स्थानीय तह निर्वाचनका उम्मेदवारलाई खर्च विवरण बुझाउन ताकेता
पर्वत । स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार बनेकाहरुलाई खर्च विवरण बुझाउन ताकेता गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले सूचना जारी गर्दै निर्वाचन भएको मितिले ३० दिनभित्र सबै उम्मेदवारहरुले खर्च विवरण बुझाउन आग्रह गरेको हो । गत वैशाख ३० गते निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन कार्यालयले अनिवार्य रुपमा खर्चविवरण उपलब्ध गराउन माग गरेको हो । निर्वाचन आयोगले निर्वाचन हुनुभन्दा अघि नै महानगर, उपमहानगर, नगर र गाउँपालिका प्रमुख तथा वडाध्यक्ष र सदस्यहरुका लागि खर्चको सीमा तोकेको थियो । सोेही मापदण्डभित्र निर्वाचनको खर्च गर्नुपर्ने भए पनि अधिकांश उम्मेदवारहरुले अत्यधिक मात्रामा खर्च गरेका समाचारहरु आइरहँदा कार्यालयले आयोगले तोके अनुसारको मापदण्ड र खर्च विवरणअनुसार बुझाउन आग्रह गरेको हो । यही जेठ ३० गतेभित्र सबै विजयी भएका वा विजयी हुन नसकेका सबै उम्मेदवारहरुलाई विवरण उपलब्ध गराउन सूचना जारी गरिएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए । उनका अनुसार सवारी साधन, इन्धन, प्रचारप्रसार, ढुवानी, कार्यकर्ता परिचालन, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन लगायतमा गरिएको खर्चको विवरण पेस गर्नुपर्ने उनले बताए । नगरपालिका प्रमुख र उपप्रमुखले चार लाख ५० हजारसम्म र वडाध्यक्षले दुई लाखसम्म र गाउँपालिका अध्यक्ष र उपाध्यक्षले तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने प्रावधान रहेको थियो । रासस
ल्याण्डफिल साइटमा फोहोरको गन्धभन्दा मिथेनको गन्ध बढी
काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले ओखरपौवास्थित ल्याण्डफिल साइटमा वातावरण प्रदुषणको समस्या देखाएको छ । नास्टको गरेको दोस्रो अध्ययन यस्तो देखाएका हो । यसअघि २०७८ असार १ गतेको सम्झौताबमोजिम अध्ययन गरेर माघ १४ गते अध्ययन प्रतिवेदन बुझाएको थियो । अहिलो सो ठाउँको गन्ध मापन गरिएको हो । नास्टका वरिष्ठ बैज्ञानिक डा. भोजराज पन्त आनुसार साइटको पूर्वतर्फ खोल्सोमा फोहोरको गन्ध अलि बढी छ । अन्य ठाउँमा फोहोरकोभन्दा मिथेन ग्याँसको गन्ध धेरै भेटियोको हो । साइटभित्रबाट मिथेन ग्याँसबाहिर ल्याउन भेन्ट नभएकोले भित्र धेरै ग्याँस भरिएको पनि पन्तले बताए । ‘यसलाई ड्रिल गरेर बाहिर ल्याउनुपर्छ, यसको व्यवस्थापनका लागि छिमेकी गाउँमा खाना पकाउने प्रयोजनका लागि वितरण गर्न सकिन्छ, साइटमा कति परिमाणमा ग्याँस छ, कति निकाल्न सकिन्छ र कसरी वितरण गर्न सकिन्छ, यसका लागि थप अध्ययन आवश्यक पर्छ,’ उनले भने । साइट व्यवस्थापनका लागि गन्धसँगै पानी, माटोजस्ता क्षेत्रको अध्ययन महानगरका प्रमुख बालेन्द्र शाहले बताएका छन् । डा. रविन्द्र ढकाल, डा. टिस्टा प्रसाइँ जोशी, डा. सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठ सहभागी भएको टोलीले प्रारम्भिक अध्ययन गरेको हो । पानी प्रदुषण र लिचेड सम्बन्धी अन्तिम रिपोर्ट आएपछि अल्पकालीन मध्यकालीन र दीर्घकालीन समाधानका उपाय खोजिने प्रमुख शाहको भनाइ छ ।
प्रदेश नं १ को नीति तथा कार्यक्रम आज
विराटनगर । प्रदेश नं १ सरकारले आज अपराह्न २ बजे आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । प्रदेशसभा सचिवालयका अनुसार प्रदेश सरकारको यो १०औँ तथा बजेट अधिवेशन हो । प्रदेशसभा गठन भएपछि प्रदेश सरकारको कार्यकालको यो अन्तिम बजेट अधिवेशन हो । नीति तथा कार्यक्रमको सैद्धान्तिक छलफलपछि आगामी असार १ गते आव २०७९/८० लागि सरकारले अनुमानित आयव्यय बजेट सार्वजनिक गर्ने र यसका लागि बजेट निर्माण भइरहेको प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । सरकारले यस वर्ष करिब रु ३२ अर्ब हराहारीको बजेट ल्याउन लागेको मन्त्रालयका सचिव सुमन दाहालले जानकारी दिए । अनुत्पादक क्षेत्रमा लगानी नगर्ने र जनताको आवश्यकता एवं चाहनामा केन्द्रित भएर बजेट निर्माण गरिरहेको तथा यसका लागि निजी क्षेत्र, जनप्रतिनिधि, विभिन्न सङ्घसंस्थासँग छलफल एवं राय र सुझाव सङ्कलन भइरहेको उनले बताए । रासस