घोषणापत्र लागू गर्न सके मात्र विजय उत्सव मनाउँलाः बालेन
काठमाडाैं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले जित निश्चित भएपछि विजय र्याली नगर्न आग्रह गरेका छन्। अन्तिम मत परिणामपछि काठमाडौँको ठाउँ-ठाउँबाट विजय र्याली निकाल्न काठमाडौँ बाहिरबाट समेत काठमाडौँ आउने तयारी भएको सूचना आएको भन्दै उनले काठमाडौँ नआउन आग्रह गर्दै जो जहाँ छ त्यहीबाट काठमाडौँको मतदातालाई धन्यवाद दिन धन्यवाद र्याली गर्न आग्रह गरेका छन् । यस्ताे छ उनकाे भनाइ स्थानीय तह निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद छ । अहिले यति भन्न सकिन्छ कि, हामी काठमाडौं महानगरको जिम्मेवारी बोक्न योग्य छौं भनेर महानगरका मतदाताहरुले हामीलाई विश्वास गर्नु भएको छ । यहाँ विश्वासको कुरा छ । विश्वासमा जित वा हार हुँदैन । जित–हारलाई मतगणना सकिएसँगै सकिदिउँ । घोषणापत्रमा भएका कुराहरु लागु गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला । तर अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगरौं । यसै पनि चुनावमा जित्नेले धेरै मत ल्याउने हो, बहुमत होइन । मेरो स्वयंको पनि बढीमा ३५ प्रतिशत मत आउला । यसको अर्थ हो, बदर मतहरु बाहेक बाँकी ५० प्रतिशत जति मतदाताहरुले अरुलाई छनौट गर्नुभएको छ । हामीलाई मत हाल्ने ३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुराउनुपर्ने काम वा संकेत भएको छ कि भन्नेमा ध्यान दिनुपर्छ । र, महानगरको उन्नतिका लागि सबैसँग सहकार्य गर्नु नै पर्छ । दोस्रो, ठाउँठाउँबाट र्यालीका लागि काठमाडौं आउने कुराहरु एकदमै धेरै सुनिरहेका छौं । हाम्रो अनुरोध के हुन्छ भने तपाईंहरु कोही पनि र्यालीका लागि काठमाडौं आउने दुख गर्नु पर्दैन । यो अभियान सबैको हो । यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए हामी खुसी हुनेछौं। अभियानको अहिलेसम्मको सफलताका लागि खुशियाली प्रकट गर्ने नै हो भने पनि तपाईं रहेकै क्षेत्रमा ’धन्यवाद र्याली’ गर्नु होला । त्यसले सो स्थानमा बढी प्रभाव छोड्छ । नेपालमा बालेन मात्रैको यो अभियान होइन, यो नेपालभरको अभियान हो भन्ने सन्देश जान्छ । ’बालेन’हरुका लागि देशभरका नागरिक साथसाथै रहन्छन् भन्ने देखिन्छ । यहाँ पनि यस्तो किसिमको चेतना र अभिमत रहेछ भनेर प्रोत्साहन हुनेछ । अबको बाटो सहज छैन । हाम्रो अभियानको वास्तविक परीक्षा अब सुरु हुनेछ । हामीले हिड्ने सहि बाटो, चाल्ने उपयुक्त कदम र गर्ने अधिकतम सत्प्रयासहरुले हाम्रो अभियान र महानगरको उन्नतिलाई प्रभाव पार्नेछ । हामीलाई साथ र सुझाव जति महत्वपूर्ण छ, उति नै खाँचो पर्नेछ खबरदारीको । हामीले बाटो बिराउन लाग्यौं भने खबरदारी गर्नुहोला । अनि हाम्रो अभियानको उर्जाको लागि हामी सधैं तपाईंहरुसँग जोडिरहेका हुन्छौं । तपाईहरुको उपस्थिति र साथको आवश्यकता महसुस हुने बित्तिकै हामी आवाज दिनेछौं । अहिलेलाई यो अभियानलाई देशव्यापी बनाउने प्रयास गरौं। हरेक टोलटोल र गाउँगाउँमा ‘बालेन’हरु भेटिउन् जसले केवल जनमतका आधारमा परिवर्तनको जिम्मेवारी बोक्न सकुन्, अवसर पाउन सकुन् । अबको हाम्रो पहिलो यात्रा काठमाडौंको मुहार फेर्नलाई हुनेछ । मिलेर अगाडि बढौं। (बालेन्द्र शाहकाे सामाजिक संजालबाट)
नौ पालिकाको मत परिणाम घोषणा हुन बाँकी
काठमाडौं । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब विभिन्न नौ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ । निर्वाचन आयोगको सूचना प्रणालीमा आज १०ः३० बजेसम्ममा प्रविष्ट भएको विवरणानुसार ७५३ मध्ये ७४४ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । कतिपय पालिकाको मतगणना कार्य सम्पन्न भए पनि घोषणा भई आयोगको प्रणालीमा प्रविष्ट हुन बाँकी रहेको छ । अन्तिम परिणाम आउन बाँकी पालिकामा बागमती प्रदेशमा काठमाडौँ महानगरपालिका, प्रदेश नं १ मा उदयपुरको त्रियुगा र कटारी नगरपालिका, मधेस प्रदेशमा रौतहटको गढीमाई नगरपालिका, गरुडा नगरपालिका र फतुवा विजयपुर नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र कपिलवस्तुको महाराजगञ्ज नगरपालिका छ । सुदूरपश्चिममा बाजुराको बुढीगङ्गा नगरपालिकामा भएको मतदानबारे आयोगले गरेको छानविनका आधारमा निर्णय आउन बाँकी रहेको छ ।
रेणुको पहिलो निर्णय : निःशुल्क खानेपानी र छोरीको एक लाखसम्मको बीमा
काठमाडौं । भरतपुर महानगरपालिकाको पदभार ग्रहण गरेसँगै नगरप्रमुख रेणु दाहालले दुई महत्वपूर्ण निर्णय गरेकी छिन् । महानगरभित्रका बासिन्दालाई मासिक सात हजार लिटर खानेपानी निःशुल्क र एक लाख बराबरको छोरी बिमा कार्यक्रमको निर्णय गरिएको छ । पहिलोपटक प्रमुख हुँदा उनले भरतपुर अस्पतालमा उपचारका लागि आउने महिला र ज्येष्ठ नागरिकका लागि बहिरङ्ग सेवा टिकट निःशुल्कको निर्णय गरेकी थिइन् । दाहालले यो निर्णयले महानगरवासी लाभान्वित हुने बताइन् । महानगरभित्रका झण्डै ५२ प्रतिशत जनताले आजैदेखि निःशुल्क खानेपानी पाउने भएका छन् । यसका लागि वार्षिक दुई करोड ५० लाख हाराहारी खर्च हुने महानगरको अनुमान छ । महानगरभित्र खानेपानी व्यवस्थापन बोर्ड र उपभोक्ता समितिमार्फत खानेपानी वितरण गरिँदै आएको छ । बोर्डका ३५ ग्राहक हजार छन् । बोर्डका प्रमुख प्रजापति दाहालका अनुसार २५ भन्दा बढी उपभोक्ता समितिमार्फत महानगरमा खानेपानी वितरण गरिँदै आएको छ । महानगरका ९० प्रतिशत जनताले सरकारी निकायबाट वितरण गरिएको स्वच्छ खानेपानी उपभोग गर्दै आएका छन् । महानगरले आज गरेको दोस्रो निर्णयमा महानगरपालिकामा स्थायी बसोबास गर्नेहरूबाट जन्मिएका छोरीका लागि एक लाखको जीवन बिमा गरिने भएको छ । महानगरका लेखा प्रमुख जगन्नाथ अर्यालका अनुसार पहिलो वर्ष एक हजार ७५० जनाको बिमा हुने अनुमान छ । सरकारी स्वास्थ्य संस्थामा जन्मिएका छोरीहरूले यो अवसर प्राप्त गर्नेछन् । राष्ट्रिय बिमा संस्थानमार्फत बिमा गर्न लागिएको हो । एक जनालाई वार्षिक तीन हजार ३०० महानगरपालिकाले १५ वर्षका लागि बुझाउने छ । पन्ध्र वर्षपछि ती छोरीले एक लाख पाउने गरी बिमा गर्न लागिएको हो । अर्यालका अनुसार आउँदो १५ वर्षमा २६ हजार २५० जनाले सुविधा लिने अनुमान गरिएको छ । पदभार ग्रहणसँगै दाहालले महानगरवासीले आफ्नो अघिल्लो कार्यकालका कामलाई अनुमोदन गरेको भन्दै पहिलो प्राथामिकतामा अधुरा काम रहेको बताइन् । उनले भनिन्, ‘भरतपुर महानगरपालिकालाई देशका अन्य पालिकाले सिको गर्ने बनाउँछाैँ ।’ महानगरवासीलाई निरास हुन नदिने भन्दै उनले सबैको राय–सुझाव लिएर काम गर्ने बताइन् । महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले महानगरवासीका आवश्यकता आफूहरूले बुझेको उल्लेख गर्दै सोहीअनुरुपका योजना अघि बढाइने बताए । उनले भने, ‘अबको पाँच वर्षमा भरतपुरलाई देशकै सुन्दर सहर बनाइने छ ।’