मनाङका स्थानीय तहलाई ३७ करोड ३६ लाख बजेट

काठमाडौं । हिमाली जिल्ला मनाङका चार स्थानीय तहलाई सङ्घीय सरकारबाट ३७ करोड ३६ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । जिल्लाका चार पालिकालाई सङ्घ सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेट बाँडफाँट गरेको हो । सबैभन्दा बढी मनाङ प्रवेश पालिका नासों गाउँपालिकालाई रु१९ करोड ७१ लाख बजेट विनियोजन गरिएको छ । चामे गाउँपालिकालाई १६ करोड ९७ लाख, मनाङ ङिस्याङ गाउँपालिकालाई रु१६ करोड ४४ लाख र नार्पाभूमि गाउँपालिकालाईरु१४ करोड २४ लाख बजेट विनियोजन भएको मनाङ ङिस्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीनारायण यादवले जानकारी दिए । सङ्घीय सरकारले सशर्त, विशेष अनुदान, समपूरक अनुदान, राजस्व बाँडफाँटलगायत शीर्षकमा स्थानीय तहलाई अनुदान दिने गरेको छ । सङ्घ सरकारले रणनीतिक (मनाङको मेरुदण्ड) डुम्रे–बेँसीसहर–चामे मनाङ सडक निर्माणका लागि बजेट विनियोजन गरेको छ । बहुवर्षीय योजनाका रूपमा सङ्घ सरकारले रु६१ करोड २८ लाख बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले दिने अनुदान, सङ्घीय अनुदान र स्थानीय स्रोतसमेत समावेश गरेर स्थानीय तहले बजेट निर्धारण गरेको छ । सङ्घीय सरकारको बजेट आएसँगै मनाङका स्थानीय तहले धमाधम नीति तथा कार्यक्रम र बजेट निर्धारणका लागि योजना तर्जुमा भेला गरी सुझाव सङ्कलन गरिरहेका छन् ।

बागलुङका स्थानीय तहलाई चार ३४ करोड ८१ लाख अनुदान

बागलुङ । बागलुङ जिल्लाका १० स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब ३४ करोड ८१ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । जिल्लाका चार नगरपालिका र ६ गाउँपालिकालाई सङ्घीय सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेट बाँडफाँट गरेको हो । सबैभन्दा बढी बागलुङ नगरपालिकालाई ८५ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । गलकोट नगरपालिकालाई ५१ करोड एक लाख रुपैयाँ, जैमिनी नगरपालिकालाई ५२ करोड २४ लाख रुपैयाँ र ढोरपाटन नगरपालिकालाई ३७ करोड एक लाख रुपैयाँ बजेट विनियोजन भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए । यस्तै बडिगाड गाउँपालिकालाई ४८ करोड चार लाख, काठेखोलालाई ३९ करोड ७६ लाख, निसीखोलालाई ३३ करोड १२ लाख, बरेङलाई ३० करोड पाँच लाख, ताराखोलालाई २६ करोड ४३ लाख र तमानखोला गाउँपालिकालाई २१ करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । सङ्घीय सरकारले सशर्त, विशेष अनुदान, सपपूरक अनुदान, राजश्व बाँडफाँटलगायत शीर्षकमा स्थानीय तहलाई अनुदान दिने गरेको छ । प्रदेश सरकारले दिने अनुदान, सङ्घीय अनुदान र स्थानीय स्रोतसमेत समावेश गरेर स्थानीय तहले बजेट बनाउने गरेका छन् । सङ्घीय सरकारको बजेट आएसँगै बागलुङका स्थानीय तहले धमाधम नीति तथा कार्यक्रम र बजेट बनाउने काम थालेका छन् । समयमै नीति तथा कार्यक्रम र बजेट ल्याउनका लागि काम भइरहेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए । रासस

गोरखाका स्थानीय तहलाई चार अर्ब ५५ करोड विनियोजन

गोरखा । गोरखा जिल्लाका ११ स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब ५५ करोड ६ लाख बजेट विनियोजन भएको छ । जिल्लाका दुई नगरपालिका र नौ गाउँपालिकालाई केन्द्र सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेट बाँडफाँट गरेको हो । जसमा गोरखा नगरपालिकालाई ६३ करोड ६ लाख बजेट विनियोजन गरिएको जनाइएको छ । त्यस्तै पालुङटार नगरपालिकालाई कूल ५७ करोड ६७ लाख बजेट उल्लेख भएको नगरप्रमुख विवश चिन्तनले जानकारी दिए । केन्द्र सरकारले दुई नगरपालिकालाई मात्र एक अर्ब २० करोड ६९ लाख बजेट विनियोजन गरेको छ । जिल्लाका नौ पालिकामध्ये सिरानचोक गाउँपालिकाले ४५ करोड ८७ लाख समपूरक बजेट प्राप्त गरेको छ । त्यसबाहेक अजिरकोट गाउँपालिकालाई आगामी वर्षका लागि ३० करोड २४ लाख, आरुघाट गाउँपालिकाले ४० करोड ४८ लाख बजेट प्राप्त गरको छ । जिल्लाको गण्डकी गाउँपालिकाले ४५ करोड केन्द्रबाट समपूरक बजेट प्राप्त गरेको छ । जिल्लाको सबैभन्दा विकट गाउँपालिकाका रुपमा रहेको चुमनव्री गाउँपालिकालाई सबैभन्दा कम १९ करोड ८२ लाख विनियोजन भएको छ । त्यस्तै धार्चे गाउँपालिकाले रु २७ करोड ७४ लाख, भीमसेन थापा गाउँपालिकाले ३९ करोड १५ लाख प्राप्त गरेको छ भने बारपाक गाउँपालिकालाई ४० करोड ३० लाख छुट्याइएको छ । जिल्ला नौ गाउँपालिकालाई मात्र केन्द्र सरकारले आगामी आर्थिक वर्षका लागि समपूरक बजेटअन्तर्गत कूल तीन अर्ब ३४ करोड ३३ लाख विनियोजन गरेको छ ।