यस्तो हुनेछ काठमाडौं महानगरमा सार्वजनिक शौचालयको लोगो

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय पहिचानका लागि नीलो पृष्ठभूमिको संकेत चिन्ह तयार पारेको छ । सर्वसाधारण प्रयोगकर्तालाई सार्वजनिक शौचालय चिन्न सजिलो होस् र सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर संकेत चिन्ह तयार पारिएको हो । गोलो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ । बीचभागमा सेतो रङ्मै महिला र पुरुषको चिन्ह रहेको छ । संकेत चिन्हको पुछारमा अंग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ । महानगर क्षेत्रभित्रका होटल, रेष्टुरेन्ट, बैङ्क, व्यापारिक भवन, कम्पनी, फर्म, गैर सरकारी संघ संस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकहरुलाई महानगरको सार्वजनिक निजी साझेदारी एकाईमा सम्पर्क राख्न सार्वजनिक आव्हान गरिएको छ ।

शौचालय सार्वजनिक प्रयोग गर्न दिने इच्छुकलाई सात दिनभित्र काठमाडौं महानगरमा सम्पर्क गर्न आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले होटल, रेष्टुरेन्ट, बैंक लगायतले शौचालय सार्वजनिक रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने भए सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । महानगरका अनुसार हाटल रेस्टुरेन्ट, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी, गैर सरकारी सघं संस्थाले सात दिनभित्र प्रस्ताव पेश गर्न सक्ने छन् । गत वैशाख ३० गतेको निर्वाचनबाट चुनिएका महानगरका जनप्रतिनिधिको सोमबार बसेको पहिलो नगर कार्यपालिकाको बैठकले ति स्थानका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने व्यवस्था मिलाउने निर्णय गरेको थिए ।  

मुस्ताङका स्थानीय तहले करिब ९४ करोड अनुदान पाए

म्याग्दी । मुस्ताङ जिल्लाका स्थानीय तहहरूले सङ्घीय सरकारबाट आगामी आर्थिक वर्ष २०७९/८० का लागि ९४ करोड अनुदान पाएका छन् । सरकारले गत हप्ता सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यअनुसार मुस्ताङका पाँच गाउँपालिकाले ९३ करोड ७७ लाख अनुदान पाएका हुन् । चालु शीर्षकमा रु ७९ करोड तीन लाख र पूँजीगततर्फ १४ करोड ७४ लाख बजेट विनियोजन भएको हो । घरपझोङ गाउँपालिकाले २१ करोड ५३ लाख, थासाङ गाउँपालिकाले २१ करोड ६९ लाख र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले १७ करोड १४ लाख बजेट पाएका छन् । यसैगरी लोघेकर–दामोदरकुण्ड गाउँपालिकाले १६ करोड ९३ लाख र लोमान्थाङ गाउँपालिकाले १६ करोड ४८ लाख अनुदान पाएका हुन् । सबैभन्दा बढी थासाङ र कम लोमान्थाङ गाउँपालिकाले अनुदान पाएका हुन् । स्थानीय तहहरूले सङ्घीय र प्रदेश सरकारले उपलब्ध गराउने अनुदान, आन्तरिक आम्दानी र चालु आर्थिक वर्षमा खर्च हुन नसकेको रकमलाई समेटेर आगामी आवको बजेट बनाउने गर्छन् । मुस्ताङका स्थानीय तहले आगामी आवका लागि टोल र वडास्थलमा योजना छनोट प्रक्रिया थालेका छन् । रासस