कागेश्वरी मनोहरामा खोप अभियान सुरु, ५५ वर्षमाथिकालाई लगाइँदै

काठमाडौं । वागमती प्रदेशको कागेश्वरी मनोहरा नगरपालिकाले आज ५५ वर्ष उमेरका व्यक्तिलाई कोभिड –१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा खोप लगाएको छ । नगरपालिकाले विभिन्न तीन वटा स्वास्थ्य केन्द्रबाट खोप लगाउन सुरु गरेको हो । नगरपालिकाले आज एक सूचना जारी गर्दै असार २९ देखि साउन २ गतेसम्म पहिलो चरणको भेरोसिल खोप दिन जानकारी दिएको छ । उक्त खोप अभियानमा ५५ वर्षभन्दा माथि उमेर पुगेका नागरिकले नगरपालिकाको आलापोट स्वास्थ्यचौकी, मुलपानी नगर अस्पताल र गोठाटार स्वास्थ्यचौकी केन्द्रमा पुगी खोप लगाउन सकिने बताइएको छ । खोप लगाउन जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज (नागरिकता) लिएर जानु पर्नेछ । यस्तै नगरपालिकाले खोप कार्यक्रममा भीड कम गराउन एउटा उमेर समूहका व्यक्तिलाई एक दिन खोप दिने कार्यक्रम तय गरेको छ । नगरपालिकाले सार्वजनिक सूचना प्रकाशन गर्दै पहलो दिन २ बजे देखि ४ बजेसम्म र अन्य दिन १० बजे देखि ४ बजेसम्म खोप लगाईने भएको छ । यस्तै, भेरोसेल विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई पनि लगाइने छ । नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरु, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई पनि भेरोसेल लगाइने छ ।

सिद्धलेक गाउँपालिकाको बजेट ५९ करोड २८ लाख

काठमाडौं । धादिङ जिल्लाको सिद्धलेक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ५९ करोड २८ लाख ६० हजार १ सय ५६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष कमला शर्माले सोमवार गाउँपालिकामा आयोजित बजेट गाउँसभाको नवौं अधिवेशनमा वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । उक्त बजेट वहुमत सदस्यले ताली बजाएसँगै पास भएको हो । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को वजेटमा स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई उच्च प्राथमिकतामा राखेको छ । यसबाहेक सामाजिक विकास, पर्यटन प्रवद्र्धन, सांस्कृतिक सम्पदा संरक्षण, कृषिको आधुनिकीकरण, खेलकूदलाई पनि बजेटले प्राथमितामा राखेको छ ।

उपप्रमुखको नेतृत्वमा जनप्रतिनिधिले नै लगाए नगरपालिकाको कार्यालयमा ताला

फाइल फाेटाे काठमाडौं । कौलाली जिल्लाको भजनी नगरपालिकामा योजनाको तर्जुमा नगरी बजेट पारित गरेको भन्दै नगरपालिकामा जनप्रतिनिधिले नै ताला लगाइदिएका छन् । नगरपालीकाकी उपप्रमुख छाया देवकोटासहित केही वडाध्यक्षको अगुवाइमा नगरपालिकामा ताला लगाइएको हो । योजना बिना जर्वजस्ती बजेट पारित गर्ने काममा प्रमुखले अगुवाई गरेको भन्दै आफूहरुले ताला लगाइदिएको उपप्रमुख देवकोटाले बताईन् । नगरपालिकाका नगरप्रमुख शेरबहादुर चौधरीले बहुमतको आधारमा योजना तर्जुमा नै नगरी बजेट पारित गरेर नगरसभा आयोजना गरेपछि उप–प्रमुख देवकोटा र ३ वटा वडाका वडाध्यक्ष र ९ जना वडासदस्यहरु विरोधमा उत्रिएका हुन । । उपप्रमुख देवकोटाको अगुवाइमा वडा नम्बर १, ५ र ३ का अध्यक्ष मिलेर सोमबार बिहान तालाबन्दी गरेका हुन् । उनीहरूले आइतबारको कार्यपालिका बैठक पनि बहिस्कार गरेका छन् ।