भक्तपुरको बजेट १ अर्ब ९३ करोड, आन्तरिक आयतर्फ ४० करोड आम्दानी गर्ने लक्ष्य
काठमाडौं । भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागि १ अर्ब ९३ करोड २० लाख रुपैंयाको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १० औं नगरसभामा बिहिवार नगर उपप्रमुख रजनी जोशीले सो बजेट सार्वजनिक गरेकि हुन । बजेटको चालु खर्चतर्फ १ अर्ब १० करोड २२ लाख १७ हजार र पुँजीगततर्फ ८२ करोड ९७ लाख रुपैंया विनियोजन गरिएको छ । बजेटको कुल आयमध्ये बाह्य स्रोतबाट १ अर्ब ४३ करोड ३४ लाख आम्दानी हुने अनुमान छ । सोमध्ये सङ्घीय सरकारबाट वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान शीर्षकमा ६१ करोड ७७ लाख अनुमान गरिएको छ । सामाजिक सुरक्षा भत्तावापत ३० करोड र सडक बोर्डमार्फत ५० लाख आम्दानी हुने अपेक्षा गरिएको छ । त्यस्तै बागमती प्रदेश सरकारबाट विभिन्न शीर्षकमा ७ करोड ७२ लाख हुने अनुमान गरिएको छ । आन्तरिक आयतर्फ कर दस्तुरलगायतबाट कूल ४० करोड १० लाख रुपैया आम्दानी हुने अनुमान छ । शिक्षा क्षेत्रमा कूल बजेटको १६.३२ प्रतिशत छ्ट्याइएको छ । त्यस्तै स्वास्थ्यमा १३.५६, सम्पदा संरक्षण तथा विकास निर्माणमा २.७३, नवनिर्माण तथा पुनःनिर्माणमा २०.७०, फोहरमैला व्यवस्थापन तथा वातावरण सुधार क्षेत्रमा ४.०४, महिला–बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण क्षेत्रमा १६.१४, युवा तथा खेलकुदको क्षेत्रमा २.४५, कृषिमा १.५२ र नगरपालिकाको सुशासन तथा प्रशासनिक व्यवस्थापनको लागि २१.९८ प्रतिशत विनियोजन गरिएको छ । कोरोनाका कारेण आगामी आवको शुरु ४ महिनाको व्यवसाय कर छुट तथा ख्वपः अस्पतालको भवन बनाउन २० करोड र ख्वप अस्पताल र स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापनमा ३ करोड विनियोजन भएको छ । वडास्तरका योजनाहरू सञ्चालन गर्न प्रति वडा ५० लाख र सडक बोर्डका योजनालाई १ करोड विनियोजन गरिएको छ । दीर्घरोग क्यान्सर, मुटु, मृगौला, मस्तिष्काघात र स्पाइनल इन्ज्युरी भएका बिरामीलाई आगामी वर्षदेखी १५ हजार रुपैंया दिने भएको छ । शैक्षिक ऋण वितरणको लागि २ करोड विनियोजन गरेको छ । पुरानो नगर क्षेत्रमा परम्परागत शैलीमा घर निर्माण गर्ने घरधनीलाई मोहडाका लागि इँटा, काठ र झिङ्गटीमा लाग्ने कूल लागत रकमको ३५ प्रतिशत नगरपालिकाको तर्फबाट अनुदान दिने कार्यलाई यो वर्ष पनि निरन्तरता दिएको छ । नगरसभाको सोही बैठकमा उपप्रमुख जोशीले ‘भक्तपुर नगरपालिकाको आर्थिक विधेयक २०७८’, ‘भक्तपुर नगरपालिकाको विनियोजन विधेयक, २०७८’ सभासमक्ष प्रस्तुत गरेकोमा छलफलको लागि स्वीकृत गरिएको छ ।
सूर्यविनायकमा एक अर्ब ५७ करोड बराबरको बजेट विनियोजन, प्रत्येक वडालाई दुई करोड ५७ लाख
काठमाडौं । सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि कूल एक अर्ब ५७ करोड ६३ लाखको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको नवौँ नगरसभामा उपप्रमुख जुना बस्नेतले आर्थिक वर्ष २०७८/७९ को चालु तथा पूजीँगततर्फको बजेट सार्वजनिक गरेकि हुन। अघिल्लो आवको तुलनामा यो बजेट नौ करोडले बढी हो । नगरपालिकाले चालु आव २०७७/७८ मा एक अर्ब ४८ करोडको बजेट ल्याएको थियो । नगरपालिकाले आगामी आवका लागि कूल बजेटमध्ये चालुतर्फ शाखागत कार्यक्रम १८ करोड ८६ लाख ७६ हजार, सामाजिक सुरक्षा १४ करोड, वडागत चालु कार्यक्रम दुई करोड १५ लाख र नगरपालिका चालु १६ करोड २० लाख ८२ हजार गरी कूल ५१ करोड २२ लाख ५८ हजार बजेट विनियोजन गरेको छ । त्यस्तै पूँजीगत कार्यक्रमतर्फ ७३ करोड ९८ लाख ४७ हजार र ससर्त कार्यक्रमतर्फ ३२ करोड ४१ लाख ९५ हजार विनियोजन गरिएको उपप्रमुख बस्नेतले जानकारी दिईन । आगामी आवको खर्च ब्यहोर्ने स्रोतमध्ये नगरपालिकाले आन्तरिक राजश्व परिचालनबाट १८ करोड १८ लाख ९५ हजार, घरजग्गा रजिष्ट्रेशनबाट २४ करोड, चालु आवको राजश्व बचतबाट २२ करोड ५६ लाख ८२ हजार, सङ्घ र प्रदेशबाट प्राप्त वित्तीय समानीकरण अनुदान २३ करोड ४० लाख ८० हजार प्राप्त हुने अनुमान गरेको छ । सङ्घ तथा प्रदेशको राजश्व बाँडफाँट १३ करोड चार लाख ४८ हजार, ससर्त अनुदानबाट ३२ करोड ४१ लाख ९५ हजार, जिसस समपूरक कोषबाट दुई करोड, सामाजिक सुरक्षा कार्यक्रमबाट १४ करोड प्रदेश समपूरक योजनाबाट तीन करोड र सडक बोर्ड तथा ससर्तका विविध कार्यक्रमबाट तीन÷तीन करोड प्राप्त हुने अनुमान नगरपालिकाले गरेको छ । नगरस्तरीय ठूला पूर्वाधार निर्माण आयोजनाका लागि ११ करोड ५० लाख, नगरपालिकाको प्रशासकीय भवन र मातहतका वडा कार्यालय भवन निर्माणका लागि छ करोड विनियोजन गरिएको छ । वडागत योजना कार्यान्वयन गर्न प्रत्येक वडाका लागि दुई करोड ५७ लाखका दरले कूल २५ करोड ५७ लाख, क्रमागत योजना सम्पन्न गर्न नौ करोड ८० लाख तथा अस्पताल पूर्वाधार निर्माण गर्न एक करोड बजेट विनियोजन गरेको छ । त्यसैगरी सङ्घ तथा प्रदेश र अन्य विकास साझेदारसँग साझेदारी गर्न समपूरक कोषमा आठ करोड विनियोजन गरिएको छ । पूर्वाधार विकासको आयोजनाहरुमा नगद लागत साझेदारीअन्तर्गत ६०–४० को आयोजनारुका लागि छ करोड बजेट विनियोजन गरेको र नगरवासीले स्वास्थ्य बीमा गर्दा प्रतिपरिवार एक हजार अनुदान दिने व्यवस्था गरेको उपप्रमुख बस्नेतले जानकारी दिईन । नगरप्रमुख वासुदेव थापाले निर्वाचनको घोषणा पत्रमा उल्लेख भएका सबै प्रतिबद्धतालाई पूरा गरेको र जनअपेक्षा धेरै बढेकाले जनताको माग तथा आवश्यकताको पहिचान गर्दै यस वर्षको बजेट बनाएको जानकारी दिए । नगरपालिकाले प्रत्येक वडामा कम्युनिटी हल, इ–लाइब्रेरी, खेलमैदान, फुटसल, पौडी पोखरी, जिमहल निर्माण गरिने उनको भनाइ छ । नगरपालिको अहिलेसम्म ६७ किमी पक्की र ११ किमी कच्ची सडक निर्माण, १२ पुल निर्माण, १० खानेपानी आयोजना निर्माण, एक हजार ५०० सडक बत्ती जडान, ११ सिँचाइ कुलो निर्माण, पाँच पर्यटकीयस्थल र त्यहाँसम्म पुग्ने पहुँचमार्ग निर्माण, १७ हजार ५१७ घरनक्सा पास, ५३ कानून निर्माण गरिएको जनाएको छ । यस्तै, न्यायिक समितिबाट १३३ विवाद निरुपण, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २०० जनालाई १०० दिन बराबरको रोजगारी, सात हजार ९०१ जनालाई राहत वितरण, १० सामुदायिक भवन र ३४ विद्यालय निर्माण, २५ मठमन्दिर निर्माण तथा जीर्णोद्धार, नौवटा स्वास्थ्य केन्द्रको स्तरोन्नति, १६ हजार ८३७ निगरवासीको निःशुल्क पिसिआर परीक्षण, सरकारले तोकेबमोजिमको उमेर समूहका छ हजार १०० जनालाई कोभिसिल्ड तथा २१ हजारलाई भेरोसिल खोप लगाउने कार्य सम्पन्न भएको जनाईएको छ । रासस
म्याग्दीका ६ स्थानीय तहमा तीन अर्बको बजेट, पूर्वाधार, शिक्षा र स्वास्थ्य केन्द्रित
काठमाडौं । म्यादीका ६ स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि तीन अर्बभन्दा बढीको बजेट ल्याएका छन् । २०७४ सालमा निर्वाचित भएका यहाँका पालिकाका पदाधिकारीले ल्याएको तीन अर्ब दुई करोड ५७ लाख ४९ हजार ८२० को पहिलो कार्यकालको अन्तिम बजेट सार्वजनिक गरेका हुन् । विगतकै परम्परागत शैलीमा ल्याइएको बजेट पूर्वाधार, कोरोना महामारी नियन्त्रण, विपद् व्यवस्थापन, स्वास्थ्य, शिक्षा, पर्यटन पूर्वाधार, कृषि, पशुपालन र खेल पूर्वाधारमा केन्द्रित छ । न्यून मात्रामा आन्तरिक स्रोत जुटाएका पालिकाको बजेट सङ्घीय तथा प्रदेश सरकारले पठाएको अनुदान र चालु आवमा खर्च हुन नसक्ने अनुमान गरिएको बजेटमा निर्भर छ । सामाजिक सुरक्षा भत्ता, कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीको तलब भत्ता र जनप्रतिनिधीको सुविधा ठूलो आकारको देखिएको स्थानीय तहको विकास बजेट कूल बजेटको करीब तिहाइ छ । चार करोड आन्तरिक आम्दानी गर्ने लक्ष्यसहित ६६ करोड पाँच लाख ६७ हजारको बजेट ल्याइएको बेनी नगरपालिकाले पूँजीगततर्फ रु २३ करोड २६ लाख ८५ हजार विनियोजन गरेको छ । पूर्वाधार विकासमा तीन करोड ५० लाख, सामाजिक विकासमा एक करोड ७५ लाख, आर्थिक विकासमा एक करोड ४० लाख, वातावरण तथा विपद् व्यवस्थापनमा ७५ लाख, कोरोना नियन्त्रणमा ५० लाख, वर्षामा अवरुद्ध सडक मर्मतमा ७० लाख र समपूरक कोषमा तीन करोड ८५ लाख विनियोजन गरेको नगरप्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । नवौँ नगरसभामा उपप्रमुख सञ्जु बरुवालले प्रस्तुत गरेको बजेटमा छलफलका लागि सभाका सदस्यले समय मागेपछि आइतबारसम्म स्थगित गरिएको छ । असार ७ गते नै पारित भएको रघुगङ्गाको कूल ५३ करोड १९ लाख नौ हजार बजेटमध्ये पूँजीगत शीर्षकमा १४ करोड ७५ लाख विनियोजन गरिएको छ । एक करोड तीन लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको रघुगङ्गाले मौवाफाँटमा गाउँपालिकाको भवन बनाउन एक करोड ५० लाख, सडक पूर्वाधारमा नौ करोड ६७ लाख, शिक्षामा १४ करोड ७५ लाख, स्वास्थ्यमा सात करोड, कृषि, पर्यटन, सहकारीलाई दुई करोड विनियोजन गरेको अध्यक्ष भबबहादुर भण्डारीले बताए । सामाजिक सुरक्षा भत्ताबाहेक ४२ करोड ३० लाखको बजेट पारित गरेको अन्नपूर्ण गाउँपालिकाले पूँजीगत शीर्षकमा आठ करोड ९९ लाख ८० हजार र समपूरक कोषमा दुई करोड १३ लाख विनियोजन गरेको छ । सडक पूर्वाधार, भवन, खानेपानी, विपद् व्यवस्थापन, महामारी नियन्त्रण, शिक्षा, स्वास्थ्य र पशुपालनलाई प्राथमिकता दिएको अध्यक्ष डमबहादुर पुनले बताउनुभयो । गुर्जा–१ र मल्कवाङ–५ का जनप्रतिनिधिको फरक मत राखेपछि बहुमतका आधारमा धवलागिरि गाउँपालिकाले यही असार ९ गते मुनामा भएको एघारौँ गाउँसभाबाट ४८ करोड ४० लाख ९९ हजार ८२० को बजेट पारित गरेको छ । पूँजीगततर्फ १३ करोड ८७ लाख विनियोजन गरेको धवलागिरिले सबैभन्दा बढी विपद् व्यवस्थापनमा एक करोड २२ लाख र गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि एक करोड विनियोजन गरेको अध्यक्ष थमसरा पुनले बताईन । नवौँ गाउँसभाबाट ५० करोड ४३ लाख ४९ हजारको बजेट पारित गरेको मालिका गाउँपालिकाले चालुतर्फ सात करोड ८१ लाख, पूँजीगततर्फ १३ करोड चार लाख र ससर्त अनुदानतर्फ १९ करोड २७ लाख विनियोजन गरेको अध्यक्ष श्रीप्रसाद रोकाले बताए । दरबाङ बजार संरक्षणमा एक करोडसहित विपद् व्यवस्थापन शीर्षकमा सबैभन्दा बढी तीन करोड १२ लाख ३३ हजार, सडकमा एक करोड ८५ लाख, साझेदारीमा सञ्चालन हुने कार्यक्रमलाई दुई करोड ५० लाख, भवनमा २३ लाख ९० हजार, शिक्षामा एक करोड नौ लाख ९० हजार, स्वास्थ्यमा ५० लाख, खानेपानीमा ४७ लाख ९९ हजार, खेलमैदानलाई २२ लाख ५० हजार, कृषिलाई ४८ लाख ३२ हजार, पर्यटनलाई ३५ लाख र लघुउद्यमलाई ३८ लाख विनियोजन गरिएको छ । सामाजिक सुरक्षा भत्ताबाहेक कूल ४२ करोड १८ लाख २५ हजार बराबरको बजेट पारित गरेको मङ्गला गाउँपालिकाले चालुतर्फ २१ करोड ५१ लख ९९ हजार र पूँजीगततर्फ २० करोड ६६ लाख २६ हजार विनियोजन गरेको अध्यक्ष सतप्रसाद रोकाले जानकारी दिए । उनका अनुसार सडक पूर्वाधारमा १० करोड १८ लाख, सामाजिक विकासमा तीन करोड ३० लाख, सिँचाइ तथा खानेपानीमा ७१ लाख, साझेदारीमा सञ्चालन हुने योजनाका लागि समपूरक कोषमा दुई करोड नौ लाख, शहरी विकासमा दुई करोड एक लाख, कृषि र पशुपालनमा ९९ लाख ५० हजार, कोरोना कोषमा ४८ लाख, वातावरणमा २८ लाख, स्वास्थ्यमा ३७ लाख ५० हजार, पोषण सुधारका लागि १३ लाख, खेल पूर्वाधारमा ३४ लाख ५० हजार, विपद् व्यवस्थापनमा चार लाख ५० हजार, युवा तथा खेलकूदमा ३६ लाख विनियोजन गरिएको छ । रासस