१४ वटा सहकारी खारेज गर्दै महानगर

काठमाडौं । विराटनगर महानगरपालिकाले विवरण नबुझाई निष्क्रिय रहेका सहकारी संस्थाहरूलाई खारेज गर्ने प्रक्रिया अघि बढाएको छ । महानगरपालिकाले सहकारी ऐन, २०७५ (दोस्रो संशोधन २०८० सहित) अनुसार १४ वटा सहकारी संस्थालाई खारेज गर्नु अघि ३५ दिने सार्वजनिक सूचना जारी गरेको हो ।

महानगरपालिकाका अनुसार यसअघि गत चैत २७ गते १५ दिने सूचना प्रकाशित गरी सम्बन्धित संस्थासँग आधिकारिक धारणा माग गरिएको थियो । तर, उक्त अवधिमा पनि संस्थाहरू सम्पर्कमा नआएपछि थप प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

महानगरका अनुसार गोर्खा, जुनतारा, ताजा तरकारी तथा फलफूल, नयाँजीवन, नागरिक, निलकमल, प्राइम, युनिक, रारा, शिवम्, सामूहिक, सिद्धार्थ बहुउद्देश्यीय, सिनिक तथा स्वागतम् बचत तथा ऋण सहकारी संस्था खारेजीको प्रक्रियामा परेका छन् । 

महानगरपालिकाले सम्बन्धित संस्था तथा सरोकारवालाहरूलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आफ्नो स्पष्टिकरण पेश गर्न आग्रह गरेको छ । तोकिएको अवधिमा पनि सम्पर्कमा नआएमा कानुन बमोजिम खारेज प्रक्रिया अघि बढाइने महानगरका प्रमुख प्रशासकीय अधिकृतले जनाए । 

Share News