आदिको समस्या लिएर आउँछन् भने कोही चाहिँ शिक्षाक्षेत्र तर्फको समस्या लिएर आउँछन् । बेला बेलामा विकास निर्माणको काममा पनि समस्या आउने गरेको छ । विशेष गरेर स्वास्थ्य समस्या भएका नागरिकहरु आर्थिक सहयोगको अपिल गर्दै आउने गरेका छन् । अब तपाईंको बाँकी रहको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ त ? हामीले सुरु गरेका योजनाहरू सम्पन्न गर्ने । बनिरहेका सडक तथा पुलका संरचनाहरू पूरा गर्ने पनि योजना रहेको छ । देखिने खालका योजनाहरू तर्फ काम गर्ने योजना समेत बनाएको छु ताकि भोलिका पिढिले पनि गाउँपालिकामा भएका विकास निर्माणको कामहरू प्रभावकारी भएका ठानुन् ।